‘नेपालकी छोरी’ म्युजिक भिडियोको ‘रेकर्ड ब्रेक’, दर्शकको माया चुलिँदो



काठमाडौं । गीतकार किशोर चाम्लिङ राईको ‘नेपालकी छोरी’ शीर्षाकृत गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । तुवाचुङ टीभीमार्फत सार्वजनिक म्युजिक भिडियो पाँच लाखभन्दा बढीले हेरिसकेका छन् ।

साउन ३० गते सार्वजनिक म्युजिक भिडियोको गीतमा बालगायिका आयुष्मा राईको आवाज रहेको छ । लक्ष्मण चौलागाईंको संगीत र आगा लामाले एरेन्ज गरेको गीतको म्युजिक भिडियोमा मणि बान्तवा राई, लक्की शेर्पा, मौनता मुडभरी, सृष्टि श्रेष्ठ र कृति श्रेष्ठले लोभलाग्दो अभिनय गरेका छन् । राई, शेर्पा, मुडभरी, श्रेष्ठद्वयको अभिनय हेरिसकेपछि म्युजिक भिडियोका लागि अनुभवी कलाकार नै चाहिँदैन भन्ने सन्देश दिएको छ ।

किशोर चाम्लिङ राई

२४ भन्दा बढी गीत रेकर्ड गरिसकेका गीतकार राईको हालै सार्वजनिक म्युजिक भिडियो लोकबावु शाक्यले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियोको गीत यस्तो छ

नेपालकी छोरी

नेपालकी छोरी हुँ म, हिउँजस्ती गोरी
दुनियाँले भने पनि, उत्ताउली मोरी
म त बोल्छु हाँसेर
सबैको माझ, मान्दिनँ लाज
नाचिदिन्छु म त छमछम हो कम्मर भाँचेर

हिमालले खुसी भई हाँस्न सिकायो
डाँफे, मुनालले छमछमी नाच्न सिकायो
चखेवाले पिरती अब गाँस्न सिकाउँछ रे
दुई मुटु एउटै भई बाँच्न सिकाउँछ रे
म त बोल्छु हाँसेर
सबैको माझ, मान्दिनँ लाज
नाचिदिन्छु म त छमछम हो कम्मर भाँचेर

गुन्यु, चोली, पटुकीमा खुबै सुहाउँछु रे
पराईघर जाने बेला सबलाई रुवाउँछु रे
जूनले पनि डाहा गर्लान् मेरो रूप हेरी
यति मीठो बालापन फर्किंदैन फेरि
म त बोल्छु हाँसेर
सबैको माझ, मान्दिनँ लाज
नाचिदिन्छु म त छमछम हो कम्मर भाँचेर ।

यसअघि तीन म्युजिक भिडियो सार्वजनिक भइसकेको उनले ६० गीत लेखिसकेका छन् । म्युजिक भिडियो छायांकन र सम्पादनमा दख्खल राख्ने उनले लेखेका गीतमा पावल चाम्लिङ, चन्दा देवान, प्रेम परियार, मनीषा पोखरेल, कुशल थलङ, रत्न राई, आयुष्मा राई, प्रलाप राई र रोशना रश्मीले गाइसकेका छन् ।

तुवाचुङ टीभीका सञ्चालक तथा निर्देशकसमेत रहेका किशोर चाम्लिङ राईका गीतमा शिवसंगम राई, रत्न राई, पावल चाम्लिङ, राम लामा, लक्ष्मण चौंलागाईं र प्रलाप राईले संगीत भरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्