हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान खोटाङमा रहेको त्रिधार्मिक स्थल हलेसी विश्वप्रसिद्ध छ । विश्वभरिका किरात, हिन्दु र बौद्ध धर्मावलम्बी हलेसी आउँछन् । विभिन्न धर्मावलम्बी हलेसीमा जमघट हुनुलाई संसारमै दुर्लभ मानिन्छ । त्यस्तो दुर्लभ ठाउँ हलेसी तुवाचुङ नगरपालिकामा रहेको छ ।
संसारभरिका किरात, हिन्दु र बौद्ध धर्मावलम्बीले हलेसी चिनेको छ । देख्नेले देखिसकेका छन् । नदेख्नेले पनि जीवनमा एकपटक हलेसी पुग्ने प्रण गर्छन् । हलेसी आइपुग्नेलाई हलेसीबाहेक घुम्नलायक, हेर्नलायक ठाउँ छ कि छैनन् ? छन् भने के–के छन् ? भन्ने खुल्दुली लाग्नु स्वाभाविकै हो ।
हलेसी आइपुगेका पर्यटक तथा तीर्थालुलाई हलेसीआसपासका सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक पर्यटकीयस्थलसम्म लैजान सकिने सम्भावना कस्तो छ ? तपाईंको हातमा परेको किताबले प्रश्नको जवाफ दिन सजिलो बनाएको छ । पत्रकार दीपेन्द्र राईले हलेसी तुवाचुङ नगरपालिकाभित्र रहेका सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण पर्यटकीय स्थलबारे जानकारी दिने पुस्तक ‘त्रिधाम हलेसी’ प्रकाशन गरेका छन् ।
पुस्तकमा हलेसी तुवाचुङ नगरपालिकाभित्र रहेका सांस्कृतिक, प्राकृतिक र ऐतिहासिकताबारे जानकारी दिनुका साथै सांस्कृतिक, प्राकृतिक र ऐतिहासिकता प्रस्ट्याउने जमर्को गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाभित्रका सांस्कृतिक, प्राकृतिक र ऐतिहासिकबारे थाहा पाउन कतै सोधीखोजी गरिरहनुपर्दैन । ‘त्रिधाम हलेसी’ पढे पुग्छ । पुस्तकमा किरातीको हलेसी, हिन्दुको हलेसी र बौद्धमार्गीको हलेसीबारे प्रकाश पारिएको छ ।
पुस्तकमा किराती सभ्यताको उद्गमस्थल तुवाचुङ, जैरुङ/जयराम, भुम्जु, च्यास्मीगढी, राजदह, बोझेओढार, हलेसीगढी, होलेसुङपार्क, नामचुङ, खिम्ले दरबार, ताराखसे र ताराखसे किरातेश्वर गुफाले ठाउँ पाएका छन् । यसैगरी, बुङालुङपार्क, महादेवबेंसी, खामाहीढुंगा, सत्यश्वर गुफा, गुप्तेश्वर गुफा, तारो हान्ने ढुंगा/सुत्केरी ढुंगा खोक्चिलिपा वालाखा, सल्लेपोखरी, सोलोमा भीर, रोसुङ्तो, लावाचुङ र खाम्तेलगढीबारे रिपोर्टिङ शैलीमा चर्चा गरिएको छ । उल्लिखित स्थललाई सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक पक्षसँग जोडेर उजागर गरिएको छ ।
हलेसीबारे धेरैलाई जानकारी हुन सक्छ । तर, त्यसआसपासका सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक स्थलबारे थोरैलाई जानकारी हुन सक्छ । जस्तो च्यास्मिटारको राजदहमा होम्राछाले नगिनीसँग बिहे गरेको प्रसंग होस् वा नाग राजाबीचमा भएको युद्ध–प्रसंग । बायुङ राईका पुर्खा रुङ हलेसी गुफामा बसोवास गर्ने खारू र पातेसुङलाई भेट्न हिजोआज भनिने जयरामबाट पारि तरे । रुङ तरेको स्थानलाई जैरुङ भनियो । कालान्तरमा जैरुङ अपभ्रंश भएर जयराम हुन पुग्योदेखि सल्लेपोखरी उत्पत्ति, सिकार खेल्नेक्रममा किराती पुर्खाले पत्ता लगाएको हलेसी, किराती पुर्खा खोक्चिलिपाले रासोबासो गरेको, सिकार खेलेको, बास बसेको कथा कम रोचक छैनन् ।
‘त्रिधाम हलेसी’मा होलैसुङका सन्तानले राज्यसत्ता चलाएदेखि होलैसुङका सन्तान भ्वाँरामहोंछालाई विक्रम संवत् १८३० भदौमा पृथ्वीनारायण शाहका सेनाले आक्रमण गरेको ऐतिहासिक पक्ष उजागर गरिएको छ । भ्युटावरजस्तै भुम्जुबारेमा चर्चा त्यत्तिकै सरल भाषामा रोचक तरिकाले प्रस्तुत गरिएको छ । हिन्दु धर्मावलम्बीले वैतरणी तार्ने गंगाजस्तै महत्व बोकेको महादेवबेंसीलाई चिनाइएको छ । पुस्तकमार्फत लेखक/पत्रकार राईले यी र यस्ता यावत् विषयमा सूचना र जानकारी दिने जमर्को गरेका छन् ।
अबको आर्थिक समृद्धिका माध्यममध्ये पर्यटन पनि प्रमुख हो । पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय स्थललाई चिन्न र चिनाउनु पहिलो सर्त मानिन्छ । हलेसी तुवाचुङ नगरपालिका र सिंगो जिल्लाको पर्यटन वा धार्मिक पर्यटनसम्बन्धी योजना बनाउन ‘त्रिधाम हलेसी’ सहयोगी बन्न सक्छ । प्रचार–प्रसार अभावमा नगरपालिकाभित्र रहेका सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक स्थलबारे जानकारी दिँदै पर्यटकीय स्थलका रूपमा प्रवद्र्धन गर्न पक्कै योगदान पुग्नेछ । शोधकर्ताका लागि ‘त्रिधाम हलेसी’ गज्जबको सन्दर्भ–सामग्री बन्न सक्छ । पुस्तक पर्यटन ‘गाइडबुक’ मान्न सकिन्छ ।