कालोबजारी गर्ने दोषी टुंगो लगाउनै आनाकानी



भोजपुर । कृषि अनुदानको मल कालोबजारी गर्नेमाथि कारबाही गर्न बनेको छानबिन समितिबाटै काम ढिलाइ भएको छ । अनुसन्धानका गर्न बनेको छानबिन समितिले प्रतिवेदन बुझाउन आनाकानी गरेको छ ।

अरुण गाउँपालिकाको जरायोटार भर्लाबोटमा गत जेठ ६ गते अनुदानमा ल्याइएको कृषि मलमा मनपरी ढंगले बेचविखन गरिरहेको भेटिएपछि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेको हो । समितिले नै प्रतिवेदन पेस गर्न आनाकानी गरेपछि दोषीमाथि कारबाही हुन नसकेको खुलासा भएको छ ।

स्रोतका अनुसार पौवादुङ्मा गाउँपालिकाको अनुदानको मलको ठेक्का पाएको हाम्रो ट्रेड एन्ड सप्लायर्स तिवारीभञ्ज्याङका सञ्चालक कृष्ण कोइरालाबाट अनधिकृत रूपमै स्थानीय व्यापारी भद्रमान भुजेलले मल किनेर बिक्री गरेको पाइएको छ । व्यापारी भुजेलले ठेकदार कोइरालामार्फत अनुदानको एक सय बोरा मलमध्ये ५३ बोरा युरिया मल बिक्री गरेको स्वीकारे ।

यसैगरी, समितिले प्रतिवेदन अन्तिम चरणमा पुगेको बताएको छ । समितिका सदस्य अनिष सुवेदीले सबै तथ्यांक समेटिएको र बुझाउनमात्र बाँकी रहेको बताए । सम्पूर्ण आवश्यक प्रक्रिया पूरा गरी प्रतिवेदन पेस गर्न लागिएको उनले बताए । यता, प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले पनि छानबिन समितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन भनिए पनि बुझाउन ढिलाइ भएको स्वीकारेका छन् । भने, ‘मैले चाँडोभन्दा चाँडो रिपोर्ट पेस गर्न भनेको थिएँ । तर, अहिलेसम्म आएको छैन ।’

यसरी अनधिकृत रूपमा एउटा गाउँपालिकाको अनुदानको मल अर्को गाउँपालिकामा कालोबजारी गर्नाले अन्य ठेकेदार कम्पनीलाई मल ढुवानीमा समस्या भएको एचपी सप्लायर्सका सञ्चालक निर्मला शेर्पाले बताइन् । शेर्पाका अनुसार मनपरी ढंगले मल बेच्नाले गाउँपालिकाको ठेक्का पाएको सप्लायर्सलाई मल ढुवानी गर्नै समस्या भएको छ ।

सप्लायर्सका सञ्चालक कोइरालाले भने कृषि सामग्री केन्द्रको मल नभई विभिन्न सहकारीमार्फत संकलन गरेको मल बिक्री गरेको बताए । प्रतिबोरा ७ सय ८५ मूल्य पर्ने युरिया मल स्थानीय व्यापारीमार्फत २ हजार रुपैयाँमा बेचिरहेको पाइएपछि जिल्ला प्रशासनले मल सिल गरेको थियो । जिल्ला प्रशासनले सिल गरेको मल प्याउली प्रहरी चौकीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्