होलेसुङ–जनकराज राई मार्ग निर्माण उपभोक्ता समिति अध्यक्षमा कमल



दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका जनप्रतिनिधि र विभिन्न दलसम्बद्ध नेताको उपस्थितिमा गठित होलेसुङ–जनकराज राई मार्ग निर्माण उपभोक्ता समिति अध्यक्षमा कमल चाम्लिङ चयन भएका छन् ।

नौ सदस्यीय निर्माण उपभोक्ता समितिको उपाध्यक्षमा धनहरि राई, सचिव भोजराज राई, सहसचिव दविन राई र कोषाध्यक्षमा अन्जना राई चयन भएका हुन् । सदस्यमा बलबहादुर राई, विशाल राई, मैना राई, तिम्सिना राई चयन भएका छन् ।

तीन सदस्यीय अनुगमन समिति संयोजक बाबुराम राई र सदस्यमा केवलनारायण राई, लगनकुमारी राई रहेका छन् ।

होलेसुङ–जनकराज राई मार्ग हलेसी भेगका सडकहरुको पनि सडक हो । विकास कसरी गर्नुपर्छ ? भनेर यो सडकले नगरवासीलाई सवक सिकाएको छ । यसको सिको गरेर नगरमा थुप्रै सडक खनिएका छन् । यसै मार्गमा पनि थुप्रै शाखा जोडिएका छन् । उपभोक्ता समिति अध्यक्ष कमल चाम्लिङले भने, ‘यो भेगका पहिलो किराती राजा होलेसुङ र समाजसेवी जनकराज राईको योगदानलाई सम्मान गर्दै हामीले यस मार्गको नाम होलेसुङ–जनकराज राई मार्ग राखेका हौं ।’ अध्यक्ष चाम्लिङले ऐतिहासिक सडक निर्माण पनि ऐतिहासिक र उदाहरणीय गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समिति गठनलगत्तै युवा नेता अमेम्बर राई, मुन्दुम अध्येता भोगीराज चाम्लिङ, अनुगमत समिति र उभपोक्ता समितिले सडक अनुगमन गरेका थिए ।

यो मार्ग मध्यपहाडी लोकमार्गमा रहेको दलश्वर राई चोकदेखि सुनकोसी बतासेघाट ख्रोप्पासम्म १३.२७ किलोमिटर रहेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १ मार्फत चालु आर्थिक वर्ष २०७६/०७७ का लागि २५ लाख रुपियाँ सडक स्तरोन्नति गर्न विनियोजन भएको थियो । २०७६ फागुन २६ गते बसेको प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णयअनुसर उक्त बजेट विनियोजन भएको हो ।

बजेटका लागि पहल गर्नुहुने प्रदेश सांसदद्वय माननीय रामकुमार राई, राजन राई र स्थानीय युवा नेता हस्त राई ‘आमोद’, राजुविक्रम चाम्लिङ, प्रदीप राईलाई होलेसुङ समूह नेपालले धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्