सखिया नाचमा थारूको अटुट आस्था


कञ्चनपुर । मादलको तालसँगै कम्मर मर्काएर थारू युवतीले दसैंका बेला नाच्ने सखिया नृत्य सामाजिक सद्भाव र धार्मिक भावनाबाट ओतप्रोत छ । सामूहिक रूपमा सबैका घर–घर गएर नाचिने भएकाले समाजमा सद्भाव फैलाउन मद्दत पुर्याउँछ ।

धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै यो नृत्यको आरम्भ र अन्त्य गरिन्छ । यस नृत्यमा कञ्चनपुरका थारू समुदायको अटुट आस्था र धार्मिक विश्वास रहेको पाइन्छ ।

थारू समुदायले कृष्ण जन्माष्टमीको दिनदेखि सखिया नृत्यको सुरुवात गरेर दसैंसम्म निरन्तरता दिने गर्छन् । तर, हिजोआज गाउँअनुसार अनुकूलता र प्रतिकूलतालाई ध्यानमा राखी सखिया नृत्य गर्ने गरिएको पाइन्छ । पहिला कम्तीमा एक महिनासम्म यस नृत्यको आयोजना गरिँदै आइएकामा खर्च बढी लाग्ने र बढी समय खेल्दा नाच्ने युवतीलाई पट्यार लाग्ने भएपछि हाल छोट्याएर १० देखि १५ दिनसम्म नाच्ने गरिँदै आइएको थारू अगुवाहरू बताउँछन् ।

थारू गाउँका भलाद्मी, बडघर, गुरुवा, केसौका आदिको बैठक बसी सखिया नृत्यको आयोजनाबारे छलफल गरेपछि नृत्यको चाँजोपाँजो मिलाइन्छ ।

गुरुवा (झाँक्री)ले तान्त्रिक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवकयुवतीलाई दुष्टात्माको भवितव्यवाट बचाउन पूजा र अनुष्ठान गरेपछि यसको प्रारम्भ गर्ने चलन रहेको शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका थारू अगुवा मनिराम चौधरीले बताए । सखिया नृत्यमा भगवान् कृष्णको जन्मलीलादेखि मृत्युसम्मको वर्णन गरिन्छ । नृत्यमा चारजना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ ।

नृृृत्यको बीच–बीचमा गीतलाई फरक–फरक भाका हालेर गाइन्छ । मादल बजाउनेको अगुवाइ गर्ने व्यक्तिलाई अगुवा मदारी भनिन्छ । अगुवा मदारीको तालमा ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भनिने बडघर चौधरीले बताए । नृत्यमा गीत गाउने महिलाको अगुवाइ गर्नेलाई ‘मोह्रिन्या’ भनिन्छ । मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहिया र पछगोहिया भनिन्छ । नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवती नृत्य पस्कने गर्छन्, जसलाई थारू भाषामा खोट (पैंया) भनिन्छ ।

थारू राजनीतिकर्मी दानसिंह दहितले भने, ‘पैंया २२ प्रकारको हुने भए पनि हाल मदारीले आफैं सिर्जना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुन सक्छ ।’

यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवती खुट्टाको पैतालासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा प्रस्तुत हुन्छन् । यो नृत्य हेर्न थारू गाउँमा भीड लाग्ने गर्छ । सप्तमीको दिनसम्म रात्रि समयमा निश्चित स्थानमा गरिने यो नृत्य अष्टमीको रातभरि आयोजना गरिन्छ ।
अष्टमीको रात आयोजना गरिने नृत्यलाई भेडुवा जगैना भनिन्छ । थारू संस्कृतिका जानकार परदेशी चौधरीले सुनाए, ‘यस दिन थारू समुदायले कुभिन्डोको भेडा बनाई बलि दिने चलन रहेको छ ।’

पञ्चमीको दिनअघि सादा पोसाकमा यस नृत्यलाई पस्किन भए पनि पञ्चमीका दिनदेखि मादल बजाउने मदारीले सेतो धोती र कमिज लगाउने गर्छन् भने नृत्य गर्ने युवतीले रंगीविरंगी ऐना जडान गरिएका लेहंगा, चोल्या, अंगिया, सेतो फरिया र गोन्या लगाउने गर्छन् ।
हातमा मैजरी लिएर मादलको तालसँगै महिलाले बजाउने गर्छन् । अष्टमीको दिनपछि राति नाचिइँदै आइएको सखिया नृत्यलाई दिउँसो नाच्ने गरिन्छ । दिउँसो नाचिने सखिया नृत्यमा थारू युवतीले कृष्णको लीलालाई यसरी आफ्नै भाषामा बखान गरी गीतमार्फत व्यक्त गर्ने गर्छन् ।

बचपनसे कान्हा गुल्ली डन्डा खेल्नै रे हाँ
ओइसे तरपे जिया मोर हाई रे सँवारिया रे हाँ ।

तिरछी बइठी कान्हा (बसिया बजाबै रे हाँ)
ओइसे तरपे जिया मोरे साँवरिया रे हाँ ।

छतिया चिहुरी–चिहुरी कान्हा (मामा मरनै रे हाँ)
कन्सा मुवल भैनक हात हाई रे साँवरिया ।

गीतमा कृष्णको जन्मदेखि राधिकासँग रासलीला गरेको र कंश वध गरिएको प्रसंग उल्लेख गरिएको पाइन्छ । यस नाचलाई दसैंका दिन धनी, गरिब, गाउँका मान्यजन सबैका घर–घर गएर देखाइने भएकाले विगतका रिसराग बिर्सेर सबैले हेर्ने गर्छन् । बडघरसँग टीका थाप्न जाँदासमेत सखियालगायतका परम्परागत नृत्य लगेर देखाउने चलन यस समुदायमा रहेको छ ।

दसैंपछि गाउँमा नृत्यमा सहभागी सबैलाई सहभागी गराई भोज खाने चलन समुदायमा विद्यमान रहेको फुलराम चौधरीले बताए । यसलाई थारू भाषामा ‘ख्यारा’ खाने भन्ने गरिन्छ । यो नृत्य सामूहिक रूपमा प्रस्तुत गरिने भएकाले यसले समाजमा सामूहिक भावनाको विकास गराउने र गाउँका बासिन्दाबीचको मनमुटाव र झगडालाई हटाई मेलमिलाप गराउने पिपलाडीका बडघर नरेन्द्र चौधरीको भनाइ छ । धार्मिक मान्यताअनुरूप यो नृत्य आयोजना गरेमा गाउँमा अन्नबाली बढी फल्ने, रोगव्याधि हट्ने र वर्षभरिका लागि अन्न खान पुग्ने विश्वास थारू समुदायमा रहेको छ । यसलाई अर्काे शव्दमा थारू समुदायले धर्ती जाग्ना भन्ने गर्छन् ।

सखिया नृत्यको आयोजनाले धर्ती जागेर प्रशस्त अन्न फल्ने विश्वास यस समुदायमा रहेको छ । विदेशी पर्यटकलाई समेत यस नृत्यले गाउँसम्म तानेर तस्बिर खिच्न बाध्य पारेको छ ।

थारू समुदायका धार्मिक आस्था बोकेका गीत र नृत्यप्रति युवा वर्गले चासो देखाउन थालेपछि थारू संस्कृति संरक्षणमा टेवा पुगेको थारू सामाजिक कार्यकर्ता रेवन चौधरी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्