मातृभाषा जीवन्त राख्न पाठशाला सञ्चालन


तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिकाले मातृभाषालाई जीवन्त राख्न संरक्षण सुरु गरेकोे छ । मातृभाषा बोल्न नजान्ने युवा पुस्ताका लागि मातृभाषा पाठशाला सञ्चालन गर्न लागेको हो ।

भाषा संरक्षण एवम् सम्बद्र्धन गर्ने उद्देश्यले मातृभाषा पाठशाला सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । मातृभाषा बोल्न नजान्न्नेलाई लक्षित गरी गाउँपालिकाले पहिलोपटक पाठशाला सञ्चालन गर्न लागेको हो । यसका लागि गाउँपालिकाले तीन लाख बजेट विनियोजन गरिसकेको छ । अध्यक्ष थापाले भने, ‘लोप हुँदै जान थालेको आदिवासी जनजातिका भाषा संरक्षणमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।’

पाठशालामा भाषा सिक्न इच्छुक गैरजनजातिलाई पनि समावेश गर्न सकिनेगरी व्यवस्था मिलाइको छ । विशेषगरी गुरुङ, मगर तथा नेवार समुदायको बाहुल्य रहेको बन्दीपुरमा आदिवासी जनजातिको भाषा संरक्षणमा सहयोग पुर्याउने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ ।

जनजातिको बाक्लो बस्ती रहेको गाउँपालिकामा मातृभाषा बोल्न नजान्ने हुँदा भाषा मर्दै गएकाले संरक्षण गर्न मातृभाषा कार्यक्रम प्राथामिकतामा राखेर सञ्चालन गर्न लागेको हो । उनले भने, ‘यहाँका पुराना पुस्ताले आ–आफ्नो भाषा बोल्ने गरे पनि नयाँ पुस्ताले पश्चिमेली संस्कृति सिको गर्दै जाँदा भाषा लोप हुने देखिएकाले संरक्षण गर्न खोजिएको हो ।’

नयाँ युवा पुस्तालाई आफ्नो संस्कार र संस्कृतिबारे ज्ञान दिने उद्देश्यले मातृभाषा पाठशाला कार्यक्रम सञ्चालनमा ल्याउन खोजिएको हो । उनले थपे, ‘कोभिड–१९ को अवस्था दृष्टिगत गर्दै सहज स्थिति बनेपछि सञ्चालन गरिनेछ ।’

मातृभाषा पाठशाला सुरु गर्ने तयारी गरिरहे पनि देशमा भएको विषम परिस्थितिका कारण तत्कालै सञ्चालनमा ल्याउन नसकिएको हो । आफ्नो भाषाप्रतिको मोह बढाउन र संस्कृति जगेर्ना गर्न गाउँपालिकाले नयाँ उपाय अवलम्बन गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।

लोप हुन लागेको संस्कृति जीवन्त राख्न गाउँपालिकाले मातृभाषा संरक्षण गर्न प्राथमिकतामा राखेको प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले जानकारी दिए । विभिन्न जनजातिको कक्षा सञ्चालन गरी भाषा संरक्षणबारे जानकारी गराइनेछ । भाषा संरक्षण र त्यसको जगेर्नाका लागि चलनचल्तीको भाषा बोल्न लगाइनेछ । उनको भनाइ छे, ‘नेवार, गुरुङ, मगर जातिलाई छुट्टाछुट्टै राखेर भाषा प्रशिक्षण व्यवस्था गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्