गुरुङ भाषा संरक्षणका लागि ६२ जनालाई प्रशिक्षण



वालिङ (स्याङ्जा) । लोपोन्मुख अवस्थामा रहेको गुरुङ (तमू) भाषाको संरक्षणका लागि स्याङ्जाको वालिङमा गुरुङ भाषाको प्रशिक्षण दिइएको छ ।

तमु ह्युल छोजधीँ गुरुङ राष्ट्रिय परिषद् स्याङ्जाले जिल्लाका ६२ जनालाई प्रशिक्षण प्रदान गरिएको परिषद्का स्याङ्जा महासचिव टीकराज गुरुङले जानकारी गराए ।

‘प्यो म्हस्याँ, छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु’ अर्थात् ‘शास्त्र हराए परम्परा हराउँछ, परम्परा हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे हराउँछ’ भन्ने ठानी वालिङमा गुरुङ भाषा अर्थात् खेमा लिपिसम्बन्धी तीनदिने प्रशिक्षण दिइएको हो ।

‘वालिङ नगरपालिका–४ बसेनी निवासी पिमबहादुर गुरुङले खेमा लिपिको खोज अनुसन्धान गर्नुभएको देखिन्छ,’ परिषद्का केन्द्रीय उपाध्यक्ष लप्टन यामबहादुर गुरुङले भने, ‘खेमा लिपिको अवधारणालाई देशव्यापी बनाउँदै भाषा संरक्षणका लागि लाग्नु आजको आवश्यकता पनि हो ।’

स्याङ्जाबाट थालिएको अभियानलाई देशव्यापी विस्तार गर्दै खेमा लिपि संरक्षण गरी नयाँ पुस्तामा हस्तान्तरण गर्ने योजना बनाएको केन्द्रीय उपाध्यक्ष गुरुङले बताए । ‘नयाँ पुस्ताले गुरुङ भाषा अर्थात् खेमा लिपि बिर्सिंदै गएको अवस्था छ,’ प्रशिक्षक भीम गुरुङले भने, ‘हाम्रो समुदायको मातृभाषाका रूपमा रहेको खेमा लिपि संरक्षण गरी नयाँ पुस्तालाई आकर्षित गर्ने अभियान सञ्चालन गर्न आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्