अमेरिका बस्ने अवसर त्यागेका चाम्लिङलाई माओवादी केन्द्र नगर अध्यक्षको जिम्मेवारी



दुर्छिम (खोटाङ) । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) हलेसी तुवाचुङ नगरपालिका नगर कमिटी अध्यक्षमा राजुविक्रम चाम्लिङ सर्वसम्मत चयन भएका छन् । नगर सम्मेलन आयोजक कमिटी अध्यक्षसमेत रहेका चाम्लिङलाई पहिलो नगर सम्मेलनले अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा रहेको दुर्छिम माध्यमिक विद्यालयमा भएको सम्मेलनले ६५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सम्मेलनले चयन गरेको नगर कमिटी उपाध्यक्षमा क्रमशः प्रदीप माइला राई (दुर्छिम), प्रमोद गिरी (महादेवस्थान) र कण्ठ कार्की, सचिवमा रमिला बस्नेत (महादेवस्थान), सहसचिवमा गन राई (मंगलटार) र कोषाध्यक्षमा अमिनकाजी राई (धितुङ) सर्वसम्मत चयन भएका हुन् ।

६५ सदस्यीय कमिटीमध्ये सात पदाधिकारी, २१ सचिवालय सदस्य र बाँकी सदस्य रहनेछन् । सातमध्ये अध्यक्ष (१), उपाध्यक्ष (३), सचिव (१), सहसचिव (१) र कोषाध्यक्ष (१) रहेका छन् ।

को हुन् राजुविक्रम चाम्लिङ ?

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नगर कमिटी अध्यक्ष राजुविक्रम चाम्लिङ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम गणेशटारवासी हुन् । अध्यक्ष चाम्लिङले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर (एमए) गरेका छन् ।

अंग्रेजी विषयमा स्नातक (बीए) गरेका उनी अमेरिकामा बस्न पाउने अवसर र आईएनजीओको लोभलाग्दो जागिर त्यागेर राजनीतिमा समर्पित छन् । उनले २०७८ भदौ २३ देखि माओवादी केन्द्र, हलेसी तुवाचुङ नगरपालिका नगर सम्मेलन आयोजक कमिटी अध्यक्षको जिम्मेवारी पाएका थिए ।

‘प्रतिगमन परास्त गर्दै समाजवादका लागि हाम्रो आन्दोलन, नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्न प्रथम नगर सम्मेलन’ भन्ने मूल नारासहित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) हलेसी तुवाचुङ नगरपालिका नगर समितिको प्रथम सम्मेलनमा विभिन्न राजनीतिक दलका नेताले शुभकामना व्यक्त गरेका थिए ।

नेकपा (एकीकृत समाजवादी) खोटाङ उपाध्यक्ष अकिल राई, जनता समाजवादी पार्टी नगर अध्यक्ष मविन्द्र चाम्लिङ राई, नेकपा (एकीकृत समाजवादी) हलेसी तुवाचुङ नगरपालिका अध्यक्ष मकर राई, नेपाली काँग्रेस हलेसी तुवाचुङ नगर कार्यसमिति सचिव कमल गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेशसभा सदस्य पेसल बस्नेतलगायतका नेताले शुभकामना व्यक्त गरेका हुन् ।

काँग्रेस परित्याग गरी माओवादी केन्द्रमा

नगर सम्मेलनकै अवसरमा हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडाका सन्तोष कार्की ‘क’, एलबी कार्की, चित्रबहादुर कार्की र सन्तोष कार्की ‘ख’ काँग्रेस परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

शनिबार बिहान १० बजेबाट सुरु नगर सम्मेलन राति ७ः३० बजे सम्पन्न भएको थियो ।

जिल्लाका १० वटै पालिकामा नेकपा माओवादी केन्द्रको पालिकास्तरीय कमिटी सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्