जनआस्था साप्ताहिकसँग नजोडिए पनि संवत् २०५७ मा मैले लेखेको ‘कोदोको झोल र फोटोको खोल’ शीर्षाकृत समाचार प्रकाशित भयो । समाचार लेखेको महिना दिन बित्दासमेत समाचारका पात्रहरूले पाठकपत्रसम्म लेखेनन् । पाठकपत्र नलेखेपछि मैले लेखेको समाचार सत्य रहेछ भन्ने प्रमाणित भयो ।
समाचार प्रकाशित भएपछि समाचारसँग सम्बन्धित पात्रहरूले दुःख माने । आफन्तले आफन्तकै समाचार लेख्ने भनेर टिप्पणी गरे । गलत काम गरेपछि समाचार लेख्दा रिसाउने पात्रहरूले ‘फेस टु फेस’ दुःख मनाउ नगरे पनि मलाई मार्फत सुनाइयो ।
त्यसपछि पत्रकारिता गर्ने मन म¥यो । गुनासै गुनासा सुनेपछि ‘भो अब पत्रकारिता गर्दिनँ’ भन्ने मनस्थिति बनाएँ । त्यसपछि लेख्दा पनि लेखिनँ । तर, समाचारका पात्रमध्ये एक नयनकुमार राई (दुर्छिम माध्यमिक विद्यालय तात्कालिक नेपाली शिक्षक) ले जिल्ला अदालत खोटाङमा मुद्दा हाले । मुद्दा हालेको थाहा पाइनँ । मुद्दा हालेपछि अदालतबाट मेरो घरमा म्याद तामेल गर्न आउनुपथ्र्यो । आएका पनि रहेछन् । मेरो घरमा म्याद तामेल गर्न आउनेलाई शिक्षक राईले सिधै उनको घर लगेर सानोतिनो भोज खुवाए । मेरो घरमा म्याद तामेल गरिएन । मेरो घर आउनेलाई उनको घर लगेपछि म्याद तामेल गर्ने कुरै भएन ।
त्यतिबेला अहिलेजस्तो टेलिफोन सुविधा थिएन । हलेसीमा मात्रै टेलिफोन सुविधा थियो । जरुरी काम पर्दा हलेसीमा प्रकाशचन्द्र गिरीलाई फोन गर्थें । गिरीले सार्वजनिक टेलिफोन बुथ सञ्चालन गर्नुभएको थियो । मलाई मुद्दा लगाएको जानकारी उहाँबाटै थाहा पाएँ । थाहा पाउनसाथ भोलिपल्ट काठमाडौंबाट घर (खोटाङ) हिँडें । काठमाडौंबाट हिँडेको तेस्रो दिनमात्रै घर पुगिन्थ्यो । घर पुग्नासाथ दिक्तेल हिँडें । मलाई मुद्दा हाल्ने शिक्षक नयनकुमार राई दिक्तेल पुग्ने बेला मुडेनजिकै भेटिए । गफ गर्दै दिक्तेल पुग्यौं । दिक्तेल पुगेको भोलिपल्ट अधिवक्ता गणेश गजमेरको सहयोग लिएँ । गजमेरको सहयोगमा मुद्दाको प्रतिउत्तर छिराइयो ।
सुनियोजित ढंगले एकलौटी मुद्दा जित्न लागिपरेका नयनकुमार राई असफल भए । त्यसो भएपछि उनले जन्मजय राई (जिल्ला पञ्चायत पूर्वउपसभापति) सँग गुहार मागे । जन्मजय राईसँग मेरो पनि भेटघाट भयो । उहाँले भन्नुभयो, ‘तिमीहरू दुवै मेरा नजिकका आफन्त हौ । तिमीहरू मुद्दा लडेको मैले हेर्न मिल्दैन । मिल्नुपर्छ ।’ मैले मान्दै मानिनँ । दाइको भनाइसँग सहमत भए पनि कानुनी उपचार खोज्ने मामिलामा म पछि हट्दिनँ भनें । मिल्नुपर्ने भए उहाँ (नयनकुमार राई) ले मुद्दा हाल्नु किन ? भनेर तर्क गरें । मेरो भनाइसँग दाइ सहमत हुनुभयो । तर, मुद्दा लड्न हुन्न भनेर दाइले पटक–पटक सुझाउनुभयो ।
अन्ततः मैले ‘हुन्छ’ भनें । मुद्दा हाल्नेले फिर्ता लिए । ‘भो अब पत्रकारिता गर्दिनँ’ भन्ने मनस्थिति बनाए पनि सही समाचार लेखेकै भरमा मुद्दा परेपछि आफूले गरेको निर्णय परिवर्तन गरें । पत्रकारितामै भविष्य खोज्ने प्रयास गर्छु भनेर लागिपरें । नभन्दै वर्ष दिन जनआस्थामा ‘फिचर स्टोरी’ लेखें । प्रत्येक सोमबार ‘फिचर स्टोरी’ लेखेर जनआस्थाको कार्यालयमै पु¥याउँथें । ‘स्टोरी’ प्राथमिकतासाथ प्रकाशित हुन्थे । ‘स्टोरी’ प्रकाशित हुँदा अर्को लेख्ने जाँगर चल्थ्यो ।
वर्ष दिनसम्म नियमित ‘फिचर स्टोरी’ लेखेपछि जनआस्था साप्ताहिककै जागिरे बन्ने अवसर पाएँ । जनआस्थाले मलाई विश्वास ग¥यो । पत्रकारिताको पहिलो पाठशाला जनआस्थामा सिकेको सीप आजसम्म बेचिरहेको छु । पत्रकारिताको पहिलो पाठशालामा सिकेको सीप राजधानी दैनिक, जनदिशा दैनिक, नयाँ पत्रिका दैनिक हुँदै हिजोआज गोरखापत्र दैनिकमा व्यवहारमा उतार्दै आएको छु । त्यो सीप काठमाडौंलगायत हङकङ, मलेसिया, बेलायत, कतार, दुबईबाट प्रकाशित पत्रपत्रिका र स्मारिकामा व्यवहारमा उतार्न पाएँ । पाइरहेकै छु ।
संवत् २०७५ साउन ५ गते हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीमा उल्लिखित कुरा बोलेको थिएँ । हलेसी तुवाचुङ नगरपालिकाबाट
पहिलोपटक प्रकाशित तुवाचुङ साप्ताहिक सार्वजनिक समारोहमा बोलेको विषय धेरैलाई थाहा थिएन । १९ वर्षअघिका ती घटना पुनः सुनाउन पाउँदा गौरवान्वित थिएँ । सही समाचार लेख्दा मुद्दा हाल्ने ती शिक्षकले अन्ततः मुद्दा फिर्ता लिन बाध्य भएको घटना सुनाउँदा कार्यक्रममा उपस्थित तीनछक परे । मुद्दा फिर्ता नलिएको भए उनी मानव बेचविखनमा पर्थे । मेरो उद्देश्य उनलाई जेल हाल्ने नभएर सुधारिनुपर्छ भन्ने थियो । जनआस्थामा समाचार प्रकाशित भएपछि पनि महिलासँग अनैतिक सम्बन्ध राखेर उनी थुप्रैपटक आलोचित भएका थिए ।
जोन बी बोगर्टले भनेका छन्, ‘कुकुरले मान्छे टोक्नु स्वाभाविक हो, त्यो समाचार होइन । तर, मान्छेले कुकुरलाई टोक्यो भने त्यो समाचार हो ।’
हलेसी तुवाचुङ नगरपालिकामा त्यस्ता घटना घटेकै छन् । सहनेले चुपचाप सहेकै छन् । अचाक्ली भए पनि सहनुको विकल्प छैन । उजागर गर्ने ठाउँ छैन । त्यसो भएकाले हलेसी तुवाचुङ नगरपालिकालाई आधारभूमि बनाएर ‘तुवाचुङ’ साप्ताहिक प्रकाशनमा आएको छ । आधारभूमि हलेसी तुवाचुङ नगरपालिका भए पनि तुवाचुङ साप्ताहिक एउटा सम्पूर्ण साप्ताहिक पत्रिका हो ।
तुवाचुङ साप्ताहिक पत्रिका प्रकाशनको प्रेरणास्रोत जनआस्था साप्ताहिक हो । त्यतिबेला जनआस्थामा गाउँठाउँको विकृति विसंगति उजागर गर्दा मलाई तारो बनाइएको थियो । त्यसताका एउटै व्यक्तिले गरेको अत्याचार जनआस्थामा पटक–पटक प्रकाशित भएको थियो ।
समय परिवर्तन भएको छ । समाजका विविध विकृति र विसंगति उजार गरी सभ्य र सुसंस्कृत समाज निर्माण गर्न पत्रकारिताको भूमिका अहम् हुन्छ । त्यही बुझाइले हलेसी तुवाचुङ नगरपालिकाबाट तुवाचुङ साप्ताहिक प्रकाशनमा ल्याइएको हो ।
जोन बी बोगर्टले भनेका छन्, ‘कुकुरले मान्छे टोक्नु स्वाभाविक हो, त्यो समाचार होइन । तर, मान्छेले कुकुरलाई टोक्यो भने त्यो समाचार हो ।’ हलेसी तुवाचुङ नगरपालिकामा मात्रै नभएर मान्छेले कुकुरलाई टोक्यो भने विश्वभरि नै समाचार बन्छ । कुकुर टोक्ने मान्छेलाई त्यसो नगर्न तुवाचुङ साप्ताहिक प्रकाशनमा आएको छ । तपाईंको गाउँठाउँमा पनि कुकुर टोक्ने मान्छे भेटिए खबर गर्नुहोस् है ।