छोरी भएको घर त्यत्तिकै झिलिमिली



बच्चा जन्मनासाथ सबैलाई कौतूहल हुन्छ । के जन्म्यो भनेर ? छोरा जन्म्यो भने ल छोरै पाएछ भन्ने हुन्छ । सुन्ने र सुनाउनेले पनि ल छोरै जन्मिएछ नि भनेर अलिक बढी नै उत्साहसाथ भन्ने गर्छन् ।

मानौं– छोरा जन्मेको माहोलमा अलि धेरै रौनक छाउँछ । त्यस्तै रौनक छोरी जन्मदा अलि कमै देखिन्छ । ‘ल लक्ष्मी भित्रिइन् । अब लक्ष्मीको आगमन भयो,’ कता–कता मनको कुनामा अर्काको घर पठाउनुपर्छ भन्ने मानसिकताले छोएको पो हो कि भन्ने भान हुन्छ । छोरा जन्मेपछि हुने रमझमको छैंठी र छोरी जन्मेपछिको छैंठीमा विरलै देखिन्छ ।

छोरीको धेरै माया लाग्दालाग्दै पनि खै के ले अवरोध गर्छ ? छोरीलाई माया साह्रै गर्छन् । तर, अभिभावकले छोरालाई जस्तो खुलेर लगानी गर्न सक्दैनन् । छोराछोरी बराबरी भने पनि कतै न कतै छोरालाई जत्तिकै लगानी छोरीमा अलिक कमै हुन्छ ।

लालनपालनदेखि पढाइ सबै कुरा राम्रो हुन्छ । जुन घरमा छोरी हुन्छिन्, त्यो घरै झलमल्ल हुन्छ । प्रकृतिको सुन्दर रचना छोरी । छोरीले गर्दा घरै उज्यालो । कति सीप ? कति जाँगर ? जन्मेको दिनदेखि अलिकति काम गर्न जान्ने भएदेखि नै नानी, भाइबहिनीको हेरचाह गर । हेर भाइ भोकायो खान देऊ । भाइको लुगा धोइदेऊ । भाँडा माझ । कुचो लगाऊ । भाइलाई गृहकार्य पनि गराऊ है ।

यस्तै, संस्कार र परिवेशमा हुर्कंदै गर्दा नजानिदो तरिकाबाट तालिम लिएकी छोरीमा घरको जिम्मेवारीले छपक्कै छोप्छ । देख्दा लगभग उस्तै देखिने । दुई वर्षको अन्तरका दिदीभाइमा भाइचाहिँ जहिले नजान्ने, नसक्ने भएरै हुर्कन्छ भने दिदीलाई घरका सम्पूर्ण जिम्मेवारी आइलाग्छ । मानौं उनले जन्मदै सबै काम गर्नुपर्ने जिम्मै लिएर जन्मेकी हुन् । भाइलाई पनि यो काम दिदीकै हो, मेरो सबै काम दिदीले गरिदिनुपर्छ भन्ने हुन्छ । अथवा यस्ता घरका सानातिना काम दिदीले नै गर्नुपर्छ भन्ने हुन्छ ।

जति–जति छोरी बढ्दै जान्छिन्, त्यति–त्यति आमाबुवाको मन बेचैनी हुन्छ । कस्तो घरमा पर्ली ? छोरीले दुःख पाउने हुन् कि ? सम्पन्न घरमा दिन पाए त हुने । यही पिरलो हुन्छ । यो हुँदैन कि ‘हेर है, छोरी तिमी आफ्नो खुट्टामा आफैं उभिन सक्नुपर्छ । तिमी आत्मनिर्भर भएपछि मात्रै तिमीले विवाह गर्नुपर्छ । बरु भन तिम्रो इच्छा के छ ? के पढ्छेउ ? कुन सीप सिक्न मन छ भन । जसरी हुन्छ तिमी सक्षम हुनुपर्छ है ।’ हुर्केकी छोरीलाई चारैतिरबाट विवाहको प्रस्ताव आउँछ । आमाबाबुको रोजाइमा एउटा सम्पन्न घर पर्छ ।

अरूको घरमा पठाए पनि तिमीलाई दुःख पर्दा आऊ’ भन्न सक्नुपर्यो । नसकी–नसकी धेरै खर्च गरेर धनीको घरमा छोरी नदिनू । विवाहमा गर्ने खर्चको बजेटले छोरीलाई आत्मनिर्भर बन्नुपर्छ भनेर हौसला दिनू । आत्मनिर्भर गराउनू छोरीलाई ।

विवाहको बेला आउँछ । जति धेरै सम्पत्ति भएको घर छ, त्यति धेरै खर्च गरी विवाह गरिदिनुपर्ने हुन्छ । देख्दा राम्रो । प्रशस्त सम्पत्ति । यति राम्रो घर त छोड्नुहुन्न । ऋण, धन गरेर भए पनि जसरी हुन्छ, छोरीको विवाह राम्रो घरमा गरिदिनुपर्यो । छोरीको भविष्यको कुरा छ ।

जसरी हुन्छ, छोरीको धुमधामले विवाह गरिन्छ । हल्दी, मेहेन्दी, नाचगानमा कुनै कमी हुँदैन । कतै कुनै कमी हुने हो कि ? इज्जत जाने हो कि ? हाम्रा कारणले कतै छोरीलाई हेलाँ पो गरिदिने हुन् कि ? हामी केटीतर्फका केटातर्फका अघि झुक्नुपर्छ भन्ने कुरामा धेरै सतर्कता अपनाउँदै कन्यादान हुन्छ । ‘मारे पाप, पाले पुण्य’ भन्दै छोरीको कन्यादान हुन्छ । छोरी दिँदा ‘मारे मार्छु, पाले पुण्य’ कसैले भन्दैनन् ।

छोरी हर्ष र विस्मात्को दोधारमा आफ्नो प्यारो जन्मघरबाट रुँदै बिदा हुन्छिन् । ऋण गरेर भए पनि अब सम्पन्न घरमा छोरी दिएपछि आमाबुवाको ठूलो जिम्मेवारी पूरा हुन्छ । अब ढुक्क भैयो छोरीको घरबार भो ।

‘अब सकियो छोरीको जिम्मेवारी । छोराहरूको त के पीर भो र, आफ्नो इलम गरेकै छन् । छोरी जिम्मा लगाइयो ।’ यति गरेपछि गर, खा भनेजस्तो गरी आफ्नै कोखको सन्तानलाई पराई बनाइदिन्छन् । अनि भित्र्याउनेले पनि घर सम्हाल्ने पाको कर्मचारी आएजस्तो गरी जिम्मेवारीको सबै बोझ टाउकोमा थुपारिदिन्छ्न् ।

‘ठूलो र सम्पन्न परिवारमा दिएपछि दुःख हुने त कुरै भएन, घरकालाई रिझाउने घर गर्ने खाने’ माइतीको यही दबाब हुन्छ । अलि–अलि जान्ने भएदेखि माइतीको स्याहारसुसार गर्दै हुर्केकी छोरीले अब पनि नयाँ घरमा अझ धेरै मिहिनेत गरी घरकालाई रिझाउनुपर्छ ।

छोरीको नयाँ जीवन नयाँ घर, नयाँ परिवेश अनि नयाँ अनुहारहरूसँग सुरु हुन्छ । नयाँ रहन–सहन, परिवारको सबै–सबै जिम्मा आफ्नो टाउकामाथि आइलाग्छ । सबै कुरा नयाँ घरकै निर्देशनमा गर्नुप¥यो । केही गडबड हुने हो कि भनी डर उत्तिकै । एक/दुई दिन माइतीमा बस्दा पनि के भन्ने हुन् भन्ने डर ।

आमाबुवाले दिएको घरमै सुरु भयो डर र जिम्मेवारीको जीवन । कहिलेकाहीँ माइतीमा आउँदा ‘छोरी कति दिनको बिदा मागेर आएकी छौ ?’ यसरी पहिलो प्रश्न सोधिन्छ । यो हुँदैन कि ‘तिमी खुसी छौ कि नाइँ ?’ तिम्रो मनको कुरा भन । केही परे हामी छौं भन । यदि आफ्नो समस्या छोरीले सुनाइन् भने पनि ‘त्यही हो छोरी तिम्रो घर जाऊ । सहनुपर्छ के गर्ने छोरीको जीवन यस्तै हो ।’

धुमधामसँग विवाह गरेर ठूलो घरमा दिएको, समाजले के भन्लान् । इज्जतको डर छ । जे भए पनि घर छाड्नुहुँदैन है । तिम्रो बिहेको ऋण अझै तिरेर सकिएको छैन । यो सुन्दा छोरीको मन अमिलो हुन्छ । मलाई ठूलो घरमा दिँदा आमाबुवालाई परेको समस्या छँदै छ । त्यसमाथि मेरो दुःख सुनाउँदा त झन् कस्तो होला ? भनेर चुपचाप सहने छोरी कता जाने ? घरमा धेरै गाह्रो, माइतीमा जाने कुरै भएन । न बस्ने ठाउँ छ ? न त जाने ठाउँ नै ?

छोरीले दुःखका कुरा बोकेर आउँछे कि भन्ने आमाबुवालाई पीर । फेरि छोरीलाई संरक्षण गर्दा आफूलाई बुढेसकालमा स्याहार गर्ने छोराबुहारी रिसाउने पो हुन् कि भन्ने डर । राम्रोसँग घर गरेर खाए हुन्थ्यो । घरका सबैलाई रिझाएर बसे हुन्थ्यो । त्यत्रो सम्पत्ति छ । माइतीका कुरा यही हुन्छ । जब छोरी मारिन्छिन् अथवा आत्महत्या गर्छिन्, अनि छाती पिटीपिटी रुन्छन् । अनि के गर्नु त्यसको भाग्यमा त्यस्तै रहेछ । अनि भाग्यलाई दोष दिँदै मन बुझाउँछन् ।

आमाबुवाले अन्माएर पठाएका छोरीहरू घरमै मारिएको अवस्थामा भेटिइन्छन् । धेरै चेलीले आत्महत्या गरेका छन् । जिउँदै मरेकाको त कुनै लेखाजोखा छैन । केही पर्यो भने आऊ है छोरी तिम्रा लागि हामी छौं । ‘अरूको घरमा पठाए पनि तिमीलाई दुःख पर्दा आऊ’ भन्न सक्नुप¥यो । नसकी–नसकी धेरै खर्च गरेर धनीको घरमा छोरी नदिनू । विवाहमा गर्ने खर्चको बजेटले छोरीलाई आत्मनिर्भर बन्नुपर्छ भनेर हौसला दिनू । आत्मनिर्भर गराउनू छोरीलाई ।

महिला हिंसा अति भयो । धेरै छोरीका निर्मम तरिकाले हत्या भएको छ । यो किन भइरहेको छ ? त्यतातिर पनि ध्यान दिने कि ? कमसेकम छोरीलाई आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिऊँ । ठूलो घर र सम्पत्तिसँग छोरीको भविष्य नजोडौं । आत्मनिर्भर बनाइदियौं भने छोरीले आफ्नो भविष्य आफैं सुनिश्चित गर्न सक्छन् ।

जसरी छोरालाई लगानी गर्नुहुन्छ । केही गर्छु भन्दा स्वतन्त्र छाडिदिनुहुन्छ । जसरी छोराले कमाउने नहुँदासम्म विवाहको कुरा गर्नुहुन्न । ठीक त्यसरी नै छोरीलाई विवाहका लागि तयार बनाउनुभन्दा पहिला आत्ननिर्भर बनाउनतर्फ जोड दिनुहोस् । अरूको सम्पत्ति हेरेर होइन, आत्मनिर्भर बनाएर छोरीको इच्छाअनुसार विवाह गराइदिनुहोस् । आत्मसम्मानसाथ बाँच्न सक्ने छोरी बनाउनुहोस् । ताकि कसैले पनि हेप्ने हिम्मत गर्न नसकोस् ।

प्रतिक्रिया दिनुहोस्