दिक्तेलमा मुख्यमन्त्री शेरधन राईको २४ घन्टा


मुख्यमन्त्री शेरधन राई

दिक्तेल (खोटाङ) । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार १ सय ६५ वटा सडकको एकसाथ उद्घाटन गर्दै गर्दा मुख्यमन्त्री शेरधन राई भने दिक्तेलमा हुनेछन् ।

भोजपुरमा रहेका १ नम्बर प्रदेश मुख्यमन्त्री राई शनिबार बिहान १० बजे खोटाङ सदरमुकाम दिक्तेल आइपुग्नेछन् । बिहान ७ बजे भोजपुरबाट प्रस्थान गर्ने उनी तीन घन्टाको यात्रामा दिक्तेल आइपुग्नेछन् ।

दिक्तेल आइपुगेपछि मुख्यमन्त्रीलगायतले होटल शुभदिनमा खाना लिनेछन् । खाना लिएपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा निर्मित कम्पोस्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्र उद्घाटन गर्नेछन् । कार्यक्रम सकिएपछि मुख्यमन्त्री होटल इन्द्रेणी पुग्नेछन् । उनी दिक्तेलमा रहेको होटल इन्द्रेणीमा शनिबार बास बस्नेछन् ।

आइतबार अर्थात् चैत २२ गते बिहान नेकपा (एमाले) खोटाङले स्वागत कार्यक्रम राखेको छ । स्वागत कार्यक्रममा मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री उषाकला राई, प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, संविधानसभा पूर्वसदस्य पीके राईलगायत नेता सरिक हुनेछन् ।

नेकपा एमाले प्रमुख सचेतक विशाल भट्टराई

स्वागत कार्यक्रमपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा पुग्ने कार्यक्रम तय भएको छ । मुख्यमन्त्रीलगायतका पाहुनाले बुइपामा खाना खाएर हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीमा आयोजित कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका उपप्रमुख वीणादेवी राईले जानकारी गराइन् ।

सामाजिक विकासमन्त्री उषाकला राई

यसैगरी, सामाजिक विकासमन्त्री उषाकला राई भने शुक्रबार बेलुका नै दिक्तेल आइपुगेकी थिइन् । मन्त्री राई शुक्रबार होटल शुभदिनमा बसेकी थिइन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाले राखेको स्वागत कार्यक्रममा मन्त्री राईले उपहारस्वरूप आल्चाको तीनपाने रक्सी पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्