एकै नजरमा हलेसीलाई चिन्ने आँखा



किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको सांस्कृतिक विश्वास जोडिएको प्राकृतिक गुफा हलेसीले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिचय बने पनि सिंगै हलेसी तुवाचुङ नगरपालिका क्षेत्र आकर्षक गन्तव्य हो ।

खासगरीकन रैथाने संस्कृति र सांस्कृतिक सहअस्तित्वका भव्य केन्द्रहरू पहिलो खम्बा हो– हलेसी तुवाचुङको । इतिहासका साक्षी अर्थात् तीन गढीहरू दोस्रो खम्बा हो– हलेसी तुवाचुङको । प्राकृतिक रमणीयता रस्वादन गर्न सकिने हिमालका हाराहारीमा उभिएका चुङ (डाँडा)हरू तेस्रो खम्बा हो– हलेसी तुवाचुङको । अर्को शब्दमा भन्दा सांस्कृतिकता, ऐतिहासिकता र प्राकृतिकता मिलेर बनेको छ– हलेसी तुवाचुङ नगरपालिका ।

यी तीन खम्बाका आधारचाहिँ हलेसी तुवाचुङ नगरपालिका क्षेत्रको प्राग्ऐतिहासिकता हो । अहिले पनि घर–घरमा राखिएका चट्याङढुंगा, वज्रढुंगा, बैथर, नामा इत्यादि नामले चिनिने नवपाषाण युगका ढुंगेहतियार भेटिन्छन् । ठ्याक्कै अहिले हामीले प्रयोग गर्ने फलामको बन्चरोजस्तै तर आकारमा साना ढुंगाका हतियारलाई मानवजातिले ढुंगेयुगको अन्तिम चरणमा विकास गरेको मानिन्छ । यसलाई किरात राईहरू आकाशबाट पारुहों (पारुहाङ)ले खसाएको विश्वासमा ‘नामा’ भन्छन् । त्यस्तै, यसलाई उनीहरू बैथर पनि भन्छन् । बिजुली चम्कँदा आकाशबाट खस्छ भन्ने विश्वासले यसलाई वज्रढुंगा, चट्याङढुंगा पनि भनिन्छ । नेपालका पुरातत्वविद्हरूका अनुसार आसाम (भारत)को नवपाषाण हतियारको बनावटसँग मिल्दोजुल्दो भएकाले पूर्वी पहाडहरूमा पाइने बैथर भनिने चट्याङढुंगाको समय ४००० देखि ३००० वर्ष पुरानो हो । यसको मतलब हो– हलेसी क्षेत्रमा लगभग ४००० वर्षदेखि मानिसको घुमफिर थियो । स्थायी बस्तीचाहिँ निश्चय नै त्योभन्दा पछिकै हो ।

किरात राईहरूमा पारुहोंले आकाशबाट वज्रढुंगा खसाउँछ भन्ने विश्वास छ । यसलाई धामीहरूले सांस्कृतिक सामग्रीका रूपमा प्रयोग गर्ने गरेका छन् । अहिले पनि किरात राईहरूका घर–घरमा वज्रढुंगा सुरक्षित रूपमा राखिएको हुन्छ । वज्रढुंगासँग जोडिएको उनीहरूको सांस्कृतिक विश्वास र सम्बन्धले वज्रढुंगाका प्रयोगकर्ता किरातीहरूकै पुर्खा थिए कि भन्न सकिन्छ । त्यतिमात्रै होइन, हलेसी तुवाचुङ क्षेत्रसँग उनीहरूको प्राग्ऐहातिहासिक सम्बन्ध रहेको देखाउने केही मुन्दुमी मिथक पनि रहेका छन् । जस्तो कि आदिमकालमा तुवाचुङमा किरात राईहरूका बजु (हजुरआमा)हरू तोंयामा र खियामाले कपडा बुनेको मानेर सबै भाषी राईहरूले श्रद्धा गर्ने गर्छन् । हलेसी गुफालाई खोक्चिलिपा बसेको लुङ्खिम (ओडार) मान्छन् । खोक्चिलिपा र उनकी श्रीमती गुफाबाट निस्केर चिचिङ्गामा सुङ्खिम
(काठपातबाट बनेको घर) बनाएर बस्न सुरु गरेको विश्वास किरात राईहरूमा छ । यी तथ्यहरू हलेसी तुवाचुङ क्षेत्रमा ४००० वर्षअघि विचरण गर्नेहरू किरात राईहरूका पुर्खा थिए भन्ने आधार हुन् ।

अब कुरा गरौं– हलेसीको तीन खम्बामध्ये एक ऐतिहासिकताबारे । १६औं शताब्दीमा सिंगै माझकिरात विजयपुर राज्यअन्तर्गत पथ्र्याे, जसमा सेनवंशका राजाहरू थिए । त्यस हिसाबले सिंगै हलेसी तुवाचुङ नगरपालिका विजयपुर राज्यअन्तर्गत पथ्र्याे । त्यसपछि हलेसीदेखि रावा, साप्सुखोलासम्मका भू–भाग विजयपुरबाट फुटेर बनेको मकवानपुर राज्यअन्तर्गत थियो । त्यसपछि सेनहरूकै अधिनमा चौदण्डी राज्यअन्तर्गत पथ्र्याे– हलेसी तुवाचुङ नगरपालिका क्षेत्र ।

राजाचाहिँ सेनवंशका हुन्थे तर स्थानीयस्तरमा चाहिँ गढीहरू स्थापना गरेर किरात राईहरूले स्वायत्त रूपमा शासन गर्थे । सेनकालभन्दा अगाडिको हुन सक्ने ती गढीहरू अहिले पनि हलेसी तुवाचुङ नगरपालिकामा रहेका छन् । ती हुन्– च्यास्मीगढी, हलेसीगढी र खाम्तेलगढी । स्थानीयले बताउने मौखिक इतिहास र लिखित इतिहासबीचमा भेट खाएका हिसाबले यी गढीहरू लगभग ४०० वर्ष प्राचीन हुन् । ४०० वर्ष प्राचीन गढीका भग्नावशेष अहिले पनि देख्न सकिन्छ । पर्यटकीय हिसाबले अत्यन्तै रमणीय डाँडाहरूमा रहेकाले उत्खनन, पुनःनिर्माण र संरक्षण गरेर यी गढीलाई ऐतिहासिक गन्तव्यमा परिणत गर्न सकिन्छ ।

राणाकालीन प्रशासनमा च्यास्मी र हलेसीगढी हलेसी थुमअन्तर्गत पथ्र्याे । खाम्तेलचाहिँ अलग्गै थुमका रूपमा रहेको थियो । खोटाङ जिल्ला बन्नुपहिले यी दुवै थुम ओखलढुंगामा सदरमुकाम भएको पूर्व ३ नम्बर जिल्लाअन्तर्गत पथ्र्याे ।

अब कुरा गरौं– हलेसीको तीनमध्ये दोस्रो खम्बा धार्मिक–सांस्कृतिकताबारे । हलेसी तुवाचुङ नगरपालिका क्षेत्र खासमा रैथाने संस्कृति–सभ्यता तथा त्यससँग नयाँ संस्कृति–सभ्यताको आपसी सम्मान र सहअस्तित्वको खुला विश्वविद्यालय नै हो । रैथाने संस्कृति–सभ्यताका हिसाबले ‘सभ्यताको उद्गमस्थल’ नै भनेर विश्वास गर्छन्– तुवाचुङ जायजुमलाई । सांस्कृतिक सहअस्तित्वको सबैभन्दा ज्वलन्त उदाहरण त प्राकृतिक हलेसी गुफा भइहाल्यो । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीले आ–आफ्नै विश्वास, परम्परा र समयअनुसार यहाँ श्रद्धा गर्ने गर्छन् । यो भनेको विश्वकै लागि उदाहरण हो ।

हलेसी नामकरणबारे उनीहरूको तीनथरि दृष्टिकोण रहेको पाइन्छ । जस्तो कि हिन्दुहरूको मतमा हरिश्वर- हलेश्वर हुँदै हलेसी नामकरण भयो । यो धार्मिक मत भयो । बौद्ध धर्मावलम्बीहरूले आश्चर्यजनक गुफा देखेर तिब्बती भाषामा हालेस्यो भने, त्यसैबाट हलेसी भयो भन्छन् । यो भाषिक मत भयो । किरातहरूको मतचाहिँ ऐतिहासिक प्रकृतिको छ ।

किरात राईहरू खासमा हलेसी गुफालाई ‘खोक्चिलिपा बुक्टो’ (खोक्चिलिपा गुफा) भन्छन् । उनीहरू हलेसी भनेर होलैसुङ राजाको गाउँलाई बुझ्छन् । लगभग ४०० वर्षअघि हलेसीगढीका राजा होलैसुङको गाउँ खिम्लेमा थियो । होलैसुङ राजाको नामबाट बिस्तारै अपभ्रंश भएर गाउँको नाम हलेसी हुन पुग्यो । स्थानीय राई समुदायका बूढापाकाहरूले अहिले पनि हलेसी भनेर होलैसुङको गाउँ र गढी भएको क्षेत्रलाई बुझ्दै छन् । यही कारणले पञ्चायतकालमा यो क्षेत्रलाई ‘हलेसी जुरे पञ्चायत’ भनेर नामकरण गरिएको थियो । किरात राईहरूले ‘हलेसी गुफा’ भनेर ‘हलेसी गाउँको गुफा’ भन्ने बुझ्छन् ।

अहिले गिरी थरका पुजारीले नियमित पूजापाठ गर्दै आएका छन् । बौद्ध धर्मावलम्बीले आफ्नै धर्मगुरुद्वारा पूजापाठ गर्छन् । किरातीले पनि भर्खरै पितृपूजा गर्ने पवित्र घर मोछामाखिम (माङ्खिम) निर्माण थालेका छन् । उनीहरू पनि हलेसी गुफामा किराती पुजारी राखेर नियमित पूजा गर्ने तयारीमा छन् । हलेसी गुफामा मनोहर गिरी पुजारी नियुक्त हुनुभन्दा पहिला मथुर र कथुर नाम गरेका दुईजना चाम्लिङ राईहरूले पूजा गर्ने गरेको यहाँ स्मरणीय छ ।

मिल्नका लागि पहिलो कुरा आपसी सम्मान चाहिन्छ, जसले मात्र सहअस्तित्व सम्भव हुन्छ भन्ने अर्को उदाहरण हो– ऐतिहासिक भुम्जु (डाँडा) । भुम्जुलाई तिलुङ राई, वाम्बुले राई, चाम्लिङ राई र खस समुदायले आ–आफ्नो विश्वास र परम्पराअनुसार पुज्ने, पुकार्ने गर्दै आएका छन् ।

अब कुरा गरौं– प्राकृतिक रमणीयताको । भुम्जु, रावाचुङ, लावाचुङ, सोराचुङ र तुवाचुङ यस्ता चुङ अर्थात् डाँडाहरू हुन्, जहाँबाट हिमाल त आँखैअगाडि देख्न सकिन्छ । उत्तरबाट बग्दै झरेको दूधकोसी र पश्चिमबाट बग्दै आएको सुनकोसीलाई एकसाथ देख्न सकिन्छ । प्राकृतिक रमणीयताबाट लिन सकिने यो अर्कैखालको आनन्द हो । एकदमै शान्त, एकान्त स्थलमा कोही एक÷दुई दिन विश्राम गर्न भुम्जु छँदै छ । यो यति रमणीय डाँडा छ कि यसको चुचुरोमा पुगेपछि पृथ्वीकै केन्द्रमा छु भनेजस्तो अनुभूति हुन्छ ।

सल्लेपोखरी अर्को आश्चर्य हो, जसलाई भविष्यवाणी पोखरी मानिन्छ । देशमा ठूलै अनिष्ट हुन लाग्यो भने त्यो पोखरी रगतैसरि देखिन्छ, सामान्य अवस्थामा हरियो हुन्छ भन्ने स्थानीयको भनाइ छ ।

हलेसी गुफाबाट सुरु हुनेगरी मुन्दुम ट्रेलको परिकल्पना गरिँदै छ । प्राकृतिक रमणीयतामात्र होइन, हलेसी तुवाचुङ क्षेत्रको ऐतिहासिक र सांस्कृतिकपनलाई पाइला–पाइलामा अनुभूति गर्न सकिने योभन्दा उत्तम विकल्प के होला र !

हलेसी नगरपालिका क्षेत्रका सांस्कृतिक खम्बाभित्र पर्ने थुप्रै धामबारे, प्राकृतिक खम्बाभित्र पर्ने थुप्रै स्थानबारे, ऐतिहासिक खम्बाभित्र पर्ने थुप्रै थलोबारे ‘त्रिधाम हलेसी’ पुस्तकमा दीपेन्द्र राईले स्थलगत तथ्य संकलन गरेर आकर्षक रूपमा प्रस्तुत गरेका छन् । निश्चय नै यो पुस्तक हलेसी तुवाचुङ नगरपालिकाको सम्भावनाभित्र प्रवेश गर्ने ढोका हो– स्थानीयका लागि । ‘एकै नजरमा माया बस्यो है’ भन्ने गीतजस्तै एकै नजरमा हलेसीलाई चिन्ने आँखा हो– तीर्थयात्री र पर्यटकका लागि ।

प्रतिक्रिया दिनुहोस्