युट्युबरका थरीथरीका दुःख



‘अस्ट्रेलियामा दिउँसो बैंकको जागिर खान्थेँ । बिहान बेलुका घन्टाको ३० डलर पाइने काम पनि गर्थें । तर, त्यहाँ मन रमाउन सकेन । ती सबै छाडेर ड्रोन, तीनवटा क्यामेरा र लाइभ स्ट्रिमका सामग्री बोकेर नेपाल फर्किएँ ।’

‘अस्ट्रेलियामा युट्युबले निकै चर्चा बटुलेको देखें । अनि नेपालमा पनि युट्युबबाट सूचना सम्प्रेषण गर्न सकिन्छ भन्ने लाग्यो । पत्रकार सुकदेव चापागाईंले टीभी अन्नपूर्ण अनलाइन दर्ता गरेका रहेछन् । सन् २०१२ मा त्यही किनेर ‘बाइङ’मार्फत चलाउन थालें,’ युट्युबर राजु सुवेदीले आफ्नो युट्युब च्यानल सुरु गर्दाका क्षण सम्झँदै भने, ‘तर, सोचेजस्तो भएन । इन्टरनेटको क्षमता कम थियो । दुई मिनेटको भिडियो अपलोड गर्न दुई घन्टा लाग्थ्यो । पैसाको पनि अभाव भयो । फेरि अस्ट्रेलिया गएँ ।’

सुवेदीको रहर त्यसै खेर गयो । तर, हिम्मत आफ्नै त हो नि ।

‘अस्ट्रेलियामा केही समय काम गरें । २०१४ को अगस्टमा फेरि नेपाल फर्कें । त्यसपछि ठूलो लगानी गरेर ‘पेइङ गेस्ट’ र ‘बाइङ गेस्ट’मा एकैपटक युट्युब च्यानल चलाएँ,’ सुवेदी थप्छन्, ‘बाइङमा प्रत्यक्ष प्रसारण हुन्छ । एकैपटक पाँच हजारजनाले हेर्छन् । तर, महिनाको २२ हजार रुपैयाँ तिर्नुपर्छ । पहिले त ६५ हजार रुपैयाँ तिर्नुपथ्र्याे । यसमा राखेबापत प्रतिलिपि अधिकार लाग्दैन । चौबीसै घन्टा प्रत्यक्ष प्रसारण हुन्छ, टेलिभिजनले गरेजस्तै । पेइङमा भने युट्युबको भिडियो ‘भ्यु’अनुसार सिंगापुरबाट डलर आम्दानी हुन्छ ।’

हो त, परिश्रमको फल मीठो हुन्छ । सुवेदी अहिले मासिक दुई सयदेखि सात सय अमेरिकी डलर कमाइ हुने बताउँछन् । ‘टीभी अन्नपूर्ण डटकममार्फत सूचना विभागमा दर्ता भएरै चलाएका हौं । टीभी अन्नपूर्णमार्फत भिडियो हाल्छौं । कोरोना महामारीले आम्दानी घटे पनि दसैंका बेला युट्युबबाट आएको पैसाले साथीलाई बाँड्न पुग्छ भन्नेमा ढुक्क छौं । पाँच÷सात लाख रुपैयाँ त जगेडा पनि छ ।’

यसलाई व्यावसायिक बनाएर लैजाने अठोट त छ तर यो सफलताबीच पनि युट्युबरलाई मूलधारको पत्रकारिताले नस्वीकारेको तीतो अनुभवचाहिँ उनीसँग छ ।

राजु सुवेदीको जस्तै युट्युबरका आ–आफ्ना कथा–व्यथा छन् । दुःख गरेर यहाँसम्म आइपुग्दा भोगेका पीडाभन्दा मानिसले चिन्दा आनन्द लाग्ने गरेको सुनौलो नेपाल टीभी सञ्चालक महाराज शर्मा भन्छन्, ‘गाउँतिर जाँदा पनि चिन्छन् । खुसी लाग्छ । २०७३ सालमा दर्ता भयो । दुई वर्ष डटकम चल्यो । गत दुई वर्षदेखि युट्युब चलाउन थाल्यौं । युट्युबको भने बढी चर्चा भएको छ ।’

व्यावसायिक भएर काम गर्नेलाई यस क्षेत्रमा समस्या पनि छ । अस्वस्थ्य प्रतिस्पर्धा छ । ‘भ्युज’का लागि जे पनि प्रसारण गरिदिनाले हामीमाथि नै प्रश्न उठेको छ । साना–साना कुरालाई पनि मसला बनाउनाले आकर्षण घट्न थालेको हो कि भन्ने पनि शर्मालाई लागेको छ ।
युट्युबर बन्ने रहर धेरैलाई छ । ‘पाँच/छ वर्ष दुबईमा बस्दा गजलसंग्रह निकालियो । भूकम्पको बेला दुबईमा कार्यक्रम गरेर प्रधानमन्त्री राहत कोषमा ४४ लाख रुपैयाँ पनि दियौं,’ उनको भनाइ छ, ‘त्यतिबेलै कलाकारसँग नजिक भइयो । धुर्मुस–सुन्तलीसँग अन्तर्वार्ता पनि लिइयो । त्यसपछि युट्युबमा आफ्ना कामलाई राख्ने रहर जाग्दाजाग्दै यतै आइयो ।’

‘हामी पनि विश्वसनीय छौं । राष्ट्रिय सञ्चारमाध्यमले नउठाएका विषय उठाएका छौं । हामीले उठाएका कतिपय विषय राष्ट्रिय सञ्चारमाध्यमले पछ्याएका पनि छन् । जस्तो एनसेलको मुद्दा हामीले उठाउँदा जताततै हेरियो,’ आफ्नो पेसाप्रतिको व्यावसायिकताबारे उनले थपे, ‘हाम्रो उपस्थितिले टेलिभिजनलाई भने धक्का पुगेको छ । उनीहरूको ‘भ्यु’ (दर्शक) कम भएको छ । कतिपय टेलिभिजनले युट्युबको शैली पछ्याउन थालेका छन् । स्रोत उल्लेख गरेर कतिपय टेलिभिजनमा हामीले उठाएका विषय प्रसारण पनि भइरहेका छन् ।’

‘तर, युट्युबे भन्दा चित्त दुख्छ ।’ उनले सुनाए, ‘हाम्रा कमजोरी पनि छन् । सुधार गर्नुपर्छ । हामी युट्युब चलाउने भएकाले युट्युबर हौं । तर, कुनै ‘इस्यु’मा हामी जाँदा युट्युबे हुन्छौं । त्यही ‘इस्यु’ (विषय) राष्ट्रिय टेलिभिजनले प्रसारण गरे चर्चित हुन्छ ।’

एपी न्युज यात्रा डटकमका सञ्चालक रोहित भण्डारी भने सबै टेलिभिजन सञ्चालक युट्युबर भएको दाबी गर्छन् । भण्डारी भन्छन्, ‘जुनसुकै टीभीका मालिक टीभीमात्र देखाउँछु भनेर बसेका छैनन् । समयअनुसार सबैले युट्युबमै आफ्ना सामग्री हाल्न थालेका छन् । अब उनीहरूलाई युट्युबर भन्ने कि नभन्ने ? ठूलाले जे गरे पनि हुने सानालाई गाली गर्ने शैली मिलेन । हामी सबै एउटै हौं । राम्रा सामग्री हुँदा पनि हेर्ने दृष्टिकोण फरक छ । विनादर्ता भिडियो राख्नेका कारण बदनाम भइरहेको छ । यसतर्पm राज्यको नियमन आवश्यक छ ।’

युट्युब चलाउनेलाई ‘डलरे’ भनेको सुन्दा भण्डारीलाई खुब रिस उठ्छ । ‘जनता सूचनाबाट बेखबर भए भनेर कसैले पनि पत्रिका चलाएका छैनन्,’ उनको ठम्याइ छ, ‘युट्युबलाई माथ खुवाउनेगरी मूलधारका टेलिभिजनले पनि आफ्ना सामग्री युट्युबमा हालिरहेका छन् । के तिनीहरूले कर तिरिरहेका छन् त ?’

नेपालमा युट्युबरको सङ्ख्या धेरै छ । तर, धेरैजसोको सम्पर्क ठेगाना पनि हुँदैन । युट्युबर भोजराज थापा भने सम्पर्कमा आएर पनि बोल्न चाहेनन् । थापाले भने, ‘एक वर्षमात्र भएको छ । धेरै गर्न बाँकी छ । ‘सिनियर’हरूसँग कुरा गर्नूस् न ।’

क्यानडा नेपाल टीभीका सञ्चालक रौनक निरौलाले औपचारिक रूपमा पत्रकारिताको शिक्षा लिएका छैनन् । तर, निरन्तरको अभ्यासले यसमा ६ वर्षदेखि लागिरहेका छन् । ‘मनोरञ्जनमा आधारित सामग्री युट्युबमा राख्ने गरे पनि पहिलोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले दिएको भाषण हाम्रो च्यानलले नियमितजसो प्रसारण गर्यो,’ निरौला भन्छन्, ‘लोकप्रिय पनि भयो । त्यस्तै विदेशमा रहेका नेपालीका समस्याबारे कार्यक्रम पनि प्रख्यात भयो ।’

निरौलालाई पनि ‘युट्युबे’ र ‘डलरे’ भनेर बोलाइदिँदा चित्त दुख्छ । भन्छन्, ‘डलरे भनेर बोलाउँछन् । कमाइ त डलरमै हो । युट्युबे पनि हो । तर, वर्गीकरण नभएकाले यस्तो समस्या भोग्नुपरेको हो ।’ व्यावसायिक र अव्यावसायिक छुट्टिएपछि यस्तो समस्या भोग्नुनपर्ने आस छ ।

युट्युब वैकल्पिक माध्यम

त्रिभुवन विश्वविद्यालय, समाजशास्त्रका उपप्राध्यापक दीपेश घिमिरे युट्युबर र फेसबुकले कैयौं समाचार ‘ब्रेक’ गरेको बताउँछन् । उपप्राध्यापक घिमिरेका अनुसार वैकल्पिक विधाका मिडियाले अमेरिकामा जर्ज फ्लोयड घटनाको भिडियो राखेपछि बल्ल मूलधारका सञ्चारमाध्यमले पछ्याएका थिए । त्यहाँ गरिब परिवारबारे एक युट्युबले भिडियो राख्यो । त्यो लाखौंले हेरे । उक्त परिवारले दुई लाख डलर सहयोग पायो । नेपालमा यति गहिरिएर युट्युबरले युट्युबमा भिडियो राखेको पाइँदैन । दर्शक जेबाट बढ्छ, त्यस्तै सामग्री राख्ने प्रचलनको होड चलेको छ ।

हामीले जसलाई आमसञ्चारमाध्यम भन्छौं, तिनीहरूले कल्याणकारी सामग्रीमा धेरै चासो दिएनन् । उदाहरणका लागि कुनै हराएको बच्चा भेटियो भने ‘बच्चा भेटियो’ भन्नेबाहेक अरू भित्री तहका समाचार त्यस्ता सञ्चारमाध्यमले बनाउँदैनन् । युट्युबरले चलचित्रको शैलीमा सबै कथाव्यथा देखाउँछन् । अर्को कुरा कुनै पनि जनचासोका विषय सञ्चारमाध्यममा आएपछि त्यसलाई पछ्याउने काम मूलधारका सञ्चारमाध्यमले गर्दैनन् । एकपटक देखायो, सकियो । तर, भित्री तहमा पुग्ने काम युट्युबले गर्दै आएको छ । यसर्थ, यसलाई बन्द नगरी व्यवस्थित गर्न उनी सुझाव दिन्छन् ।

युट्युबलाई कसरी व्यवस्थित गर्ने भनेर सरकारले कुनै मापदण्ड बनाउन सकेको छैन । बन्द गर्ने वा चल्न दिने भन्नेमात्र बहस चल्छ । युट्युबे भनेर एक वर्गले हेपे पनि कतिपय अवस्थामा सर्वसाधारणले उनीहरूको प्रशंसा गरिरहेको पाइन्छ । त्यसैले युट्युब अत्यावश्यक छ । यसलार्ई जिम्मेवार बनाउन जरुरी नै छ । वर्ग छुट्ट्याउनुप¥यो । मनोरञ्जनात्मक हो कि समाचार हो ? ठूला मिडियाले पत्रकारलाई जागिरबाट निकाल्दा युट्युब चलाइरहेका अनलाइनले तिनीहरूलाई जागिर दिँदै गएको अवस्था पनि छ । यसबाट स्पष्ट हुन्छ कि यो विधा फस्टाइरहेको छ ।

नेपालमा पाठक/दर्शकले कुन सूचना कहाँबाट लिने भन्ने ठम्याउन पनि सकेका छैनन् । जस्तो कि कोरोना भाइरसबारे विज्ञ चिकित्सकभन्दा फेसबुक र युट्युबमा लेख्नेको भर परेको पनि देखिन्छ । यसले हानि गर्छ । ब्लग र गुगलका भरमा लेख्नेहरू विज्ञ भएका छन् । युट्युबरले पनि त्यस्तैलाई विज्ञ बनाइदिन्छन् । यसबारे पाठक र दर्शक सचेत हुनुपर्ने उनको सुझाव छ ।

व्यवस्थित गर्ने तयारी

युट्युबको प्रभावकारिता विश्वमै लुकेको छैन । तर, कहिलेकाहीं यसले बाटो बिराउँदा ठूलो दुर्घटना नहोला पनि भन्न सकिन्न । विदेशमा यसबारे बलियो आचारसंहिता र परिधि तोकिएको छ । नेपालमा भने नियमन गर्ने निकाय कमजोर छ । त्यसैले यो पेसालाई पनि आचारसंहिताले बाँधेर मर्यादित र कर्तव्यपरायण बनाउनुपर्ने अनलाइन टेलिभिजन पत्रकार संघ अध्यक्ष जीवन भण्डारीको भनाइ छ ।
युट्युबले समाजमा कुनै हानि नगरोस् । यसले आफ्नो भूमिका सही तरिकाले निर्वाह गरोस् भनेर अनलाइन टेलिभिजन पत्रकार संघ नै गठन भएको बताउँदै संघ अध्यक्ष भण्डारलिे भने, ‘यसलाई मर्यादित बनाउनु हामी सबैको दायित्व हो । हाम्रो उद्देश्य पनि यो क्षेत्रलाई शुद्धीकरण र सुदृढीकरण गर्नु नै हो ।’

संघले स्वनियमन निर्देशिका बनाइरहेको जानकारी पनि उनले जानकारी गराए । मर्यादापालन गर्नेलाई मात्र सदस्यता दिने नीतिसहितको सदस्यता मापदण्ड बनाएको बताउँदै उनले थपे, ‘लोकप्रिय को छ भन्नुभन्दा पनि गुणस्तरीय को छ भन्नेमा लागेका छौं । राम्रो काममा लाग्नेलाई समेट्ने हो । सुध्रिन खोज्नेलाई सघाउने हो ।’

‘सामग्री राम्रो नराम्रो के हो भनी दर्शक, श्रोताले पनि छुट्ट्याउनुपर्छ । जे पायो त्यही सामग्री पस्कनेलाई ‘फलो’ गर्नु, हेर्नु पनि जिम्मेवार दर्शकको परिचय होइन,’ उनी भन्छन्, ‘राम्रो गर्नेलाई प्रोत्साहित गर्नुपर्छ । जे पायो त्यही गर्नेलाई प्रोत्साहित गर्ने दर्शक पनि दोषी हुन् । ‘भ्युज’का पछाडिभन्दा जिम्मेवारीका पछाडि लाग्नुपर्यो । जिम्मेवार हुनेहरू मूलका पानी हुन् भने अतिरञ्जित गर्नेहरू भेलका पानी हुन्,’ उनले सुनाए, ‘यस क्षेत्रमा कस्तो मान्छे आएका छन् भनेर पनि संघले अनुसन्धान गरिरहेको छ ।’

‘दर्ता गरेमा अनुगमन हुने र दर्ता नभएमा अनुगमन नहुने भन्ने होइन । न्यु मिडियाको वेभ फरक भएकाले इलेक्ट्रोनिक शैलीबाटै अनुगमन गर्नुपर्यो । दर्ता जहाँसुकै गर्नुहोस् तर राज्यका नियम कानुन भने पालना हुनुपर्यो,’ प्रेस काउन्सिल नेपालले पनि अनुगमन गर्नुपर्नेमा जोड दिँदै उनले सुझाए, ‘अनलाइनमा युट्युबलाई मात्र समेट्न खोजिएको छ । युट्युबजस्तै थुप्रै प्लेटफर्म छन् । तिनीहरूलाई पनि समेट्न जरुरी छ । फेसबुकबाट समाचार राख्ने पनि छन् । तिनीहरूको पनि अनुगमन हुनुपर्यो । यसलाई जिम्मेवार र व्यवस्थित गर्ने काम सरकारले गर्नुपर्छ ।’

आमसञ्चारमाध्यमको अनुगमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल पनि युट्युबलाई कसरी व्यवस्थित गर्ने भन्नेमा अलमलमा छ । युट्युबको अहिलेसम्म दर्ता र अनुगमन कतैबाट भएको छैन ।

प्रेस काउन्सिल, नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ यसका लागि सरकारलाई दुईवटा विकल्प दिएको बताउँछन् । ‘दर्ता कहाँ गर्ने त ? यसको डोमेन त नेपालमा छैन । अमेरिकामा छ । हामीले या त प्रेस काउन्सिललाई दर्ता गर्ने र अनुगमन गर्ने अधिकार दिइयोस् या स्वतन्त्र संयन्त्र बनाएर सरकारले नै गरोस् भनेका छौं,’ श्रेष्ठ भन्छन्, ‘सरकारले गर्दा सिधै सरकारले नियन्त्रण गर्याजस्तो देखिन्छ । सरकारले हात हाल्ने कुरा नहोला । त्यसैले एउटा संयन्त्र बन्नु जरुरी छ । त्यो बन्ने बाटो देखाइदेऊ भनेका छौं ।’

‘युट्युब नयाँ चुनौतीका रूपमा आएको छ । कोरोना संक्रमण नफैलियोस् भनेर गरिएको बन्दाबन्दीको बेला त झन् जथाभावी फुक्न थाले यिनले । मान्छेमा त्रास फैलाउने र भए– नभएको कुरा गरे । सुरु–सुरुमा बाग्लुङमा तीनजना कोरोनाका संक्रमित भेटिए भनेर आयो नि !,’ उनले भने, ‘सबै आतंकित भएर बाग्लुङतिरबाट भागाभाग भयो । यस्ता घटना धेरै छन् । त्यसैले सरकारलाई पत्र लेखेर नै हामीले नियमन गर्न भनेका छौं । तर, त्यो काम अघि बढ्न सकेको छैन ।’

प्रेस काउन्सिल नेपाल कार्यवहाक अध्यक्ष गोपाल बुढाथोकी युट्युबर पत्रकारकोे परिभाषाभित्र नपर्ने बताउँछन् । समाजमा बेथिति बढाउने किसिमले उनीहरू अगाडि बढेको भन्दै बुढाथोकीले भने, ‘उनीहरू अराजकता मच्चाउने, व्यक्तिको निजी जीवनमाथि छिर्ने, पारिवारिक भाँडभैलो मच्चाउने काम गरिरहेका छन् । पत्रकारको ज्याकेट लगाएर र पास बनाएर हिँडेका छन् । कतिपय त कारवाहीमा परिसकेका छन् ।’

युट्युबरलाई कसरी समेट्न सकिन्छ त भन्ने प्रश्नमा बुढाथोकी भन्छन्, ‘नियन्त्रण र नियमनको कानुन नबनेकाले उनीहरूलाई अराजकता मच्चाउने छुट भएको हो । जो पत्रकारिताको परिभाषाभित्र परेका छन्, उनीहरूले युट्युबमा राखेको भिडियोलाई प्रेस काउन्सिलले हेर्ने काम गरेको छ । तर, कहीं दर्तै हुन नपर्ने र समाजमा हुर्मत लिने काम गर्नेलाई के भन्ने । उनीहरूलाई नियमन गर्न सरकारले नियमनकारी भूमिका दिनुपर्यो नि ।’

आम्दानी बैंक खातामा

नेपाल राष्ट्र बैंकले युट्युब, फेसबुकलगायत सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट हुने आम्दानी अब सम्बन्धित व्यक्तिको बैंंक खातामा प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । अनलाइन माध्यम वा सफ्टवेयरसम्बन्धी कामबाट प्राप्त हुने कमाइ वैधानिक माध्यममार्फत भित्र्याउने प्रयासस्वरूप राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको जनाएको छ ।

राष्ट्र बैंकले सूचना जारी गर्दै अबदेखि हरेक किसिमका प्रविधि प्रयोगमार्फत आउने तथा खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिक र व्यापारिक कारोबारबापत प्राप्त हुने रकमलगायतका सबै रकम यसअन्तर्गत पर्ने जनाएको छ । यसबाट विदेशी मुद्रा प्राप्त भएपश्चात् भुक्तानी सेवा प्रदायक (बैंक तथा वित्तीय संस्थासमेत)ले सञ्चालन गरेको ग्राहकको वालेटलगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामै रकमान्तर गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसबाट स्रोत देखाएर आयकर काट्नेगरी दायरामा ल्याउन सजिलो भएको छ ।

(शनिबारबाट)

प्रतिक्रिया दिनुहोस्