धारापूजा पानीसम्बन्धी किराती लोककथा



उहिले–उहिले किराती गाउँहरूमा ठूलो खडेरी लाग्यो । खडेरी लाग्दै जाँदा पानीका मुहान सुक्न थाल्यो । जमिन सुख्खा भएर लगाइएका अन्नबाली सप्रन सकेनन् । सुकेर मर्न थाले । समयमा लगाउनुपर्ने बीउबिजन लगाउन पाएनन् । गाउँमा हाहाकार मच्चिन थाल्यो । गाउँलेहरू अत्तालिन थाले । गाउँ–गाउँमा भोकमरी चल्ने अवस्था आइलाग्दै थियो ।

यस्तो आपतकालीन र अत्यासलाग्दो स्थिति सामना गरिरहेका गाउँका बूढापाकाहरूले सल्लाह गरे, ‘के भएर यस्तो विपत्ति आइलाग्न लागेको हो ?’ यस्तो निधो गर्न एक दिन गाउँका जान्ने बुझ्ने नाक्छोङ/माङ्पाहरूलाई चिङ्गो (जोखाना) हेर्न लगाए ।

नाक्छोङ/माङ्पाहरूले पनि यारी (कचुर) हानी चिङ्गो हेरे । सत्य–तथ्य पत्ता लगाइसकेपछि धाराको मुहान बन्द गर्दै दह जमाउन लगाए । यसरी सबै धाराको पानी थुनेर दह बनाउने काम भइसकेपछि नाक्छोङ/माङ्पाहरूले मुन्दुम फलाक्दै पानीको मूलमा सोलोइवा खुत्काउन (हान्न) सुरु गरे ।यसरी पालैपिच्छे पानी–धाराको मूलमा सोलोइन्वाले खुत्काउँदै अघि जमाइरहेको दह खोल्दै अघि बढे ।

 

नाक्छोङ/माङ्पाहरूले पानी–धाराको मूलमा सोलोइन्वाले खुत्काइसकेको केही समयपछि नै दिन ओसिलो बन्दै जान थाल्यो । त्यसपछि भीषण वर्षा सुरु गर्यो । त्यसपछि लगाइएका अन्न, बाली सप्रन थाले भने लगाउन बाँकी बीउबिजन पनि समयमै गाउँहरूले लगाए ।
भनिन्छ, ‘त्यही समयबाट किरात राई जातिमा धारापूजा गर्ने चलन रहिआएको हो ।’ यो कामलाई ‘सोयङ सेत्मा’ भनिन्छ । किरात राई जातिले उँभौलीमा साखेवा पुज्नुअगावै धारापूजा गर्ने चलन अद्यापि छँदै छ ।

पानीको देवता (हर्ताकर्ता) नाग हो भन्ने मान्यता छ । नागलाई जाँडले हान्दा (पर्छंदा) नाग रिसाएर पानी पारिदिन्छन् भन्ने किराती बूढापाकाको भनाइ छ ।

(नोट : जोकोही किरात राई घरपरिवारलाई नागले दुःख दियो भने सो परिवारका दर–दाजुभाइ भेला भई धारापानीको मूलमा पूजा गर्ने चलन छ । यो कामलाई ‘वुनखोक्मा’ भनिन्छ । यो पूजा जुनसुकै समयमा गरिन्छ ।)

प्रतिक्रिया दिनुहोस्