दाम्लीमा वडा कार्यालय राख्न भाँजो हाले वडाध्यक्षलाई काँग्रेसबाटै निष्कासन गरिनुपर्ने


संवत् २०७९ असोज १७ गते बेलुका ६ बजेसम्म दसैंमा घर नजाने सोचमा थिएँ । अकस्मात् मिलन कान्छा किराती दाइले टेलिफोन गरे । दाइले सोनाम भाइ ‘भोलि दाम्ली जाऊँ है’ भने । म तपाईंको बुहारी शान्ताजीसँग सल्लाह गर्छु है दाइ भनें । ‘सकभर जाने निर्णय गर्नू नि भाइ । हामी जाँदा फाइदै हुन्छ,’ दाइको प्रस्ताव थियो, ‘वडा कार्यालयलाई दिने जग्गाबारे छलफल पनि गरौं । धनीपुर्जा हेरौं । योचाहिँ जग्गा हो भनेर चिनाऊँ । त्यति काम गर्न सके अरू बेला घर गइरहन पर्दैन ।’

मिलन दाइको प्रस्ताव शान्ताजीलाई सविस्तार सुनाएँ । सामाजिक काममा हात बाँधेर बस्नुहुँदैन जानैपर्छ भन्ने शान्ताजीले सुझाइन् । मैले पनि जाँगर चलाउनैपर्ने भयो । घर जान भेट्न ठाउँ टुंगो लगाउन दाइलाई टेलिफोन गरें । भक्तपुरको नयाँठिमी चोकमा रहेको प्रभु बैंकअघि भेट्ने सल्लाह भयो । बिहान ६ बजे उपत्यका छोडौं है भन्ने सल्लाहअनुसार तोकिएको समयमै नयाँठिमी चोक पुगें । चोक सुनसान थियोे । नवमीको दिन परेकाले मानिस पूजासामग्री बोकेर मन्दिर जाँदै गरेका देखिन्थे ।

तोकिएको समयभन्दा ४५ मिनेट ढिला दाइ एप्रिला स्कुटरमा आइपुगे । मनमा शंका–उपशंका छँदै थियोे । इटालियन एप्रिला स्कुटर तीव्र गतिमा गुड्ने भएकाले दिउँसो ३ बजे डिकुवा पुगिने दाइको अनुमान थियो । एप्रिला साँच्चिकै एप्रिला नै रहेछ । स्कुटरले अप्रिल १ जस्तो होइन रहेछ । गाउँको कच्ची बाटो । त्यसमाथि पानी परेर हिलाम्मे । लगभग दस किलोमिटर कच्ची बाटो ओहोर–दोहोर गर्दा असहज भएन ।

हामी गाउँ पुग्दा सबै अचम्मित भए । टीकाको दिन हामी दाजुभाइ बिहान ७ बजे भेट्यौं । दाइले भनेझैं हामीले वडा कार्यालय भवन निर्माणार्थ दिन लागेको जग्गा धनीपुर्जाअनुसार कित्ता नम्बर ५० को जग्गा हेर्यौं। प्रेमसरी राई, रन्जित राई, अम्बसेर राई, मिलन कान्छा किराती र पंक्तिकार जग्गामै पुग्यौं ।

मेरो तिप्पा कमल राई, तिम्मा बलपरी राईको छोरा जीवराज राई मलेसियामा छन् । भएको सल्लाहअनुसार दाइको ठूलो टारबारीमुनि पश्चिम दिशामा कान्छा काका नहलकुमार राई र विष्णुमाया राईको जग्गासहित रन्जित राईको ठूलो टारबारीमाथिको जग्गासमेत हेर्यौं । अनुमानित तीन रोपनी जग्गा वडालाई दिन गरिएको प्रतिबद्धताअनुसार सो जग्गा वडा कार्यालयलाई दिने निवेदन पेस गरिसकिएको थियो । वडा कार्यालय भवन निर्माणार्थ साबिक डिकुवा गाउँ विकास समितिको ४ र ५ नम्बर वडावासीका नौवटा निवेदन परेको रहेछ । त्यसमध्ये सडक र विद्युत् पुगेको जग्गा एउटामात्र रहेछ । त्यो जग्गा धनसुन्दर राईका तीन छोरा प्रेमसुन्दर राई, चिरञ्जीवी राई र सरोज राईको हो ।तुलनात्मक रूपमा सो जग्गा सबैभन्दा उत्तम देखियो । सो जग्गाकै साँधमा स्वास्थ्यचौकीको नाममा धनसुन्दर राईले सात रोपनी जग्गा १० वर्षपहिल्यै पास गरिसकेका थिए । त्यही जग्गाको सात सय मिटर पश्चिमतिर दाम्ली माध्यमिक विद्यालय रहेको छ ।

स्वास्थ्यचौकी भवनको जग्गासँगै जोडिएको ५० नम्बर कित्ताको जग्गा आइबहादुर राईका रन्जित राई, नहलकुमार राई र जीवराज राईको हो । जग्गादाता र गाउँलेबीचको भेटघाट छलफलले सो जग्गा वडा कार्यालय भवन निर्माणार्थ उपलब्ध गराउने पक्कापक्की भयो ।

वडा कार्यालयलाई जग्गा उपलब्ध गराउन इच्छुकले ०७९ भदौ २१ देखि २८ गतेसम्म निवेदन दिनुपथ्र्याे । निवदेन परेपछि वडा कार्यसमितिको बैठक दुईपटक बसिसकेको बताइन्छ । तर, जग्गाबारे कसैले केही नबोलेको तात्कालिक वडासचिव नारायण आचार्यले टेलिफोनमा सुनाए । तात्कालिक वडासचिव आचार्यका अनुसार अब वडाध्यक्ष र वडासदस्यसहितको जग्गा छनोट समिति बन्छ । समितिले जग्गा छनोट गरी वडा कार्यालयको नाममा जग्गा पास गर्नेछ ।

तर, वडा कार्यालयलाई दिने जग्गादाता भने सशंकित छन् । जग्गादातालाई बेमेल गराउन वडाध्यक्ष देवेन्द्र राई सक्रिय रहेको डिकुवा कांग्रेस सदस्य हरिकुमार राई बताउँछन् । राई भन्छन्, ‘म यस्तो गतिविधिको निरन्तर विरोध गर्दै आएको छु । मैले नगरपालिकामा समेत यो कुरा राखिरहेकै छु । वडाध्यक्ष राईले वडा कार्यालय भवन निर्माणार्थ जग्गा उपलब्ध गराउन वडावासीलाई स्वतन्त्र छोडिदेओस् भनिरहेको छु । मेरो प्रस्तावप्रति नगरपालिका सकारात्मक रहेको पाएको छु ।’

‘डिकुवा वडाध्यक्ष देवेन्द्र राईले जग्गादाताबीच बेमेल गराउन न्वारानदेखिको बल लगाएकोप्रति मेरो आपत्ति छ,’ डिकुवा कांग्रेस सदस्य राईले थपे, ‘त्यस्तो काम गरे उनलाई कांग्र्रेसमा रहने नैतिकता रहँदैन । कांग्रेस पार्टी सदस्यबाट सदाका लागि बर्खास्त गर्नुपर्छ ।’

जग्गादातामध्येबाट उपयुक्त जग्गा छनोट गरी वडा कार्यालय भवन निर्माण गर्न जग्गादाताले माग गर्दै आएका छन् । युवा उद्यमी मिलन कान्छा किरातीको भनाइ पनि त्यही हो । दाम्ली माविका भूपू प्रधानाध्यापक अमृत राई पनि किरातीसँग सहमत छन् ।

हामीले असोज १९ गते दिनभर दसैं भेटघाटमा व्यस्त रह्यौं । सामाजिक विषयमा छलफल र केही महत्वपूर्ण निष्कर्ष निकाल्यौ । पंक्तिकारले आदरणीय गुरु अमृत राईसँग लामै कुराकानी गरे ।

पंक्तिकारको व्यक्तिगत विचारमा डिकुवा वडाध्यक्ष देवेन्द्र राईले जे भनेर निर्वाचनताका दाम्लीवासीको मत पाए, त्यसलाई इमानदारीपूर्वक वडा कार्यालय भवन दाम्लीमै निर्माण गर्न उदार हुनुपर्छ । हुनेछन् भन्नेमा ढुक्क हुँदै हामी असोज २० गते बेलुका काठमाडौ फक्र्यौं । दाइले बाटोभरि समाजवादबारे आफ्नो अध्ययनको निचोड सुनाए । पंक्तिकारलाई राजनीतिप्रति बढ्दै गएको दूरीबारे दाइले जिज्ञासा राखे ।

सबै तस्बिर : सोनाम सज्जन किराती

प्रतिक्रिया दिनुहोस्