प्रधानमन्त्री ओलीले नेतृत्व गरेको एमाले मूलबाटो : मुख्यमन्त्री राई



हलेसी (खोटाङ) । मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको एमाले मूलबाटो भएको जिकिर गरेका छन् । १ नम्बर प्रदेश मुख्यमन्त्री राईले हलेसीमा आयोजित ‘हलेसीका जनतासँग मुख्यमन्त्री कार्यक्रम’मा यस्तो जिकिर गरेका हुन् ।

नेपाल–खनाल समूहसम्बद्ध नेता तथा कार्यकर्तालाई संकेत गर्दै गल्ली र कुनाकाप्चा नपसी एमालेको मूलबाटोमा हिँड्न उनले आग्रह गरेका छन् ।

हलेसी गुरुयोजना तत्काल लागू गर्ने उनले प्रतिबद्धता जनाएका छन् । गुरुयोजना लागू गर्ने प्रमुख दायित्व आफ्नो भएकाले गुरुयोजना क्षेत्रभित्र रहेका सबैलाई उचित मुअब्जा दिई व्यवस्थापन गर्ने उनको भनाइ छ ।

कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका ११ वटै वडाले मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका थिए । नगरका ११ वटै वडाबाट प्राप्त ज्ञापनपत्र अध्ययन गरी प्राथमिकताका आधारमा योजनाबद्ध तरिकाले कार्यान्वयन गरिनेछ ।

नेकपा (एमाले) हलेसी तुवाचुङ नगर कमिटीद्वारा आयोजित कार्यक्रममा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, प्रदेश नम्बर १ की सामाजिक विकासमन्त्री उषाकला राई, संविधानसभा पूर्वसदस्य तथा प्रदेश कमिटी सदस्य पाँचकर्ण (पीके) राई, प्रदेश कमिटी सदस्य हरि पोखरेल, एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, युवा संघ नेपाल पूर्वअध्यक्ष रमेश पौडेललगायत जिल्ला र नगरका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

हलेसीमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने भनिए पनि भौतिक पूर्वाधारमन्त्री अम्बिरबाबु गुरुङ अनुपस्थित रहे ।

प्रतिक्रिया दिनुहोस्