पूर्वप्रधानपञ्चको सम्झनामा मेयर बिमला राई


 

स्थानीय तह सदस्य निर्वाचनको दिन अर्थात् २०७९ वैशाख ३० गते च्यास्मिटारवासी मतदान गर्न च्यास्मिटार माध्यमिक विद्यालय च्यास्मिटारमा लामबद्ध थिए । सोही लहरमा पंक्तिकारले हलेसी तुवाचुुङ नगरपालिकाको मेयरका उम्मेदवार बिमला राईका बुवा दानबहादुर राई र आमा गंगाकुमारी राईलाई भेट्ने प्रयास गरे । तर, भेट्टाउन सकिएन ।

चिनेजानेकाले दानबहादुर राई र गंगाकुमारी राईलाई मतदान स्थलमा नदेखेको बताएपछि पीपलटार (पूर्वउपमेयर बिमला राईको गाउँ) पुग्ने जाँगर चलायौंं । कहिल्यै नपुगेको ठाउँ । सोधिखोजी गर्दै पत्रकार नवीन चाम्लिङ राई र पंक्तिकार पीपलटारतिर सोझिए । मतदान स्थलबाट पीपलटार पुग्न मोटरसाइकलमा १० मिनेट लाग्दोरहेछ । पूर्वउपमेयर बिमला राईको घर पुग्यौं । उनका बुवाआमा घरमा भेटिएनन् । कान्छी बुहारीले सासूससुरा मतदान गर्न च्यास्मिटार गएको जानकारी गराइन् । परेन त फसाद ।

हामी पुनः च्यास्मिटार फक्र्यौ । मतदान स्थलनजिकै लेक्चर शैलेश चाम्लिङ भेटिए । चाम्लिङको सहायतामा ईश्वरकुमारी राई (दानबहादुर राईकी जेठी छोरी)को घर पुग्यौं । जहाँ दानबहादुर राई र गंगाकुमारी राई भेटिए ।

राईद्वयलाई भेटेको पाँच दिनपछि बिमला राई हलेसी तुवाचुुङ नगरपालिकाको मेयरमा निर्वाचित भइन् ।

दानबहादुर राई

‘अहो, मेरो साँइली छोरी बिमला त छोरासरह काम गर्थिन्,’ दानबहादुर राई (८०)ले बाल्यकालकी छोरी बिमला राईलाई सम्झने प्रयत्न गरे, ‘किसान परिवारको घरमा गर्नुपर्ने सबै काम गर्थिन् ।’

त्यो भनेको ?

‘खनजोत, घाँस–दाउरा, गोठाला, खेतालालगायत सबै–सबै,’ पंक्तिकारको प्रश्नको जवाफ दिँदै बुवाले छोरीको प्रशंसा गरे, ‘दस पास गरेपछि अहेब पढ्न ओखलढुंगा पुग्यो । त्यसपछि पढाइमै ध्यान दिन थाल्यो । उनको पढाइ पनि राम्रो थियो । भयो । अहेब पास गरेपछि दिक्तेल पढ्न थाल्यो ।’

छोरीको प्रगति देख्दा सुन्दा पूर्वप्रधानपञ्च राईलाई सन्तोक लागेको छ । ‘आफू प्रधानपञ्च भएकोभन्दा छोरी उपमेयर हुँदै मेयर भएकोमा सबैभन्दा बढी खुसी लागेको छ,’ कुराकानीको पुछारमा उनले खुसी व्यक्त गरे, ‘मैले राजनीति छाडें । छोरा देवेन्द्रले पनि छोड्यो । तर, छोरीले मेरो बिँडो थाम्ने भइन् ।’

गंगाकुमारी राई

दानबहादुर राईसँगै गंगाकुमारी राई भेटिइन् । गंगाकुमारी राई (७७) मेयर बिमला राईकी आमा हुन् । आमाले छोरीको प्रशंसा गरिन्, ‘सबै–सबै काम गरे पनि छोरीले आमासँग सम्बन्धित काम गर्न धेरै सघाउँथिन् ।’

जस्तै ?

मेयर बिमला राईको माइतीघर ।

‘जाँतो पिँध्ने । ढिकी कुट्ने । हलो जोत्ने । यस्तै–यस्तै,’ आमाले थपिन्, ‘काम गर्न अल्छी नगर्ने । रिस पनि कडै थियो ।’

आमाबुवापछि मेयर बिमला राईकी ठुल्दिदी ईश्वरकुमारी राईलाई बहिनीबारे सम्झन अनुरोध गर्यौं । ‘म चार बहिनीमध्ये सबैभन्दा सोझी,’ ईश्वरकुमारी राईले सुनाइन्, ‘तर, बिमला असाध्यै बाठी । त्यत्तिकै चलाख । जुनसुकै काममा हात हाल्ने । मचाहिँ बिहानदेखि बेलुकासम्म काममात्रै गर्ने । ऊचाहिँ चौतर्फी देख्ने । हेर्ने ।’

ईश्वरकुमारी राई

पूर्वप्रधानपञ्च दानबहादुर राईको राजनीतिक बिँडो थाम्ने मेयर बिमला राईमात्रै देखिइन् । बाबाको बिँडो थामेकोमा बहिनीभन्दा आफूहरू धेरै खुसी रहेको ईश्वरकुमारी राईले जानकारी गराइन् । छोरीको प्रगतिमा दानबहादुर राई, गंगाकुमारी राईलगायत सपरिवार त्यत्तिकै हर्षित छन् ।

प्रतिक्रिया दिनुहोस्