बतासे (खोटाङ) । घर–घरै पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाउँछन् । उनीहरूले फेरी लगाउँदा घरको रक्षा हुन्छ । भुतप्रेत भाग्ने विश्वास गरिन्छ । सालिन्दा दुईपटक अर्थात् कात्तिक र चैतमा जोगीले घर–घरै पुगेर मन्त्र जप्दै रातभर शंख (बराँठको सिङ) बजाएर फेरी लगाउँछन् ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका १९ घर जोगी समुदायले धार्मिक आस्थासँग जोडिएको फेरी लगाउने परम्परागत पेसालाई निरन्तरता दिँदै आएका छन् । फेरी लगाउने जोगीलाई फेरी लगाइएको घरधनीले चामल, धान, बेसार, तरकारी, नुन, तेल, घ्युलगायत खाद्यान्न तथा पैसासमेत भिक्षा दिने चलन छ । रातको समयमा फेरी लगाउँदै गाउँ, सहर डुल्ने अनि उज्यालो भएपछि तिनै घरबाट अन्न, नुन, तेल र दक्षिणा संकलन गरी जोगी समुदायले जीविकोपार्जन गर्दै आएका छन् ।
फेरी लगाएर मन्त्र जप्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने खोटाङवासीमा जनविश्वास छ । बतासेका ६३ वर्षीय तीर्थबहादुर जोगी ४४ वर्षदेखि जिल्लावासीको शान्तिको कामनासहित फेरी लगाउन सक्रिय छन् । जोगीका दुई छोरा पनि यही पेसामा छन् । उनीहरू फेरी लगाउन जिल्लाका विभिन्न स्थानीय तह तथा भोजपुर र उदयपुरको गाईघाटसम्म पुग्छन् ।
तीर्थबहादुर जोगीका बाउछोराजस्तै बतासेका १९ घरका जोगी समुदाय फेरी लगाउने पेसामै आबद्ध छन् । बतासेमा भारती, गजुरनती र रिदनती थरका जोगी समुदायको बसोवास छ । बतासेका जोगीले आफूहरूलाई ‘गुरु गोरखनाथ’को चेलाका रूपमा चिनाउँछन् ।
तीर्थबहादुरको जेठा छोरा कैलाश जोगी दिक्तेल बजारआसपासका क्षेत्र र कान्छा शंकर जोगी उदयपुरको गाईघाटसम्म पुगेर फेरी लगाउँछन् ।
जोगी समुदायले फेरी लगाउने भूगोलसमेत निर्धारण गरेका छन् । आफ्नो वंशले गर्दै आएको क्षेत्रमा सोही वंशका व्यक्तिले मात्र फेरी लगाउने चलन रहेको बतासेका लाखबहादुर जोगी (५०)ले जानकारी गराए । संवत् २००७ देखि ०३७ सम्म ठेक्कामार्फत फेरी लगाउने चलन थियो,’ उनले सुनाए, ‘अहिले ठेक्का प्रणालीमार्फत फेरी लगाउने चलन हटेको छ । जोगी समुदायबीचमै आपसी समझदारीमा क्षेत्र निर्धारण गरेर फेरी लगाइन्छ ।’
फेरी लगाएमा घरको रक्षा हुने, भूतप्रेत नलाग्ने जनविश्वासका कारण आफूहरूलाई फोनमार्फत समेत स्थानीयले आफ्नो गाउँठाउँ आउन आग्रह गर्ने गरेको तीर्थबहादुर जोगीले बताए । ‘धार्मिक आस्थासँगै जोडिएको फेरी लगाउने परम्परा हामीले निरन्तरता दिँदै आए पनि अहिलेसम्म राज्यबाट संरक्षण तथा प्रवद्र्धन भएको छैन,’ उनले दुःखेसो पोखे, ‘युवा पुस्ताले भने फेरी लगाउन चासो देखाएका छैनन् । यसलाई संरक्षण र प्रवद्र्धन गर्न सम्बन्धित निकायले चासो दिनुपर्ने बेला भएको छ ।’
युवा पुस्ताले चासो नदेखाउँदा पुख्र्यौली परम्परा कसले बचाउला भनेर जोगी समुदायका पुर्खा चिन्ता व्यक्त गर्छन् । वैदेशिक रोजगारीका कारण जोगी समुदायका युवा पुस्तासमेत बिदेसिन थालेका छन् । फेरी लगाएर वर्षभरि खान पुग्ने अन्न जोहो गर्ने उनीहरूको पुख्र्यौली पेसा एकादेशको कथा बन्ने खतरा बढेको बतासेका वडाध्यक्ष लोकेन्द्र राईले बताए । ‘बतासेका जोगी समुदायलाई राज्यबाट अहिलेसम्म केही गर्न सकिएको छैन,’ वडाध्यक्ष राईको भनाइ छ, ‘बतासेका नौ भाइ युवा विदेशमा छन् । फेरी लगाउँदाभन्दा विदेशमा राम्रो कमाइ हुने भएकाले अन्य युवा पनि बिदेसिने सम्भावना बढेको छ ।’
जोगी समुदायका प्रत्येक पुरुषले जीवनमा एकपटक अनिवार्य फेरी लगाएर हिँड्नुपर्ने परम्परागत मान्यता रहेको बतासेकै धनकुमार जोगी (३१)ले जानकारी गराए । ‘हाम्रो पुख्र्यौली पेसा भनेकै फेरी लगाउने हो,’ उनले थपे, ‘आफ्नो परम्परादेखि चल्दै आएको पुख्र्यौली पेसा संरक्षण गर्नकै लागि भए पनि सालिन्दा दुईपटक गाउँ–गाउँ पुगेर फेरी लगाउने गरेको छु ।’
फेरी लगाउने जोगीले कात्तिक वा चैतमा एकपटक फेरी लगाउँदा एक लाख रुपैयाँ र खाद्यसामग्री संकलन गर्छन् । रातको समयमा फेरी लगाउनुपर्ने हुँदा उनीहरूलाई स्वास्थ्यमा समस्या आउने गर्छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्रकुमार राईले फेरी लगाएरमात्रै जोगी समुदायको अवस्था उकासिन नसक्ने दाबी गरे । ‘फेरी लगाउने जोगीलाई अन्य माध्यमबाट आर्थिक, सामाजिक र शैक्षिक स्तरमा सबल बनाउन आवश्यक छ,’ गाउँपालिका प्रमुख राईले भने, ‘लोप हुन लागेको जोगीको फेरी लगाउने पेसा संरक्षण तथा प्रवद्र्धन गर्न गाउँपालिकाले विशेष पहल गर्नेछ ।’
रातिमात्र फेरी लगाउने जोगी प्रत्येक घर पुगेर चार सुर र मूल ढोकामा उभिएर शंख बजाउँदै मन्त्र जप्छन् । फेरी लगाउँदा कसैसँग बोल्दैनन् । तर, फेरी लगाइसकेपछि सम्बन्धित घरधनीले ढोका खोलिदिएमा उनीहरूको घरभित्रसमेत पसेर मन्त्र जप्दै शंख बजाउँछन् ।
जोगीले धिमाल समुदायको घरमा भने फेरी लगाउँदैनन् । भिक्षा अर्थात् दान–दक्षिणासमेत लिँदैनन् । धिमाल र जोगीको गोत्र मिल्ने भएकाले फेरी नलगाइएको तीर्थबहादुर जोगीले रहस्य खोले । फेरी लगाउने जोगीले दस झोली बोक्छन् । बाह्रपन्थे जोगीको १२ झोलीमध्ये एउटा बाहुन र एउटा सन्यासीलाई दिइएकाले आफूहरूसँग दसवटा मात्रै झोली रहेको जोगी समुदाय बताउँछन् ।
जिल्लाका हलेसी, अर्खौले र चिसापानीमा जोगी समुदायको बसोवास छ । बतासेबाहेक अन्य ठाउँका जोगी समुदायले फेरी लगाउने पेसा छाडिसकेको बताइन्छ ।