२० वर्षदेखि एउटै दैनिक पत्रिकाको संवाददाता



उच्चशिक्षा अध्ययनक्रममा झापाको दमकमा रहँदा साहित्य लेखन हुँदै पत्रकारितातिर आकर्षण बढ्यो । यो संवत् २०५३ सालतिरको कुरा हो । ‘क्याम्पसमा स्वागत नेपालको सम्पादनमा दमकबाटै नौलो सृष्टि साप्ताहिक प्रकाशन हुन्थ्यो,’ किरात राई पत्रकार संघ वरिष्ठ उपाध्यक्ष गणेश साम्पाङले अतीत सम्झे, ‘मेरो पहिलो समाचार स्वागतजीकै पत्रिकामा छापिएको थियो । त्यो समाचार प्रकाशन नै मेरो पत्रकारिता यात्राको टर्निङप्वाइन्ट बन्यो ।’

त्यसपछि धरानदेखि भवानी बरालको सम्पादनमा प्रकाशित विजयपुर साप्ताहिक साम्पाङलाई पहिलोपटक परिचयपत्र दिने पत्रिका थियो । ०५५ मा धरानका युवा पत्रकार राजकुमार दिक्पाल, डम्बरकृष्ण श्रेष्ठ, प्रदीप मेन्याङ्बो, जसकुमार राई, जनकऋषि चाम्लिङलगायतको प्रयासमा न्युज टाइम्स साप्ताहिक प्रकाशन सुरु भयो । त्यही पत्रिकामा दमकबाट रिपोर्टिङ गर्ने र दमक शाखाप्रमुखका रुपमा समेत काम गर्ने अवसर मिल्यो । न्युज टाइम्सले उनलाई पत्रकारिता क्षेत्रमा कखरा सिकाउनका साथै हिँड्न सक्ने बनायो । त्यसताका त्यो पत्रिका सुनसरी, मोरङ, धनकुटा र झापामा लोकप्रिय थियो ।

युवा पत्रकारको सक्रियतामा प्रकाशित सो पत्रिका विविध कारणवश केही वर्षपछि बन्द भयो । ‘आफूले काम गरिरहेको पत्रिका बन्द भएपछि धरानबाटै प्रकाशित धरान टुडे दैनिकका केही समय काम गरें,’ उनले सुनाए, ‘त्यतिबेलासम्म पत्रकारिताले मोहनीले लगाइसकेको थियो । त्यही भएर ०५७ को अन्त्यतिर नेपाल समाचारपत्र दैनिक संवाददाताका रूपमा पाँचथरको फिदिम उक्लिएँ ।’

व्यावसायिक पत्रकारिताको हिसाबले हेर्ने हो भने हाम्रो पुस्ता पहिलो भन्दा हुन्छ भन्ने उनले पाँचथरबाट हिमाल खबर पत्रिका र वातावरण पत्रकार समूहद्वारा प्रकाशित हाकाहाकीमा समेत फिचर लेख्थे । अहिले पनि बेलाबेला लेखिरहेका छन् । ‘नेपाल समाचारपत्रमा काम थालेको २० वर्ष भएछ,’ उनले ठट्ट्यौलीपारामा भने, ‘सायद सरकारी सेवातिर भए पेन्सन पाक्ने बेला भयो ।’

झापाको दमकबाट सुरु उनको पत्रकारिता यात्राले पाँचथरको फिदिममा गन्तव्य पायो । आज पनि फिदिममै बसेर पत्रकारिता गरिहरेका छन् । नेपाल पत्रकार महासंघ सदस्यता झापाबाटै प्राप्त गरे पनि पाँचथर सारे । उनको सांगठनिक गतिविधिसमेत पाँचथरमै केन्द्रित भए ।

‘पाँचथरका सुरुवाती दिन निकै अप्ठ्यारा थिए । व्यावसायिक पत्रकारिता विकास यो अवस्थामा आइसक्दा त मोफसलमा बसेर पत्रकारिता गर्न गाह्रो छ,’ उनले सुनाए, ‘त्यतिबेला कति कठिन थियो भन्ने सजिलै अनुमान गर्न सकिन्छ । ती आरोह–अवरोहसँग सिँगौरी खेल्दै व्यावसायिक पत्रकारिता यात्रा यहाँसम्म आइपुगेकोमा कम्ती खुसी लागेको छैन ।’

साम्पाङले पत्रकार महासंघको नेतृत्वमा रहेर काम गरिसकेका छन् । ०६१ मा उपसभापति र ०६४ मा पुनः उपाध्यक्ष रहेर जिम्मेवारी पूरा गरे । संगठनात्मक जिम्मेवारीसँगै पूर्वकै चर्चित सप्तकोशी एफएमलगायत अन्य केही सञ्चारमाध्यममा समेत काम गरेको अनुभव छ । गतिशीलताले मानिसलाई सफलता दिन्छ । अप्ठ्याराबीच पनि पाइला नरोकिएकैले जिल्ला र जिल्लाबाहिर सञ्चालित व्यावसायिक तालिम र गोष्ठीमा सहभागी भएकै छन् ।

इलामका युवा पत्रकार आशिष राईको स्मृतिमा स्थापित आशिष राई स्मृति पुरस्कार २०६२ बाट पुरस्कृत उनी नेपाल पत्रकार महासंघ पाँचथर, गुरु माङ्गेना सेवा समिति माङ्सेबुङ लारुम्बा बाँझो इलाम, जिल्ला खेलकुद विकास समिति पाँचथर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरबाट सम्मानित हुनुका साथै प्रजापति जाल्पादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघ पाँचथरको एक कार्यकाल उपसभापति र दोस्रो कार्यकाल उपाध्याक्ष, नेपाल आदिवासी जनजाति पत्रकार संघ पाँचथर उपाध्यक्ष, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथर अध्यक्षको भूमिका निर्वाह गरिसकेका उनी किरात राई पत्रकार संघ केन्द्रीय सदस्य हुँदै वरिष्ठ उपाध्यक्षको भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्