सशक्त ‘सघन तुवाँलो’



कथानक :

नेपाली समाजमा असहाय, अशक्त र नारीले भोग्नुपर्ने व्यथा–वेदनाको अन्त्यलाई विषयवस्तु बनाएर लेखिएको ‘सघन तुवाँलो’मा आमा र छोरी पूर्णिमाको अगुवाइमा समाजका सचेत युवकयुवतीले जागरण ल्याएको देखाइएको छ । परिवार र समाजबाट अपहेलित भएपछि आमाले आफ्नै बलबुताबाट छोरीलाई पढाउँछिन् । समाजका अपांग, अशक्त र असहाय नारीलाई संरक्षण गर्ने, हक–अधिकार दिलाउन चेतना जगाउने तथा अधिकारका लागि संघर्ष गर्न नेतृत्व गर्छिन् । आमाको चाहनाअनुसार पूर्णिमा सक्रिय बन्छिन् । विजय, गीता, नवीन, मालती, दिनेशजस्ता थुप्रै युवकयुवतीले सघाउँछन् । उनीहरूले समाजमा जागरण ल्याएपछि अपहेलित समुदाय शान्तिपूर्ण आन्दोलनमा उत्रन्छन् । यसक्रममा लेखिका गीताको शहादत हुन्छ । थुप्रै घाइते बन्छन् । तर पनि अभियान रोकिँदैन । उद्देश्य हासिल नगर्दासम्म चलिरहन्छ भन्ने निष्कर्षमा उपन्यास टुंग्याइएको छ ।

चरित्र र चरित्रचित्रण :

उपन्यासमा आमा र छोरी प्रमुख चरित्रका रूपमा छन् । त्यस्तै विजय, गीता, नवीन, सविन, मालती, दिनेश, सजु, ज्योति, प्रोफेसर चन्द्र, न्यायाधीश, पुलिसको हाकिम (अरू पुलिस) अनुपमा, विमल, अनु, बिजुवा, सीता, पार्वती, बाघवीरलगायत थुप्रै चरित्रले उपन्यासको गति बढाएका छन् । अधिकांश चरित्र अपांग, अशक्त, असहाय र नारीको प्रगतिका लागि संघर्षरत छन् । बाघवीरजस्ता पालित गुन्डा र शान्ति सुरक्षाका नाममा जनताका अधिकारमाथि हस्तक्षेप गर्ने डीएसपीजस्ता पात्र उपन्यासमा छन् ।

पर्यावरण :

असहाय, अपांगको संरक्षण केन्द्र र त्यसका सन्दर्भबाट नेपाली समाजका गाउँ तथा सहरका विभिन्न सन्दर्भ पर्यावरणका रूपमा आएका छन् । नारीमाथि हुने शोषण, व्यभिचार आदिको चित्रणका साथै यसविरुद्ध चलेको संघर्ष नै यस उपन्यासको पर्यावरण हो । नेपालमा राजनीतिक द्वन्द्व चलिरहेको सन्दर्भलाई संकेत गरिएको छ । यसका अतिरिक्त प्रेमप्रसंगको स्वाभाविक चित्रण र किराती समुदायका संस्कारगत केही सन्दर्भ पनि आएका छन् । किरातीको मृत्यु संस्कारका केही सन्दर्भ उपन्यासले उजागर गरेको छ ।

दृष्टिबिन्दु :

उपन्यासमा तृतीय पुरुष दृष्टिबिन्दु प्रयोग भएको छ ।

सारवस्तु :

उपन्यासले महिला, असहाय, अपांगको हक–अधिकारका पक्षमा वकालत गरेको छ । समाजमा नारीहरू शारीरिक तथा मानसिक रूपमा शोषित, पीडित छन् । उनीहरू आर्थिक तथा सामाजिक कारणले उत्पीडन खेप्न बाध्य छन् । अपांग, असहाय पनि शोषित, पीडित छन् । उनीहरूको शोषण उत्पीडन अन्त्यका लागि समाजको सचेत वर्ग सक्रिय रहनुपर्छ । शोषण, उत्पीडनविरुद्ध शान्तिपूर्ण आन्दोलन आवश्यक छ । त्यस्तो शान्तिपूर्ण आन्दोलनमाथि राज्यले हस्तक्षेप गर्न सक्छ, कतिपय आन्दोलनकारीको मृत्यु हुन सक्छ, घाइते हुन सक्छन् । तर पनि आन्दोलन रोक्नुहुँदैन भन्ने उपन्यासको निष्कर्ष छ । शोषण, उत्पीडनविरुद्ध जनचेतना जगाउन युवामात्र होइन, अघिल्लो पुस्तासमेत सक्रिय रहनुपर्छ भन्ने कुरा उपन्यासले सारवस्तु बनाएको छ ।

भाषा :

उपन्यास प्रयुक्त भाषा सरल र स्वाभाविक छ । छोटा र सरल वाक्य प्रयोग गरिएको छ । स्वाभाविक संवादयोजना छ । केही गीत र किराती समुदायको आदिग्रन्थ ‘मुन्दुम’का केही मन्त्रसमेत उल्लेख छ ।

प्रतीक र विम्ब :

उपन्यासको शीर्षक प्रतीकात्मक छ । समाजमा विकृति विसंगति थुप्रै छन् भन्ने अर्थमा ‘सघन तुवाँलो’ पदावलीलाई उपन्यासको शीर्षक बनाइएको छ । ‘कर्णेल’ नामक कुकुरलाई मालिक भक्तको प्रतीकका रूपमा देखाइएको छ । ‘रातो छाँगाको गाउँ’ जस्ता प्रतीकात्मक अर्थ दिने सन्दर्भ आएका छन् । विम्बको प्रयोग प्रशस्त छ । गीताको असामयिक निधनका कारण उनकी भाउजू सीतामा परेको भूतप्रेतको त्रासदी र त्यसै सिलसिलामा उनको मृत्यु भएको प्रसंग, बिजुवा नाचका सन्दर्भ, जनसंघर्षका चित्रण आदिले उपन्यासलाई विम्बमय बनाएको छ ।

गति र लय :

सघन तुँवालोमा प्रत्येक परिच्छेदलाई एक–एक शीर्षकले सम्बोधन गरिएको छ भने ७१ शीर्षक दिइएको छ ।

छोटाछोटा परिच्छेद र तिनको शीर्षकले उपन्यासको कुन परिच्छेद/शीर्षकमा के कुरा छ भन्ने कुराको पूर्वानुमान गर्न सकिन्छ । उपन्यासको बीचबीचमा गीतका अंश छन् । एक सन्दर्भमा किराती समुदायको संस्कारमा प्रयोग हुने ‘मुन्दुम’का केही अंश पनि आएका छन् । तिनले उपन्यासलाई लयात्मक बनाएको छ ।

निष्कर्ष :

‘सघन तुवाँलो’ले नेपाली समाजमा रहेका विकृति, विसंगति र खासगरेर नारी र असहाय, अपांगका समस्यालाई केन्द्रबिन्दु बनाएर यसको अन्त्यको चाहना राखेको छ । समस्याको प्रतिरोधका लागि जनजागरण आवश्यक छ । यसमा शान्तिपूर्ण संघर्ष गर्नुपर्छ भन्ने यस उपन्यासको मूल अभीष्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्