नेपाली युवालाई नेपालमै स्थापित गर्न अपरिहार्य


सन् १९९९ को संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेपछि सालिन्दा १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने घोषणा गरियो । त्यसपछि संयुक्त राष्ट्रको आयोजनामा सन् २००१ देखि सालिन्दा विश्वभर मनाइरहेका छौं । राष्ट्रसंघले यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा ‘विश्व अभियानका लागि युवा सहभागिता’ तय गरेको छ । सोहीअनुसार विश्वभरिका सबै देशमा सरकारमातहतमा रहेको युवासम्बन्धी सरकारी निकायको संयोजनमा यो दिवस मनाइन्छ । जसमा नेपालमा युवा मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्को समन्वयमा मनाइरहेका छौं । जसमा विभिन्न सामाजिक तथा राजनीतिक दलका संगठनको सहभागिता र स्वतन्त्र रूपमा रहेका युवाको समेत सहभागिता रहेको छ ।

खासगरी अन्तर्राष्ट्रिय दिवसको अवसरमा युवालाई राज्यको सबै नीतिगत तहमा र निर्णायक तहमा अर्थपूर्ण सहभागिताका लागि समन्वय र सहकार्य गर्न आवाज उठाउँदै यसलाई अवसरका रूपमा सदुपयोग गर्दै आएको पाइन्छ । सालिन्दा संयुक्त राष्ट्रसंघले तयार गर्ने नारा दिगो विकासका लक्ष्यलाई आधार मानेर तयार गर्ने गरेको पाइन्छ । जसमा गत वर्षको नारा दिगो विकास लक्ष्य ४ ले निर्देश गरेबमोजिम ‘शिक्षामा रूपान्तरण’ रहेको थियो । तर, यस वर्ष विश्व नै कोभिड–१९ को महामारीले दिगो विकास लक्ष्यभन्दा फरक हिसाबले समसामयिक परिस्थितिअनुसारको नारा तयार भएको छ ।

नेपालको सन्दर्भमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्को आयोजनामा सप्ताहव्यापी रूपमा सरकारी निकाय, विभिन्न जातीय संगठनका युवा संगठन, सामाजिक तथा गैरसरकारी युवा संगठन र राजनीतिक युवा संगठनको सहकार्यमा बनाइरहेका छौं । जसमा यस वर्षको युवा दिवस कार्यतालिकाअनुसार ४ अगस्टमा भर्चुअल रूपमा पत्रकार सम्मेलन गरेर सबै कार्यक्रम तालिम सार्वजनिक गरिएका छन् । जसमा सबै कार्यक्रम कोभिड–१९ लाई ध्यान दिँदै भर्चुअल रूपमा मनाउने तालिका सार्वजनिक गरिएको छ । जसमा ७ अगस्टमा निबन्ध लेखन प्रतियोगिता, रक्तदान ८ अगस्टमा, बिरुवा रोप्ने, युवा संवाद, सरसफाइ अभियानलगायतको अगस्ट ११ सम्म कार्यक्रम भएको थियो भने अन्तिम दिन पुरस्कार घोषणासहितको सम्माननीय प्रधानमन्त्रीद्वारा सम्बोधन हुने कार्यतालिका रहेको छ ।

राजुविक्रम चाम्लिङ

युवा भनेको शक्ति हो । जुन युवा शक्ति समुदाय र राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा वर्ग राज्यको अग्रसर स्रोत र परिवर्तनको वाहक शक्ति पनि हुन् । युवाहरू आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक हुन् । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवम् उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरका रूपमा रहेको हुन्छ, जसलाई राष्ट्रनिर्माणको प्रमुख स्रोतसमेत मानिन्छ । नेपालको सन्दर्भमा राष्ट्रिय युवा नीति–२०६६ तथा संशोधित नीति–२०७२ ले तय गरेको युवाको १६–४० वर्ष उमेर समूहलाई युवाको परिभाषाभित्र पारेको छ । तर, युवाहरूको उमेर वर्ष भने प्रत्येक देशमा फरक रहेको पाइन्छ । जसमा भारत, श्रीलंका र बंगलादेशमा १५ देखि २९, अफगानिस्तान १८ देखि ३५, माल्दिभ्स १८ देखि २४, भुटान १३ देखि २४, अमेरिका १५ देखि १७ र १८ देखि २४, चीन १४ देखि २८, युएन १५ देखि २४ ।

जापानमा ० देखी ३०, दक्षिण कोरिया ९ देखि २४ रहेका छन् । नेपालको सन्दर्भमा, युथ भिजन–२०२५ कार्यान्वयन गर्न कार्ययोजना तर्जुमा भएको छ । युवा नीति र दसवर्षे युथ भिजनको लक्ष्य हासिल गर्न यो कार्ययोजना ल्याइएर नेपाल सरकार युवा मन्त्रालय राष्ट्रिय युवा परिषद्मार्फत अगाडि बढाइरहेको छ । यस कार्ययोजनामा युवा विकासका लागि युवा उद्यम, शैक्षिक प्रमाणपत्रका आधारमा ऋण, विप्रेषण लगानी, युवा क्लब गठन र स्वयम्सेवक परिचालन, खेलकुद विकास, नेतृत्व विकास, युवा बचाऊ कार्यक्रम र पुनःस्थापना केन्द्र स्थापनालगायतका कार्यक्रम समावेश गरिएका छन् । यसमा केन्द्र, प्रदेश र स्थापना तहसम्मको भूमिकामा जोड दिइएको छ । यसकारण युथ भिजनको कार्यदिशालाई लक्षित गर्दै उक्त लक्ष्य प्राप्त गर्न सोही किमिसले सालिन्दा अनुगमन गर्दै युवा दिवसको अवसरसम्ममा समीक्षासहित अगाडि बढिरहेको पाइन्छ ।

युवाहरूमा राष्ट्र, राष्ट्रियता र जनताप्रतिको बफादारी; युवाका आधारभूत आवश्यकता परिपूर्ति; समानता एवम् समतामूलक वितरण सिद्धान्त; संवैधानिक सर्वाेच्चता, वैयक्तिक स्वतन्त्रता, विश्वव्यापी मानवअधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्य–मान्यता; जाति, भाषा र वातावरणीय सम्पदा संरक्षण र सम्बद्र्धन तथा सहअस्तित्वजस्ता आधारभूत मूल्य–मान्यता प्रवद्र्धन गर्ने हेतु युवा नीतिले लिए पनि बढीभन्दा बढी २० देखि २९ वर्ष समूहका युवा बेरोजगार हुँदैै आएका छन् । नेपालमा प्रतिवर्ष झन्डै पाँच लाख युवा श्रमबजारका लागि तयार हुन्छन् । तर, यसको केही प्रतिशतले मात्र रोजगारी पाएका छन् ।

१५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको बहुआयामिक विकास अवस्थालाई विश्लेषण गरेर तयार पारिएको युवा विकास सूचकाङ्क (२०१६) मा विश्वका १८३ मुलुकमध्ये नेपाल ७७औं स्थानमा छ । यसले नेपाललाई युवा विकासको मध्यमस्तरमै राखेको छ र चीन (११८), भारत (१३३), बंगलादेश (१४६) र पाकिस्तान (१५४)औं स्थानको तुलनामा राम्रो अवस्था दर्शाएको छ । राष्ट्रिय युवा नीति र राष्ट्रिय युवा परिषद् ऐनले १६ वर्षदेखि ४० वर्षसम्मको समूहलाई युवा मानेअनुसार राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार यो समूहमा कुल जनसंख्याको ४०.३५ प्रतिशत जनसंख्या रहेको छ । जसमा नेपालको कुल युवा जनसंख्या १ करोड ७ लाख रहेको छ । जसमा विश्वलाई हेर्दा सन् २०१९ को संयुक्त राष्ट्रको तथ्यांकअनुसार युवाको जनसंख्या १ अर्ब २० करोड थियो । तर, नेपाल र अन्तर्राष्ट्रिय नीति र मान्यताअनुसार युवाको उमेर फरक छ । जुन यो संख्या भनेकोचाहिँ १५ देखि २४ वर्ष उमेरको तथ्यांक हो । यो कुल जनसंख्याको १६ प्रतिशत हो । यसैगरी, एसिया महादेशमा हेर्दा कुल जनसंख्या ४ अर्ब ६४ करोड ५३ लाख २३ हजार ६४३ मध्ये ७१ करोड ८० लाख युवाको जनसंख्या रहेको छ ।

नेपालको युवा जनसंख्याको ठूलो हिस्सा यो उमेर समूहकै रहे पनि मुलुकले त्यसबाट प्राप्त हुने जनसांख्यिक लाभांश भने लिन सकिरहेको छैन । यसो हुनुमा युवामा गुणस्तरीय, रोजगारमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच, बेरोजगारी र अर्धबेरोजगारी, युवा पलायन, कमजोर स्वास्थ्य, पोषण र मनोबल, युवामैत्री लगानी र उधमशील वातावरण अभाव, लैंगिक, क्षेत्रीय, जातीय असमानता आदि नेपाली युवाका प्रमुख समस्या हुन् । प्रतिवर्ष पाँच लाख व्यक्ति श्रम बजारमा प्रवेश गरिरहेको अवस्थामा मुलुकभित्र रोजगारीका यथेष्ट अवसर सिर्जना नहुँदा वैदेशिक रोजगारीमै निर्भर रहनुपर्ने अवस्था छ । हाल करिब ४३ लाख युवा औपचारिक र अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये करिब ७५ प्रतिशत अदक्ष कामदार छन् । यसले गर्दा उनीहरूको आम्दानी निकै कम छ । युवा अर्धबेरोजगारीको दर करिब ३६ प्रतिशत छ । युवासँग सम्बन्धित विषयलाई सम्बोधन गर्न राजनीतिक र सामाजिक दुवै क्षेत्रबाट आवाज उठाउने गरिएको भए पनि यो पर्याप्त भएको देखिँदैन । यसर्थ, युवाको सवाल राज्यमा स्थापित गर्न र नेपाली युवालाई नेपालमै कारिन्दाको रूपमा स्थापित गर्न अबको युवा संस्था तयार हुनुपर्छ ।

विगतको तथ्यांक हेर्दा शिक्षा मन्त्रालयबाट स्वीकृतिपत्र लिएर ३० हजार विद्यार्थी सालिन्र्दा बिदेसिन्छन् । यसलाई आँकलन गर्दा वार्षिक ३० अर्ब रुपैयाँसम्म बिदेसिने गरेको पाइन्छ । यसरी अध्ययनका नाममा बर्सेनि बिदेसिने विद्यार्थी १७ देखि २५ वर्षसम्मका हुन्छन् । यो ज्यादै दुःखद कुरा हो । यसकारण आगामी दिनमा कोरोना महामारी कम गर्न र निमिट्यान्न गर्न अन्तर्राराष्ट्रिय दिवसले युवामा तागत देओस् संसारभरिका युवालाई शुभकामना छ ।

(राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ संस्थापक सचिव लेखक, राष्ट्रिय युवा संघ नेपाल, केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्