बेइजिङलाई चार भागमा विभाजन गरिएको छ । पूर्वमा दूतावाससहित सरकारी कार्यालय छन् । उत्तरी खण्डमा विश्वविद्यालय छन् । रेनमिनसहित ७० भन्दा बढी विश्वविद्यालय यस भागमा पर्छन् । दक्षिणी भेग आवास क्षेत्र हो । पश्चिमी भेगमा सुरक्षा निकाय छन् । बेइजिङको क्षेत्रफल १६,८०० वर्गकिलोमिटर छ । यसलाई ६ चक्रपथ र माकुराको जालोझैं फैलिएका विशाल सडकले जोडेका छन् । आठ तलासम्मका सडक रहेको बेइजिङको जनसंख्या दुई करोड नाघिसकेको छ । हवेई प्रान्तमा अवस्थित बेइजिङ चीनको दोस्रो ठूलो सहर हो । युयान प्रान्तको युयान झाउमा १० लाख ७० हजार वर्षपूर्व प्राणी अस्तित्व पत्ता लागेको छ । दक्षिण–पश्चिमस्थित झाउकुडिनमा पाँच लाख वर्षपूर्वको ‘पेकिङ मानव’ को अस्थिपञ्जर फेलापरेकाले पेकिङ पृथ्वीकै प्राचीन मानव बस्ती ठहर्छ/मिङ वंशका राजा झुयुयान झाङ जो ‘टाइज्यू’ नामले पनि चिनिन्थे; उनकै छोरा झु दिले सन् १४२१ मा बेइजिङलाई समग्र चीनको राजधानी घोषणा गरेका थिए । तातु नामले चिनिने तत्कालीन युयान प्रान्तको राजधानी बेइजिङका राजा कुब्लाखाँ (सन् १२७१–१३६८) को समयमा बेइजिङमा कागज, छापाखाना, दिशा पत्ता लगाउने यन्त्र र बारुदको आविष्कार भइसकेको थियो । इटालीका प्रसिद्ध घुमक्कड मार्को पोलोले त्यसको चर्चा गरेपछि बाँकी संसारले ती आविष्कारबारे थाहा पाएको हो । विगत सात सय वर्षदेखि यो चीनको राजधानी रहँदै आएको छ । यो एउटा ठूलो औद्योगिक सहर पनि हो ।
सन् ०४६–४७ आसपासदेखि मध्यएसियाबाट पश्चिम एसिया हुँदै रोमसम्म चिनियाँ रेशमको व्यापार हुन्थ्यो । जसलाई रेशममार्ग पनि भनिन्छ । युनानी नाविक हिप्पालसले अरब सागरको मनसुनको दिशा पत्ता लगाएका थिए । १६औं शताब्दीदेखि नै रेशममार्ग एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय मार्ग रहँदै आएको छ । जुन मार्ग सान्सी प्रान्तको सियानदेखि पश्चिम भू–मध्य सागरको पूर्वी किनारासम्म पुग्छ । यो अन्तर्राष्ट्रिय मार्ग रेशम व्यापारको मुख्य मार्ग भएकाले त्यसलाई रेशममार्ग पनि भनिन्थ्यो । ईसापूर्व २०६ सन् २०२० सम्म चीनमा शासन गरेको हान वंशका एक सम्राट उदीले रेशममार्ग निर्माण गरेका थिए । विशाल रेशममार्ग इटालीको राजधानी रोमसम्म पुग्दा झन्डै १२,८०० किमि लामो हुन्छ । उसबेला पैदल, घोडा, ऊँट, गोरुगाडाद्वारा पार गरिने सो मार्ग हालसम्म रेल र पानीजहाजद्वारा पार गर्ने परिकल्पना छ । रेशममार्ग पूर्वी एसिया, पश्चिम भू–मध्यसागर, दक्षिण एसियाबाट टर्की हुँदै युरोप पस्नेछ ।
टर्कीलाई युरोप र एसियाको दसगजा भन्ने गरिन्छ । उसबेला ल्हासा, काठमाडौं, सिन्धुलीगढी, सिम्रौनगढ, पाटलीपुत्र, कलकत्ता सहायकमार्ग हुँदै रेशममार्गसँग तिब्बत र नेपाल जोडिन्थे । त्यसबेला भारतीय रेशम व्यापारको बिचौलिया कार्य गर्थे । त्यसबेलादेखि नै बेइजिङ सभ्यताको केन्द्रमा रहँदै आएको छ । राजनीति, नीति निर्माण, प्रशासनिक केन्द्र, संस्कृति, शिक्षा, बुद्धि/विवेकको चिनियाँ धमनी हो– बेइजिङ नगर । यसको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र हिउँदमा सरदर तापक्रम १५ डिग्री सेल्सियससम्म रहने गर्छ ।
बिहान ६ बजे उठेर केही लेखेँ । नेपालमा रातको चार बजेको संकेत मोबाइलमा देखिन्थ्यो । आनन्दराम पौडेल र म उनकै कोठामा थियौं, उनलाई दिक्क नहोस् भनेर सतर्कतापूर्वक आफ्नो काम गरें । बिहान ७ः१५ मा बिहानको खाजा खान रेष्टुरेन्ट गयौं । बेलुका सुत्ने बेलामा नै भोक लागेको थियो । जहाजमा दिएको खानाले गोर्खाली पेट नभरिएझैं भएको थियो । बिहानै काठमाडौंबाटै ल्याएको सातु र पानी खाएर लेखपढ गरेको थिएँ । स्थानीय समयअनुसार ७ः३० मा क्यान्टिनमा खाजा खाइरहेका बेला किशोर श्रेष्ठ सदाझैं हाँस्दै टुप्लुक्क आइपुगे । ‘तपाईंंहरूभन्दा दुई घन्टा अगाडि बेइजिङ पुगेर स्वागत गर्न चिनियाँ साथीहरूसँग मूलद्वारमा उभिएर चक्मा दिने सोच जहाजको उडान ढिलो भएकाले पूरा हुन सकेन’ उनी आफ्नो योजना सुनाउँदै थिए । खाजा खाएर हामी तल ओल्र्यौं । किशोर श्रेष्ठले क्यान्टिनको द्वारतिर देखाउँदै ‘यहाँ तपाईंंहरूलाई उभ्याएर फोटो लिनुपर्यो भने त्यहाँ विद्युतीय अक्षरमा ‘नेपाल–चीन उच्चस्तरीय गोष्ठीमा पाल्नुभएका नेपाली पाहुनालाई स्वागत छ’ लेखिएको थियो । हामी जहाँ पुग्छौं, त्यहाँ त्यस्तै देखिन्थ्यो । मानिस प्रशंसाको भोको हुन्छ भन्छन् । मानिसलाई फुक्र्याउन चिनियाँ सिपालु रहेछन् । त्यसलाई स्वाभिमानबोध भनेर अथ्र्याउन पनि सकिएला । केहीबेर किशोर श्रेष्ठको कोठामा बस्यौं । उहाँको कोठामा पुग्नासाथ ‘संहिता’ र रवीन्द्र श्रेष्ठको ‘उदास शनिवार’ उपन्यास दिंदै ‘यो तपाईंले पढ्नुपर्ने’ भनेका थिए । पुस्तकको अन्तिम शीर्षकमात्र हेर्न बाँकी थियो । त्यहीं त्यसको बाँकी अंश पनि हेरें । ट्वाइलेटमा किशोर नेपालको पुस्तक पल्टाएर राखिएको थियो । किशोर श्रेष्ठ चर्पीमा बस्दाको समय पनि अध्ययनमा सदुपयोग गर्दारहेछन् ।
हामी गोष्ठीका लागि अर्को भवनतिर लाग्यौं । हिजो चञ्चले केटीजस्तो लाग्ने फिनिक्स औपचारिक पोसाकमा थिई । त्यहीं चन्द्रकिशोरसहित साथीहरू गोष्ठीतिर जाँदै थिए । ‘निहाउ फिनिक्स’ भनें । Oh, Chinese Language, Thank you भनी । चिनियाँ भाषा हाम्रो ओठमा सुन्दा क. वाङ झनै खुसी देखिन्थे । विदेश जाँदा त्यहाँको संस्कृति, परम्परा, मूल्य र भाषाको ज्ञान महत्वपूर्ण हुँदोरहेछ । हामीले केही चिनियाँ भाषाको शब्द कण्ठ गरेका थियौं । भाषाको सम्मानले मानिसले आफ्नो जातिलाई सम्मान गरेको ठान्दोरहेछ । त्यसले आफन्तीपनलाई बढाउँदोरहेछ । जनयुद्धकाल हरेक दिन नयाँ ठाउँ र जातिका थातथलोमा पुग्दा त्यस्तै हुन्थ्यो । त्यसैले त त्यसबेला खस समुदायबाट आएका नेताले जनजाति र जनजाति समुदायबाट आएका नेताले खस समुदायको व्यक्तिलाई कार्यालय सहयोगी बनाउने चलन नै थियो । चीन र फ्रान्स त आफ्नो भाषालाई औधी माया गर्ने स्वाभिमानी जाति मानिन्छन् ।
निर्धारित समयमा गोष्ठी सुरु गरियो । चिनियाँको शिष्टता अनुकरणीय थियो । छिमेकी भारतीयका तीता, टर्रा वचनले आजित हामीहरू चिनियाँली व्यवहारबाट प्रभावित थियौं । उत्तर र दक्षिणका छिमेकीको स्वभाव र शैली धेरै भिन्न छ । झन्डै एक वर्षअघि काठमाडौंको एउटा छलफलबाट फर्कंदै गर्दा तीर्थ कोइरालाले भनेका थिए, ‘भारतीय भएको भए अरूलाई बोल्नै दिने थिएनन्, चिनियाँ मोरा बोल्दै बोल्दैनन् ।’ नेपालीमा कथनै छ– धेरै बोल्ने चुक्छ ।
नेपाल र चीनको दौत्य सम्बन्ध २०१२ मा स्थापना भएको हो । तर, तिब्बत र नेपालको सम्बन्ध सयौं वर्ष पुरानो छ । नेपाल र तिब्बतको सम्बन्धमा चीनले मध्यस्थताको भूमिका खेल्थ्यो । बेलाबेलामा तिब्बतको तर्फबाट नेपालविरूद्ध चिनियाँ सेना युद्धमा सहभागी हुन्थे । एकपटक चिनियाँ सेना नेपाली सेनालाई धकेल्दै बेत्रावतीसम्म आएका थिए । ल्हासामा लामो समयसम्म नेपाली व्यापारीको प्रभुत्व नै थियो । तर, भारतमा अंग्रेजको आगमनपछि घट्दै गयो ।
महान् कलाकार अरनिकोले त्यो सम्बन्धलाई उत्कर्षमा पुर्याएका थिए । तिब्बतका शक्तिशाली सम्राट श्रङचङ गम्पोसँग अंशुबर्माकी छोरी भृकुटीको विवाह भएको थियो । चीनमा समेत आफ्नो प्रभाव विस्तार गरेका राजा गम्पोलाई छोरी सुम्पेपछि जन्तीविनाकी दुलही भृकुटीलाई नेपालीले रसुवागढीदेखि २२ किमि पर रहेको केरुङसम्म पुर्याएका थिए । केरुङलाई चिनियाँहरू ‘चेरुङ’ भन्ने गर्छन् । ल्हासाबाट आएका दुलाहाविनाका भोटे जन्तीले भृकुटीलाई ल्हासा दरबार पुर्याएका थिए । उनलाई राजकीय सम्मानसाथ भोटे दरबार भित्र्याइयो । भृकुटी नेपाल कहिल्यै फर्किनन् भनिन्छ । नेपालमा भृकुटीको विषयमा थुप्रै कविता, मिथक र लोककथा छन् । त्यसमध्ये ‘तिब्बतमा कुन बेला खेतीपाती गर्ने होला भनेर थाहा नपाएकी भृकुटीले आकाशमा कर्याङकुरुङ् चरा देखेपछि काँक्रा, फर्सी रोप्ने गरेको’ मिथक निकै लोकप्रिय छ । मालचरी चैत लागेपछि दक्षिणबाट उत्तरतिर हिमाल नाघेर जाने गर्छन् । घुमन्ते ती चरा र भृकुटीको मिथक रोचक छ । भृकुटीको तिब्बतमा उदयपछि तिब्बत हुँदै चीनमा बुद्ध धर्म र प्यागोडा शैलीको वास्तुकला व्यापक भएको मानिन्छ । सीमाक्षेत्रमा अहिले पनि विवाह चलिरहेको छ । सानजेन खर्कमा नेपाल र तिब्बतका गोठाला अहिलेसम्म सयौं वर्षदेखि सँगै भेडा चराइरहेका छन् । मेची–महाकालीसम्म सीमाक्षेत्रमा त्यही स्थिति छ ।
रेनमिन विश्वविद्यालयमा गोष्ठी थियो । यो चिनियाँ नीति निर्माता जनशक्ति उत्पादन गर्ने मुख्य विश्वविद्यालय मानिन्छ । यसलाई भारतको नेहरू विश्वविद्यालयसँग तुलना गरिन्छ । नेहरू विश्वविद्यालयमा अध्ययन गर्ने हरेक विद्यार्थी भारतपरस्त दिमाग बोकेर स्वदेश फर्कन्छन् भनिन्छ । त्यसैगरी रेनमिन विश्वविद्यालयलाई चीनको Think Tank उत्पादन गर्ने विश्वविद्यालय मानिन्छ । रेनमिन विश्वविद्यालयद्वारा प्रकाशित एउटा पुस्तकमा भनिएको छ । – RVC Vigouously Plays the swle of think tank to Provide Powerful intellectual Support for National Development तिनै बौद्धिक महारथीहरू गोष्ठीका मुख्य वक्ता थिए । अंग्रेजी र चिनियाँ भाषामा हाम्रो नामसहित कुर्सी मिलाएर राखिएका थिए । आ–आफ्नो स्थानमा सबै बस्यौं । आजको कार्यक्रममा विश्वविद्यालयकी उपप्रमुख मिस यि चिघेङ आयोजक संस्था उपमहासचिव चि पिङ र नेपाली टोली प्रमुख पूर्वशिक्षामन्त्री माधवप्रसाद पौडेलले आ–आफ्नो धारणा राखेका थिए । पौडेलले रेनमिन विश्वविद्यालयले नेपाली विद्यार्थीका लागि छात्रवृत्ति व्यवस्था गर्न सके जनस्तरमा सम्बन्ध विस्तार गर्न सहज हुने बताएका थिए । नेहरू विश्वविद्यालयले सालिन्दा १२ भन्दा बढी विद्यार्थीको Mindwash गरेर नेपाल पठाउँछ । चीनको तुलनामा कम सामरिक, आर्थिक स्वार्थ भएको पाकिस्तानले नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको छ । चीनले त्यसो किन नगरेको होला ? भन्ने जिज्ञासा सर्वत्र थियो । क्रान्ति निर्यातका लागि सोभियत संघले गरेको ठूलो व्यवहारबाट उसले फाइदा उठाउन नसकेको नजिरबाट चीनले पाठ सिकेको बताउनेहरू पनि छन् । तर, सोभियत संघको पतन पछाडि अरू नै कारण होलान् । बलियाले कमजोरलाई गर्ने सहयोगलाई मानवीय दृष्टिले पनि हेर्नुपर्छ ।
आँखाअगाडि कोही घाइते हुँदा देख्नेलाई समेत पीडानुभूति हुन्छ । मानिस र पशुबीचको भिन्नता नै त्यही हो । त्यसो हुँदैनथ्यो भने लु सुन डाक्टरी शिक्षाको विद्यार्थी जीवन छाडेर भोका–नांगा चिनियाँको पक्षमा कलमको हतियार बोकेर स्वदेश फर्कंदैनथे । उनले जनताको पक्षमा यति निर्ममतापूर्वक उत्रिए कि “विनयशीलता लेखनको सबैभन्दा ठूलो दुस्मन हो” भनेका थिए ।
नेपालीले अंग्रेजीमा बोल्नुपर्ने बाध्यता थियो । हाम्रो दोभाषे थिएन । न त नेपाली भाषाप्रति हामीमा त्यति संवेदनशिलता नै थियो । हाम्रा नेता भारतमा हिन्दी भाषामा बोल्छन् । तर, जनकपुर पुग्दा मैथिली भाषामा बोल्दैनन् । चिनियाँहरू भने औपचारिक कार्यक्रममा चिनियाँ भाषामै बोल्थे । फिनिक्सले त्यसलाई अनुवाद गर्थी । हरेक ठूला संस्थाले दोभाषे राख्दारहेछन् । नेपालमा त्यस्तो चलनै छैन भन्दा हुन्छ । हामीले देखेका छौं, जसले अर्काको भेष र आफ्नो भाषा अँगाल्यो उसको प्रगति भएको छ । भाषा र भेष दुवै अर्काको अँगालेका नेपालजस्ता देशको विनाशमात्रै भएको छ । गोष्ठीपछि रेनमिन विश्वविद्यालयको आँगनमा दुवै देशका सहभागीको सामूहिक फोटो लिइयो । उपहार आदान–प्रदान भए । किशोर श्रेष्ठ भन्दै थिए, ‘यिनीहरूले त उपहार नै उपहारले पुर्छन् नि ।’ चिनियाँहरू सानो उपहार पाउँदा पनि निकै खुसी हुँदारहेछन् । त्यसैले त उनीहरू अरूलाई पनि उपहारले पुर्छन् ।
हामी पुनः गोष्ठी स्थलतिर फर्कंदै थियौं, एउटा चोकमा माओ काका भेटिए । नेपालमा अध्यक्ष माओलाई ‘कोठीवाल काका’ भन्ने पनि चलन छ । किशोर सरले ‘ल्याउनुस् माओसँग बसेको तपाईंको फोटो लिइदिन्छु,’ मेरो क्यामेरा तान्दै भने । अध्यक्ष माओ कंक्रिटको वनमा ऋषिमुनिझैं पूर्णकदमा शान्त मुद्रामा उभिएर आफूले रोपेको समाजवादको बिरूवा नियाल्दै थिए । रसियन शासकले लेनिन र स्टालिनलाई जसरी बिर्से त्यसरी आजका चिनियाँले माओलाई बिर्सेका रहेनछन् भन्ने लाग्यो । रसियन नेताहरूले पछिल्लो समयमा ‘बाघको छालामा स्यालको रजाइँ’ भनेझैं गरेका थिए ।
फोटो खिचाएर फेरि गोष्ठीमा आयौं । गोष्ठी कक्षबाहिर ढोकाको आडमा बग्रेल्ती तयारी खाजा, फलफूल, चिया, कफी, पेयपदार्थ थिए । फिनिक्सले इच्छा भएमा खान सकिने जानकारी दिइन् । क. वाङले खाना खाने समय हुन लागेकाले धेरै नखाँदा राम्रो हुने बताएका थिए । अंग्रेजी भाषा नजाने पनि क. वाङले सबै भाषा र मनोविज्ञान बुझेझैं लाग्थ्यो । आजको गोष्ठी सकेपछि हामी विश्वविद्यालयकै हाताको होटलमा खाना खान गयौं । चिनियाँ खानामा मासु, साग र चाउचाउका परिकार धेरै थिए । खानाका लागि चीन विश्वमै प्रसिद्ध मानिन्छ । हाम्रो खानामा गाईको मासु र दारुपानी थिएन । कारण थाहा भएन ।
अपराह्न १४ बजे चीनको राष्ट्रिय टेलिभिजन ‘सिसी टीभी’ हेर्न गयौं । सो टेलिभिजनमा संख्यामा ४ हजार कर्मचारीमध्ये २ हजारभन्दा बढी महिला रहेछन् । त्यो पक्ष गर्व गर्नलायक थियो । ‘महिला सहभागितामा समाजवाद रहेछ’ मैले ठानें । हाम्रो टोलीमा सहभागी नेपाली महिला त्यो तवरले हर्षित देखिन्थे । मूलढोका र नियन्त्रणकक्षमा सतर्कतापूर्वक सेनाले पहरा दिइरहेका थिए । लाग्थ्यो– चीन सरकारले सञ्चारको महत्व र चुनौती राम्ररी बुझेको छ । संसारमा जहाँ पनि सत्ता विप्लव हुँदा सर्वप्रथम सूचना प्रणालीमै हमला गरिन्छ । रेडियो, दूरसञ्चार र टेलिभिजन निशानामा पर्छन् । सिसी टीभी.को त्यत्रो संवेदनशिलताबीचमा नेपाली अध्ययन भ्रमण टोली स्वतन्त्रतापूर्वक बालउद्यानमा झैं घुमफिर गरिरहेको थियो ।
चिनियाँ केन्द्रीय टेलिभिजनको अध्ययन भ्रमण सकेर हामी बासका लागि रेनमिन विश्वविद्यालयको होटलमा फक्र्याैं । चिनियाँ साँझ ६ बजे नै खाना खाँदारहेछन् । नेपालमा ४ मात्रै बजेको होला । जहाँ भर्खरै मेलामा अर्नी खाने बेला भएको थियो । ‘देशअनुसारको भेष’ भन्छन् ६ बजे नै बेलुकाको खाना खाएर होटल फक्र्यौं । साथीहरू किनमेलका लागि जाँदै थिए । हिजोको समेत निद्रा थियो । मोबाइलमा चिनियाँ सिम प्रयोग गर्ने सल्लाह भयो । तर, दुई हप्ता पूरै हराउने, मोबाइलको तनावबाट मुक्त रहने सोचका कारण त्यो झन्झटतिर लागिनँ । आतंकवादी चुनौतीका कारण चीनमा अन्तर्राष्ट्रिय फोन सेवामा निकै कडाइ गरेका रहेछन् । मलाई बेला–बेलामा राति निद्रा नलाग्ने र त्यसले दिउँसो हैरान पार्ने गर्छ । हिजो झिमिक्क नगरी रात बित्यो । राति तीन बजेमात्र हामी होटलमा पुगेका थियौं । कोठातिर लैजाँदै गर्दा किशोर श्रेष्ठले चीनस्थित नेपाली राजदूतावासले भ्रमण टोलीलाई २८ गते रात्रिभोजका लागि निमन्त्रणा गरेको जानकारी दिए । राजदूतावासको निमन्त्रणा भ्रमण टोलीका लागि खुसीकै विषय थियो ।
रेनमिन विश्वविद्यालय, बेइजिङ
२०७१, जेठ २६/९ जुन, २०१४