दुर्छिम (खोटाङ) । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दसौं महाधिवेशन सम्पन्न भएको १५ दिन नबित्दै प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले महत्वपूर्ण जिम्मेवारी पाएका छन् । पार्टीको दसौं महाधिवेशनमा केन्द्रीय सदस्यमा समेत नपरेका प्रतिनिधिसभा सदस्य भट्टराईलाई केन्द्रीय सदस्यको जिम्मेवारी पाएलगत्तै पोलिटव्युरो सदस्यको जिम्मेवारी दिइएको हो ।
९९ सदस्यीय पोलिटव्युरो सदस्यमा एमाले प्रमुख सचेतकसमेत रहेका उनले पोलिटव्युरो सदस्यको भूमिका पाउँदा पार्टीले सही निर्णय गरेको भन्दै पार्टीभित्र चर्चा चलेको छ । ‘पटक–पटक मन्त्री बनाइँदै छ भनेर सञ्चारमाध्यममा समाचर पढिन्थ्यो,’ एमालेका एक नेताले भने, ‘तर, मन्त्रीको भूमिका कहिल्यै पाउनुभएन । माग्नुभएको भए विशाल कमरेडले आकर्षक मन्त्रालयको मन्त्री बन्न पाउनुहुन्थ्यो ।’
२०७७ पुस ५ गते विघटित संसद् पुनःस्थापनालगत्तै संघीय संसदीय दलको विधान–२०७५ को दफा १३ बमोजिम उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको थियो । तात्कालिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सांसद विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको थियो । तात्कालिक नेकपा (ओली समूह)ले देव गुरुङलाई बिदा गर्दै सांसद भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएको हो ।
विद्यार्थी राजनीतिबाट उदाएका नेता भट्टराई संवत् २०७० को संविधानसभा निर्वाचनमा खोटाङबाट निर्वाचित भएका थिए । उनी ०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समेत निर्वाचित भएका हुन् ।
खोटेहाङ गाउँपालिका–७ खोटाङबजारनिवासी उनले भगवती माध्यमिक विद्यालयबाट अखिलको राजनीति थालेका थिए । ०३८ मा अखिल सदस्यबाट राजनीतिक यात्रा थालेका उनी ०३९ मा सोही विद्यालयको स्ववियु सदस्य निर्वाचित भए ।
काठमाडौंको ताहाचलमा रहेको महेन्द्र–रत्न क्याम्पस स्ववियु सभापति (०५१)को भूमिका निर्वाह गरिसकेका उनी संवत् ०५९ मा तात्कालिक माओवादी कार्यकर्ताबाट ४६ दिन अपहरणमा परेका थिए ।
‘राजनीतिमा लागेका मानिस पनि इमानदार हुन्छन् भन्ने देखाउन पाए पुग्छ,’ एमाले पोलिटव्युरो सदस्य भट्टराईको बुझाइ छ, ‘हामीसँग जल, जमिन, जंगल, जडीबुटी र जनशक्तिलगायतका स्रोत–साधन छन् । यसको सही सदुपयोग गर्न सके मुलुक समृद्ध बनाउन सकिन्छ ।’
मुलुकमा ठुल्ठूला पूर्वाधार निर्माण गर्न सके लाखौंको संख्यामा रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ । त्यसका लागि मुलुकमा रहेका आन्तरिक स्रोत–साधनको अधिकतम सदुपयोग गर्न सक्नुपर्छ ।
‘म साधारण परिवारबाट आएको व्यक्ति हुँ । काम र मिहिनेतले यहाँसम्म आइपुगेको छु । धेरै माथि पुग्छु भन्ने लागेको छैन,’ उनले थपे, ‘खोटाङ भौतिक विकासको दृष्टिले पछि परेको छ । हामीले भौतिक पूर्वाधारलाई ध्यान दिन सकेका छैनौं । जिल्लालाई भौतिक पूर्वाधारले सम्पन्न बनाउनसाथ खोटाङ उकासिहाल्छ । हलेसीलाई मात्रै राम्रो बनाउन सके खोटाङलाई जुरुक्क उठाउँछ ।’