ब्राह्मणका छोरा लिम्बू भाषाका शिक्षक


इलाम । जिल्लाको माईजोगमाई गाउँपालिकास्थित सोयाङका उमाकान्त चापागाईं (उकाचा)लाई कुराकानीका सिलसिलामा धेरैले सोध्छन् । साँच्चि तपाईं शिक्षक होइन, कुन विषय पढाउनुहुन्छ ? प्रश्नकर्ताले प्रश्न गरेपछि उकाचाको उत्तर सुन्दा कोही झस्किन्छन्, कोही एकोहोरो हेर्छन् । कोही भने ‘यस्तो पनि हुन्छ र भनेर’ उल्टो प्रतिप्रश्न तेस्र्याउँछन् । कसैले भने, ‘यो भाषा पढ्नुको साटो फरेन ल्याङग्वेज पढेको भए हुन्थ्यो नि’ भन्दै सुझाव दिन्छन् । उकाचा यस्ता प्रश्नको सामना गर्न तयार हुन्छन् ।

बारम्बार प्रश्न सोधिनुका कारण उकाचा सोयाङकै पूर्णज्योति माध्यमिक विद्यालयको लिम्बू  (याक्थुनपान) भाषाको कुनै बेला शिक्षक हुनुहुन्थ्यो । अहिले उकाचाले भाषा पढाउन छाडेको दुई वर्ष भयो तर आफ्नो परिचय लिम्बू भाषाको शिक्षक भनेरै दिन रुचाउनुहुन्छ । चिन्नेले पनि उकाचालाई यही परिचयले चिन्छन् । अहिले उकाचा त्यही विद्यालयमा अंग्रेजी विषय पढाए पनि लिम्बू समुदायले पनि भाषाबारे प्रश्न सोध्न उकाचाकहाँ आउँछन् । किनकि उकाचा लिम्बू भाषामा ‘पोख्त’ छन् ।

यसरी सिके लिम्बू भाषा

उकाचा लिम्बू समुदायको बाहुल्य रहेको गाउँमा हुर्के । त्यसैले लिम्बू भाषा सिक्न टाढा जानुपरेन । सानै उमेरदेखि नै लिम्बू भाषा सिक्नुपर्छ भन्ने थियो । भाषा सिक्न निकै मिहेनत गर्नुपर्यो । सँगै बसेका साथीभाइले गरेको संवाद बुझे पनि फर्काउन नजान्दा मन खिन्न हुन्थ्यो । तिनै साथीभाइको संगत र उनीहरूसँगको भाषा अभ्यासले उकाचालाई पनि ‘लिम्बू भाषी’ बनायो ।

‘१०/११ वर्षकै उमेरमा भाषा त बुझ्थे तर फर्काउन सक्दिनथें,’ उकाचाले विगत सम्झे, ‘सँगै बस्दा उनीहरूको कुरा बुझ्ने तर फर्काउन नआउँदा कस्तो–कस्तो लग्थ्यो । मलाई के भन्ठान्लान्जस्तो लाग्थ्यो ।’ त्यहीक्रममा उनले लिम्बू भाषामा बात फर्काउनसमेत सिके । उकाचा भाषा बोल्नमात्रै होइन, लिपिमा पनि पोख्त हुनाका कारण अलि बेग्लै छ । जब ०६२/६३ को आन्दोलनपछि भाषा र संस्कृतिका विषय साह्रै धेरै उठेर आयो । आ–आफ्ना भाषा, धर्म र संस्कृति जोगाउन भन्दै गाउँगाउँबाटै आवाज उठ्न थाले ।

उकाचाकै गाउँमा पनि यसको प्रभाव पर्यो । भाषा जोगाउनका लागि आवाज उठ्दै गर्दा उनलाई चाहिँ भाषा भनेको जातिविशेषको मात्रै होइन, सबैको हो भन्ने लाग्यो । ‘हाम्रो भाषा मासिने भयो भनेर चिन्तामा हँुदा मलाई भाषा त सबैको हो नि जस्तो लाग्थ्यो,’ उनले भने ।

यही परिवेशले उकाचालाई भाषाको ‘भोक’ले समात्यो । उनी भाषा बोलेरमात्रै बच्दैन लिपि पनि जान्नुपर्छ भन्ने चेत खुलेपछि लिपि सिक्नका लागि घरबाट निस्के । ‘धेरैतिर खोजे लिपि पढाउने विद्यालय भेटिनँ, इलाम नगरपालिकाकै बिब्ल्याँटेमा चाहिँ एक जनासँग सिकें,’ उकाचाले सुनाए । भाषा बोल्न जानेका उनलाई लिपि सिक्न आफूले सोचेजस्तो गाह्रो भएन । लिपि जानेपछि उनी गाउँ फर्के । गाउँ फर्किएर लिम्बू भाषा जानेकैलाई लिपिबारे बुझ्दा धेरैलाई लिपिको भने ज्ञान नभएको पाए । ‘मैले भाषा बोल्ने केहीलाई लिपिबारे सोधें तर थाहा रहेनछ,’ उकाचाले भनाइ थियो, ‘कतिपय शब्दको अर्थसमेत थाहा नभएको पाएँ ।’

उकाचाका बुवा पण्डित भए पनि छरछिमेको संगतले उनलाई पनि भाषाको धेर–थोर ज्ञान थियो । परिवारका सबै सदस्यले लिम्बू भाषा जानकार भएकाले उनले विद्यालयमा पढाउन जान अप्ठ्यारो पर्ने कुरा रहेन । यता, विद्यालयमा बहुसंख्यक विद्यार्थी लिम्बू समुदायका भएकाले भाषा पढाउन माग बढ्न थाल्यो । पढाउनका लागि लिपिसमेत जान्ने व्यक्ति आवश्यक पर्ने भएकाले विद्यालयको पहिलो रोजाइमा उकाचा नै परे । उनले कक्षा ५ सम्म लिम्बू भाषा पढाउँछन् । ‘अन्य शिक्षक–शिक्षिककाभन्दा फरक तरिकाले म भाषा पढाउँछु, विद्यार्थी पनि पढ्न झुम्मिन्छन्,’ उकाचाले भने, ‘गीतको शैलीमा लिपि घोकाउने गरेको छु ।’

भाषा जाने पनि आफ्नो मातृभाषा अर्कै भएकाले बोल्ने ‘टोन’ भने भिन्न भएकाले पढाउन गाह्रो भएको उनको भनाइ छ । संस्कृति र धर्म एउटा जातविशेषको मात्र हुँदैन भन्ने बुझेका उकाचा लिम्बू भाषा पढाउन पाएकामा गर्व महसुस हुने गरेको बताउँछन् । अरूले ‘ब्राह्मणको छोरो भाषा पढाउने’ भन्दै कुरा गरे पनि आफूलाई समस्या नहुने गरेको उकाचा सुनाउँछन् ।

जागरण अभियानमा लिम्बू भाषा

केही वर्षअघि विद्यालयमा ‘लिम्बू भाषा जागरण अभियान’ कार्यक्रम चलिरहेको थियो । एक सय मानिसको भेला भएका ठाउँमा लिम्बू समुदायकै मानिस बढी थिए । भेलामा कतिले नेपाली भाषामै भाषण गर्दै थिए भने कतिले लिम्बू भाषामा । स्टेजमा रहेका एक्ला उकाचा मात्रै ब्राह्मण समुदायका हुन् ।

कार्यक्रममा बोल्नेक्रम चल्दा उद्घोषकले उकाचालाई पनि मन्तव्यका लागि अनुरोध गरे । अधिकांश लिम्बू समुदायका मानिसले मन्तव्य राख्नेक्रम चल्दा दर्शकले उकाचाले नेपाली भाषामै मन्तव्य राख्छन् भन्ने लख काटेका थिए तर स्टेजमा पुग्नेबित्तिकै उकाचाले दुई लाइनमात्रै एक लिम्बू भाषाबाट मन्तव्य राखेका थिए । दर्शक नै दंग परेपछि नेपाली भाषाबाट मन्तव्य दिएर उनी फर्के । त्यस दिनदेखि गाउँमा अधिकांश उकाचाको प्रतिभा चिने भने लिम्बू समुदायको ‘प्रतिभा’ भन्ने सम्झिए ।

बहुभाषा भएको नेपालमा भाषाको संरक्षणमा मुलुक नलागेको देख्दा भने उकाचालाई चित्त दुख्छ । सबै भाषाको प्रवद्र्धन गर्न राज्यले भाषा शिक्षण सुरु गर्नुपर्ने उकाचाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्