रहरले पत्रकारिता गर्न खोज्नेहरू उँभो नलाग्ने



पदमध्वज राई प्रधानपञ्च थिए । प्रधानपञ्च राईको घरमा तिरो बुझाउनेहरू आइरहन्थे । तिरो बुझाउनेलाई रसिद दिनुपथ्र्यो । रसिदमा लेख्ने काम केजिन राईले पाउँथे । अक्षर राम्रो भएकाले प्रधानपञ्च बुवाले उनलाई लेख्न लगाउँथे । रसिदमा लेख्दालेख्दै अक्षरमात्रै होइन, केजिनको लेखनशैली लोभलाग्दो बन्यो ।

गाउँ (बाम्राङ, खोटाङ) मै रहँदा पत्रकार राईले लेखेका साहित्य र पाठकपत्र गोरखापत्र, साधना, कामनालगायत पत्रपत्रिकामा प्रकाशित भइरहन्थ्यो । हुलाकबाट पठाइएका सामग्रीले काठमाडौंबाट प्रकाशित पत्रपत्रिकामा ठाउँ पाउँदा उनी कम्ती खुसी थिएनन् । लेखनले निरन्तरता पाएकै थियो ।

त्यतिबेला पत्रमित्र साथी बनाउने लहर चलेको थियो । उनको तीन हजारजनाभन्दा बढी पत्रमित्र साथी थिए । पत्रमित्रलाई चिट्ठी लेख्दा लेखनशैली झन् सुधारियो ।

उनी काठमाडौं पसे । आफन्त भएकाले काठमाडौंमा बस्न अप्ठ्यारो थिएन । प्रताप नाछिरिङ र घल राईद्वारा प्रकाशित युगध्वनि साप्ताहिकसँग जोडिए । यो संवत् २०४६ सालतिरको कुरा हो । लेखनशैली लोभलाग्दो भएकाले उनलाई प्रताप नाछिरिङ र नवराज वर्तमानहरूले डोर्याए । त्यस अर्थमा उनमा सम्भावना थियो ।

चोमोलोङ्मा, काठमाडौं टुडे, साल्पा, हिमालय, नेपाल टाइम्स दैनिक, लोकपत्र दैनिक, अपराह्न, छानबिन साप्ताहिक, जनमञ्च साप्ताहिक, मध्यान्तर पाक्षिकलगायत विभिन्न पत्रपत्रिकामा उनले भूमिका निर्वाह गरे । खोटाङबाट प्रकाशित मध्यान्तर पाक्षिकमा सल्लाहकार सम्पादक र लेनमुक (दिव्यदृष्टि) का सम्पादकसमेत बने ।

रहरैरहरको पत्रकारिताले नेपाल टाइम्स दैनिकमा काम थालेपछि उनी व्यावसायिक बने । नेपाल टाइम्समा रहँदा खेलकुद पत्रकार टोलीको नेतृत्व गर्दै स्वीटजरल्यान्ड पुगे । उनले लोकपत्र दैनिकमा समेत काम गरे । लोकपत्रको संवाददाता हुँदै प्रमुख संवाददाता बने । ‘२ हजार ८ सय थियो,’ उनले त्यतिबेलाको मासिक तलब सुनाए, ‘पछि ३ हजार ८ सय बनाइदिए । प्रमुख समाचारदाताको मासिक भत्ता ४ सय दिन्थे ।’

त्यति तलबले महिना धान्न गाह्रो थियो । तर, धान्नैपथ्र्यो । नेपाल टाइम्स र लोकपत्र दैनिकका ‘न्युजरुम’ मा धेरै समय काम गरेका उनले खेलकुद, संसद् र अपराधलाई कार्यक्षेत्र (बिट) बनाए । साहित्यबाट थालेको पत्रकारिता यात्राले अहिलेसम्म निरन्तरता पाएकै छ ।

नेपाल पत्रकार महासंघ युरोप शाखाका लागि तेस्रोपटक अध्यक्षमा निर्वाचित केजिन राईको पहिलोपटक संस्कृतिसम्बन्धी आलेख प्रकाशित भएको थियो । राईले भने, ‘त्यतिबेला हातैले समाचार लेख्नुपथ्र्यो । समाचार लेख्दा कहिल्यै केरमेट गर्न परेन ।’

बेल्जियमनिवासी राई अध्यक्ष बनेपछि नेपाल पत्रकार महासंघ युरोप शाखाले आधिकारिक मान्यता पाएको थियो । ‘बीबीसीमा कार्यरत नेपाली पत्रकारबाहेक विदेशमा रहेका अन्य नेपाली पत्रकार होलटाइमर होइनन्,’ उनको तर्क छ, ‘विदेशमा रहेर पत्रकारिता गर्नेले यही पेसाबाट खान सक्ने अवस्था छैन । विदेशमा रहेर पत्रकारिता गर्ने हामीले अर्को मुख्य पेसा नगरी सुखै छैन । बाँकी रहेको समयमा पत्रकारिता गर्नुपर्ने बाध्यता छ ।’

‘पत्रकारिता दुखिया पेसा हो भन्ने थाहा थियो,’ उनले अतीत सुनाए, ‘थाहा हुँदाहुँदै पनि पत्रकारिता नै रोजें । लेख्ने रस बसेकाले दुःख गर्ने साहस गरें ।’ नेपालमा रहँदा पत्रकारिता गर्दाको सुख–दुःख उनले बिर्सेका छैनन् । उनी त्यतिबेला लोकपत्र दैनिक प्रमुख संवाददाता थिए । लोकपत्र दैनिकसम्बद्ध अर्थ र भन्सार ‘बिट’ हेर्ने संवाददाताले सशस्त्र प्रहरी पूर्वमहानिरीक्षक दुर्जकुमार राईले घडी, सुन लिएको समयको प्रमाणसहित समाचार लेखे । ‘प्रमुख संवाददाता भएकाले मैले सम्बन्धित व्यक्तिसँग बुझ्न फोन गर्दा उहाँ बोल्न चाहनुभएन । भेट्न चाहनुभएन,’ उनले विगत कोट्याए, ‘समाचार प्रकाशित भयो । समाचारमा इन्सपेक्टर किवाहाङ राईको नामसमेत जोडियो । इन्सपेक्टर राईसँग साकेलामा ललितपुरको नखिपोटमा भेट भयो । त्यहाँ उहाँ, उहाँको परिवारलगायतले मलाई हातपात गरे ।’

केजिन राई नेपालमा सक्रिय पत्रकारिता गर्दा टीकाराम राई, महेन्द्र विष्ट, सुधीर शर्मा, धर्मेन्द्र झाहरू त्यत्तिकै सक्रिय थिए । अहिले पनि छन् । बेल्जियममा रहेका उनीसमेत पत्रकारिताबाट टाढिएका छैनन् । तेस्रोपटक नेपाल पत्रकार महासंघ युरोप शाखा अध्यक्ष निर्वाचित हुनु त्यसको गतिलो प्रमाण हो । त्यतिमात्रै होइन, राई युरो नेपाल र इयु नेपाल डटकमका सम्पादक हुन् ।

स्नातकोत्तर अध्ययन गर्दैगर्दा विदेश लागेका उनी राजनीतिशास्त्रमा स्नातक हुन् । पत्रकारितामा लागेपछि उनको पदचाप पछ्याउने गाउँका थुप्रै छन् । ‘अहिलेको जमानामा सम्बन्धित विषयको सैद्धान्तिक अध्ययन चाहिन्छ,’ उनले सुझाए, ‘पत्रकारितामा आउँदै गरेकाले सम्बन्धित विषयको गहिरो अध्ययन गर्नैपर्छ । लेख्ने काम सामान्य होइन । पत्रकार सिर्जनशील बन्नुपर्छ । भन्नुभयो पत्रकारितामा मात्रै सीमित रहनुहुँदैन । जागिरे पत्रकारिताले उसलाई सिर्जनशील बनाउँदैन ।’

दुःख गर्न नसक्नेले पत्रकारितामा लाग्ने दुस्साहस गर्न नहुने उनको भनाइ छ । रहरले पत्रकारिता गर्न खोज्नेहरू उँभो लाग्नै सक्दैनन् ।

प्रतिक्रिया दिनुहोस्