पत्रकारिताले व्यावसायिक फड्को मारे पनि समस्या उत्तिकै जटिल



‘रेडियो सञ्चालनसम्बन्धी ज्ञान थिएन,’ उनले नढाँटी सुनाए, ‘पार्टीले दिएको जिम्मेवारी पूरा गर्न रेडियोमा संलग्न भएँ ।’ रेडियो सञ्चालनार्थ सम्बद्धसँग तालिम, दक्षता र अनुभव अभाव भए पनि सिकाइ महत्वपूर्ण पक्ष हो ।

त्यतिबेला रेडियोमा काम गर्न सजिलो थिएन । प्रसारण समयमा सेनाको आक्रमणबाट बच्न स्थान परिवर्तन गरिरहनुपथ्र्यो । स्थान परिवर्तन गर्दै रेडियो प्रसारणलाई नियमितता दिइरहनुपर्ने प्राविधिक समस्या आइरहन्थ्यो । ‘समस्यैसमस्याबीच रेडियो प्रसारणले निरन्तरता पायो ।

राजा ज्ञानेन्द्रले २०६२ माघ १९ मा प्रेस स्वतन्त्रतामाथि अंकुश लगायो । सञ्चारमाध्यम सेनाको कब्जामा थियो । तर, माओवादीद्वारा सञ्चालित रेडियोलाई अंकुश लगाउन सक्ने कुरै भएन । राजेन्द्र किरातीसँग जनयुद्धमा रेडियो सञ्चालनसम्बन्धी रोचक अनुभूति छ । ‘त्यतिबेला मिसनमा आधारित रेडियो सञ्चालन हुन्थ्यो,’ किरातीको भनाइ छ, ‘त्यतिबेला पार्टीले चलाएको क्रान्ति पूरा गर्न, उसले थालेको कामकारबाही तथा गतिविधि राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न रेडियो सञ्चालनमा आएको थियो ।’ अहिलेजस्तो न विज्ञापन खोज्नुपर्ने चिन्ता न त कार्यक्रम प्रायोजनका लागि प्रायोजक खोजीमा भौंतारिनुपथ्र्यो । चिन्ता एउटै हुन्थ्यो– सेनाको घेराबन्दी र आक्रमणबाट बचेर रेडियो नियमित सञ्चालन गर्नेमात्रै ।

माओवादी शान्ति प्रक्रियामा आएपछि भूमिगत रूपमा सञ्चालित रेडियो जनगणतन्त्र वैधानिक रूपमा दर्ता भयो । सामुदायिक रेडियोको मान्यता लिई सुनसरीको धरानमा स्टेसन राखी सञ्चालनमा आयो । स्थापनाकालमा रेडियो कार्यक्रम तथा समाचार प्रमुख हुँदै स्टेसन म्यानेजरको भूमिका निर्वाह गरेका किराती ०६८ बाट लेखनमा केन्द्रित भए ।
माओवादी विभाजित भएपछि किराती मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीको केन्द्रीय सदस्य भएपछि रेडियोबाट बिदा लिए । रामबहादुर थापा ‘बादल’ समूहसँगै माओवादी केन्द्रमा प्रवेश गरेका उनी पार्टी एकतापछिको आयोजक समिति केन्द्रीय सदस्य रहेका छन् ।

माओवादी सशस्त्र जनयुद्धदेखि अहिलेसम्म उनले पार्टीको विभिन्न मोर्चाको जिम्मेवारी निर्वाह गरे पनि ०६० देखि पत्रकारिताको विभिन्न पाटोमा रहेर काम गर्दै आएका छन् । उनले सामुदायिक रेडियो प्रसारक संघ पूर्वाञ्चल संयोजकमात्रै नभएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री राम कार्कीको प्रेस संयोजकका रूपमा समेत कुशलतापूर्वक काम गरिसकेका छन् ।

‘नेपाली पत्रकारिताले व्यावसायिक फड्को मारे पनि समस्या उत्तिकै जटिल छ,’ किरातीको बुझाइ छ, ‘गुणात्मक विकास हुन नसकेकाले त्यतातिर ध्यान दिन आवश्यक छ । सञ्चारमन्त्रीको प्रेस संयोजक रहँदा आफूले त्यतातिर प्रयास गरेको थिएँ ।’ हिजोआज मूलधारको सञ्चारमाध्यमदेखि स्थानीयस्तरमा खुलेका रेडियो, पत्रपत्रिका तथा अनलाइन पत्रिकामा किरात राई पत्रकारको उपस्थिति बाक्लो देखिए पनि व्यावसायिक क्षमता र दक्षता अभिवृद्धि गर्न मिहिनेत गर्नुपर्ने उनको भनाइ छ ।

पत्रकार स्वतन्त्र हुनुपर्छ भन्ने तर्कसँग उनी सहमत छैनन् । उनका अनुसार पत्रकार यही समाजको एक पात्र भएकाले समाज नै वर्गीय भएपछि पत्रकार पनि वर्गीय नै हुन्छ । उसले आफ्नो पक्षको वकालत गर्नु अस्वाभाविक होइन । ‘पत्रकारितामा व्यवसायिक सन्तुलन कायम गर्नु उसको धर्म हो,’ उनको जिकिर छ, ‘तर, कुनै पनि समाचार स्वतन्त्र हुँदैहँुदैन, त्यो समाचारले कसै न कसैको वकालत गरेकै हुन्छ । त्यसो भन्दैमा बहुमतको पक्षमा छ कि छैन भन्नेतर्फ ध्यान केन्द्रित हुनुपर्छ ।’

जन्मथलो भोजपुर भए पनि भूमिगत रूपमा सञ्चालित रेडियो जनगणतन्त्रको स्टेसन धरानमा राखिएसँगै किरातीसमेत धरान झरे । ०६० मा रेडियो जनगणतन्त्रमा अंग्रेजी समाचार लेखन, सम्पादन, वाचनलगायतको जिम्मेवारी पाएपछि अहिलेसम्म पत्रकारितामा क्रियाशील छन् । साबिक साङपाङ गाविस–८ छाप्लेगाउँ भोजपुरनिवासी किरातीको बाल्यकाल गाउँमै बित्यो । स्थानीय शारदा निम्नमाध्यमिक विद्यालयमा सात कक्षासम्म अध्ययन गरेका उनले संखुवासभाको खाँदबारीमा रहेको हिमालय माविबाट ०४० मा एसएलसी उत्तीर्ण गरे । माध्यमिक विद्यालयबाटै वाम विचारबाट प्रभावित उनी भोजपुर बहुमुखी क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहमा भर्ना भएपछि अनेरास्ववियु छैटौंको क्याम्पस इकाइ समिति सहसचिव भएर संगठित रूपमा विद्यार्थी राजनीतिमा प्रवेश गरे ।

प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी अध्ययनका लागि काठमाडांै हिँडेका किराती मलेसिया पुगे । फर्केपछि स्थानीय विद्यालयमा अध्यापन थाले । शिक्षण पेसामा रहँदा तत्कालीन माओवादीले थालेको जनयुद्धमा हिँडे । उनी ०५९ बाट पूर्णकालीन राजनीतिमा लागे । युद्धका विभिन्न मोर्चा र जिम्मेवारी सम्हालेका उनलाई ०६० मा पूर्वमा सञ्चालित रेडियो जनगणतन्त्रमा अंग्रेजी समाचार लेखन, सम्पादन, वाचनलगायतको जिम्मेवारी दिइएको थियो । उनले रहरले नभएर पार्टीले दिएको जिम्मेवारी पूरा गर्न रेडियोमा प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्