नेपालकै अग्लो चिया हेर्न डेनमार्कबाट इलाम


तस्बिर सौजन्य : दीनराज निरौला

सूर्योदयको जिल्ला भनेर चिनिने इलामलाई पहाडकी रानीसमेत भन्ने गरिन्छ । इलामको सुन्दरता चियासँग समेत जोडिएको छ ।

इलाममा उत्पादित चिया विश्वप्रसिद्ध मानिन्छ । भीरपाखामा समेत पैसा फलाउने इलाममा चियासँग सम्बन्धित ऐतिहासिक उदाहरणहरू भेटिन्छन् । त्यसमध्ये एक हो– करफोक विद्यामन्दिर माध्यमिक विद्यालय पञ्चकन्या इलाममा रहेको चियाको बोट ।

करफोक विद्यामन्दिर मावि प्रांगणको उत्तर–पश्चिममा रोपिएको चिया नेपालकै अग्लो भनेर दाबी गरिएको छ । चिया विस्तार योजना फिक्कल इलामका कृषि प्राविधिक विवेक भण्डारी भन्छन्, ‘हामीले नेपालका पुराना चियाका बोट अध्ययन र संरक्षण गर्दै आएका छौं । रोपिएकामध्ये करफोकको चियाको बोट अग्लो हुन सक्छ । अध्ययन जारी भएकाले नेपालकै अग्लो हो भनेर अहिले नै भन्न सकिँदैन ।’ कार्यालयबाहिर भएकाले चिया बोटको उचाइ भण्डारीले भन्न सकेनन् ।

करफोक विद्यामन्दिर माविले भने नेपालकै अग्लो चिया भनेर प्रचार–प्रसार गर्दै आएको छ । यसो भन्न थालिएपछि चियासँग सम्बन्धित इलाम आइपुग्दा चियाको बोट हेर्न करफोक आउने करफोक विद्यामन्दिर मावि प्रधानाध्यापक दीनराज निरौलाले बताए । प्रधानाध्यापक निरौलाले थपे, ‘केही समयअघि स्थानीय उदय चापागाईंले डेनमार्कका नागरिकलाई चियाको बोट देखाउन ल्याएका थिए । चियाको बोट हेर्न स्वदेशीमात्रै होइन, विदेशीसमेत आउने गरेका छन् ।’

रानी ऐश्वर्याले रोपेको चिया । तस्बिर : दीपेन्द्र राई

नेपालकै अग्लो चिया भनेर प्रचार–प्रसारपछि चिया विस्तार योजना फिक्कलले सो चियाको बोट संरक्षणका लागि घेराबारा गरेको कृषि प्राविधिक भण्डारीले जानकारी गराए । उनले सुनाए, ‘घेराबारापछि सो चियाको केही हाँगाबिँगा काटेर रिबनले बाँधेका छौं । हाँगाबिँगा काटेको ठाउँमा नयाँ टुसा अंकुरण भएपछि नर्सरीमा सार्ने योजना छ । नर्सरी विकसित भएपछि चियाखेती गरिनेछ । त्यसपछि सो चियाको गुणस्तर मापन गर्न सकिन्छ ।’

उत्पादित चियाको नाम ‘करफोर चिया’ राख्ने योजना रहेको प्रअ निरौलाको भनाइ छ ।

ऐतिहासिक बन्दै गएको सो चियाको बोट स्वर्गीय रानी ऐश्वर्यले रोपेकी हुन् । ‘मैले पनि अरूबाट यही सुनेको हुँ,’ निरौलाले प्रस्ट्याए, ‘कन्याम चिया बगान उद्घाटन गर्न इलाम आएका बखत स्व. रानीको हातबाट यो चिया रोपिएको ।’ मावि प्रांगणमा राजा वीरेन्द्र र रानी ऐश्वर्यमध्ये राजाले रोपेको चिया नसरेको सोही माविमा अध्यापनरत देवी वाशिष्टले सुनाए ।

रानीले त्यतिबेला रोपको चिया हिजोआज नेपालकै अग्लो चिया भन्न थालिएको छ । रानीले रोपेको चिया काँटछाँट गरिएन, चिया पनि टिपिएन । करफोक विद्यामन्दिर माविकी पूर्वविद्यार्थी सुमित्रा राईको बुझाइ छ, ‘ऐतिहासिक बनाउन त्यसो गरिएको हुन सक्छ ।’

रानीले रोपेको चियाको बोट हेर्दा/देख्दा माविमा अध्ययनरत विद्यार्थी, अध्यापनरत शिक्षक र अभिभावकलाई जेठ १९ ले झस्काउँछ । संवत् २०५८ जेठ १९ गते अकल्पनीय दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो ।

प्रतिक्रिया दिनुहोस्