पञ्चायतविरोधी भनेर बर्खास्त गरिएका बानियाँलाई मदन पुरस्कार


 

म्याग्दीमा जन्मेर पोखरा बसोवास गर्दै आएका साहित्यकार चन्द्रप्रकाश बानियाँलाई महारानी उपन्यासका लागि मदन पुरस्कार गुठीले संवत् २०७६ को मदन पुरकार प्रदान गर्ने निर्णय गरेपछि म्याग्दीमा खुसियाली छाएको छ ।

गुठी बैठकले पुरस्कारका लागि अन्तिम सूचीमा परेका कृतिमध्ये ‘महारानी’ उपन्यासका लेखक बानियाँलाई पुरस्कार दिने निर्णय गरेसँगै बानियाँको गृहजिल्ला म्याग्दीमा खुसियाली छाएको हो । नेपालको प्रतिष्ठित पुरस्कार मानिएको मदन पुरस्कार पाउने बानियाँ साबिक धौलागिरि अञ्चलकै पहिलो व्यक्ति हुन् ।

साहित्यकार बानियाँको पृष्ठभूमि

साहित्यकार बानियाँको जन्म म्याग्दी जिल्लाको साबिक पुलाचौर–९, हाल : बेनी नगरपालिका–५ भिरमुनीमा २००७ चैत २५ गते भएको हो । बुवा हस्तदल बानियाँ र आमा नन्दकुमारी बानियाँका उनी कान्छा सुपुत्र हुन् । उनले विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङबाट एसएलसी र सरस्वती क्याम्पस, ठमेल, काठमाडौंबाट स्नातक गरेका छन् ।

संवत् ०२४ मा बालबोधिनी प्रावि भिरमुनीबाट शिक्षण सुरु गरी पौलस्त्य निमावि भिरमुनी, मुक्तिधाम मावि राखु भगवती र मंगला मावि बाबियाचौरमा अध्यापन गरेका थिए । अध्यापनकै सिलसिलामा शिक्षक आन्दोलनमा सशक्त भूमिका खेल्दै पञ्चायती व्यवस्थाको विरोधमा लागेका आरोपमा ०३६ मा उनलाई शिक्षकबाट बर्खास्त गरी सार्वजनिक अपराधको मुद्दा लगाइएको म्याग्दीका साहित्यकार तथा नाताले चन्द्रप्रकाश बानियाँका भाइ कृष्णबहादुर बानियाँले जानकारी गराए ।

त्यस समयको प्रशासनले माफी मागेर पञ्चायती व्यवस्थाको पक्षमा मत जाहेर गरेमा मुद्दा खारेज गरी शिक्षकमा पुनर्बहाली गरिदिने प्रलोभन देखाइएको भए पनि बानियाँले स्वीकार नगरेको कृष्णबहादुरले सुनाए । फलस्वरूप उनलाई लगातार १० वर्ष तारेख थमाइएको थियो ।

निजामती सेवा प्रवेश गर्ने चाहना राखेका उनले ०३४ र ०३५ मा दुईपटक लोकसेवा आयोगको लिखित परीक्षा पास गरे । योग्यताक्रममा दुई र पाँच नम्बरमा नाम निकाल्न सफल उनलाई पञ्चायत व्यवस्थाविरोधी भन्दै अन्तर्वार्तामा अनुत्तीर्ण गराइयो । उनले ०४० तिर तत्कालीन भूमिगत पार्टी नेकपा मालेको सम्पर्कमा रहेर ०४४ देखि संगठित सदस्यका रूपमा काम गरे ।सुरुमा ‘प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च’ र त्यसपछि ‘क्रान्तिकारी बुद्धिजीवी संघ’को अध्यक्ष भूमिका निर्वाह गरे ।

माक्र्सवादी सिद्धान्तका ज्ञाता उनले बुर्जुवा शिक्षा बहिष्कार नीतिको प्रभावले होला स्नातकोत्तर गर्न भने चाहेनन् । ०४६/४७ को जनआन्दोलनको पक्षमा उनी सक्रिय सहभागी थिए । त्यसपछि ०४८ मा सम्पन्न संसदीय निर्वाचनमा उनी म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा एमालेबाट उम्मेदवार भई विजयी भए । उनी संसद्मा ‘कवि सांसद’ को नामले पनि परिचित थिए । आफ्नो कमजोर स्वास्थ्य अवस्थाका साथै राजनीतिमा आफूलाई उपयुक्त पात्र नठानेको बताउने उनी संगठित राजनीतिबाट अलग भए ।

०५९ भदौ ५ मा तत्कालीन नेकपा माओवादीमा लागेको आरोपमा प्रशासनले गिरफ्तार गरी पटक–पटक नजरबन्दमा राख्यो । सर्वोच्च अदालतको आदेशबाट जेलमुक्त भएपछि ज्यानको सुरक्षामा खतरा देखिएको भन्दै उनस् ०६१ देखि सपरिवार काठमाडौंमा डेरावास थाले । उनको परिवारमा धर्मपत्नी मित्रकुमारी, छोरा प्रवीण र छोरी प्रमिला छन् । १० वर्षको काठमाडौं बसाइपछि पोखरामा कार्यरत छोरा डा. प्रवीण बानियाँको अनुरोधमा ०७१ देखि पोखरामा बस्न थालेका हुन् ।

चन्द्रकान्तको लेखनशैली पहिल्यैदेखि मीठो र स्तरीय हुने गरेको म्याग्दीका साहित्यकार बताउँछन् । तथापि उनले गहिरो अध्ययन अनुसन्धान र लेखन भने पोखराको बसाइपछि मात्र गर्न थालेको अर्का साहित्यकार कृष्ण बानियाँले जानकारी दिए । उनको ऐतिहासिक पर्वत राज्य, मृत्यु संस्कार : मन्थन नामक पुस्तक ०७५ मा प्रकाशित भयो ।

यसलगत्तै ०७६ मा महारानी ऐतिहासिक उपन्यास प्रकाशित भयो । दुवै कृति ‘शिखा बुक्स काठमाडौं’ले प्रकाशन गरेको हो । सोही प्रकाशनबाट निकट भविष्यमा ‘भौंज्याहा’ नामक निबन्धसंग्रह प्रकाशित हुन लागेको बानियाँले जानकारी दिए ।

‘महारानी’ उपन्यासका लागि ०७६ को मदन पुरस्कार पाएका चन्द्रप्रकाश बानियाँले आफूले यो पुरस्कार कल्पनै नगरेको बताए । आफूलाई साहित्यकारसमेत भन्न नरुचाउने बानियाँले आफ्नो उपन्यास पुरस्कृत भएको खबरले निकै खुसी भएको प्रतिक्रिया दिए । उनले भने, ‘म साहित्यकार पनि होइन, मेरो उपन्यासले मदन पुरस्कार पाउँला भनेर कल्पनासम्म पनि मैले गरेको थिइनँ ।’

के छ महारानी उपन्यासमा ?

महारानी उपन्यास तत्कालीन पर्वत राज्यको साङ्गोपाङ्गो वर्णनको दस्तावेज हो । महारानी उपन्यासमा तत्कालीन चौबीसे राज्यअन्तर्गत पर्वत राज्यको कथा समेटिएको छ । तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनीमा थियो । त्यतिबेलै बेनीमा एउटा देवीको मन्दिर बनाइएको किंवदन्ती छ । ती देवीलाई अहिले पनि महारानी भनेर पूजा गर्ने चलन रहेको छ ।

पर्वत राज्यको इतिहास, यहाँका अनेकन किंवदन्ती, त्यतिबेलाको संस्कृति, भाषा, कला र बेनीमा रहेको महारानी देवीको मन्दिरलगायतका विषयवस्तु यस उपन्यासमा उठान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्