सम्बन्धित वडावासीले आफ्ना जनप्रतिनिधिबारे जान्न, बुझ्न खोज्नु स्वाभाविकै हो । मतदाताले जनप्रतिनिधिको वास्तविकता बुझ्नु, पढ्नुपर्छ । वडावासीले जनप्रतिनिधिको ‘जीवनशैली’ बुझ्न चाहे पनि सोध्न सकेका हुँदैनन् । यसपटक तुवाचुङ डटकमले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईको जीवनशैली प्रस्तुत गरेको छ ।
खानपिन
भोजनभन्दा भोक मीठो लाग्छ । मलाई यही र यस्तै खाना चाहिन्छ भन्ने छैन । फरक–फरक स्वादका परिकार खान मन पराउनु मानवीय स्वभाव हो । काठमाडौंमा जाँदा मःमः खान्छु । खोटाङमा रहँदा काठमाडौंकै स्वाद सम्झेर मःम खाइन्छ । म मांशहारी हुँ । सबै खानेकुरा उस्तै लाग्छ । हिजोआज जति नमीठो खानेकुरा खायो, त्यति स्वास्थ्यलाई फाइदा गर्छ । सानोछँदा अमिलो, तीतो, पिरो खानै नपरोस्जस्तो लाग्थ्यो । हिजोआज त्यस्तो लाग्न छाड्यो । काठमाडौं जाँदा पनि खानैका लागि रेष्टुरेन्ट धाउँदिनँ । तर, खाना, खाजा खाँदा सामान्य होटल तथा रेष्टुरेन्ट जानैपर्छ ।
तर, खानेकुरा बनाउने मामिलामा ‘इन्जोए’ गर्छु । साथीभाइसँग रमाइलो गर्दा आफैं खानेकुरा पकाउँछु । मैले पकाएको खानेकुरा खानेले राम्रै प्रतिक्रिया दिने गरेका छन् । मासु ‘रोस्ट’, चिकेनचिल्ली, बफचिल्ली, बंगुरको सेकुवा बनाउन असाध्यै जाँगर चल्छ । रोटी, पुरी, नान र तरकारी आफैं बनाउँछु । मैले ‘कुक’ तालिम पनि लिएको छु । नयाँ–नयाँ स्वादका परिकार ‘मिक्स’ गर्दा कस्तो हुन्छ होला ? भन्दै घरमा बस्दा फरक–फरक स्वादका परिकार बनाइरहन्छु ।
पहिरन
पहिल्यैदेखि जिन्स कपडामा लगाउँदै आएको छु । क्याजुयल कमै लगाउँछु । मैला नदेखिने कपडा रोजाइमा पर्छन् । कपडामा यति नै खर्च हुन्छ भन्ने छैन । कपडा हेरीहेरी हुन्छ । किन्न जाँदा आफूसँग कति पैसा छ, त्यसमा भर पर्छ । तर, कपडा किन्दा बजारमा चलेको राम्रै किन्ने गरेको छु ।
प्रायः टोपी लगाउँदिनँ । गाउँघरमा रहँदा कहिलेकाहीं लगाएको थिएँ । तर, रेबन चस्माचाहिँ लगाउँछु । मसँग चस्माको ‘कलेक्सन’ छ । चस्मा किनिरहने पसलेले नयाँ चस्मा आउनसाथ जानकारी गराउँछन् ।
व्यायाम
काठमाडौं बस्दा बिहान–बिहान जिम जान्थें । हिजोआज गाउँघरतिरै छु । पहिले जिम गर्ने सोख थियो । घरमा जिमका सामान छन् । बिहान–बिहान जिम गरेजस्तै गर्छु । स्वास्थ्यका नाममा ‘डाइटिङ’ गर्ने बानी छैन ।
पठनपाठन
विशेषतः जीवनी पढ्न मन जाँगर चल्छ । नाम चलेका व्यक्तिको जीवनी पढ्न कम्ती आनन्द लाग्दैन । साहित्य र आलेख पढ्न त्यति जाँगर चल्दैन ।
घुमघाम
घुमघाममा रुचि छ । समय मिलाएर साथीभाइसँग गाउँठाउँ घुम्न निस्कन्छौं । नयाँ–नयाँ ठाउँ घुम्दा ‘रिफ्रेस’ अनुभूति हुन्छु । घुम्नकै लागि नभए पनि बेलायत पुगेको छु । वर्ष दिन बेलायत बसेको थिएँ ।
खोटाङमा सबै ठाउँ घुम्नलायक छन् । जिल्लाका लगभग सबै ठाउँ पुगेको छु । टेकेको छु । घुमेको छु । त्यसमध्ये हलेसी, मुढे, रूपाकोट, ऐंसेलुखर्क, बाक्सिला, खोटाङ बजारलगायत सबै मन पर्छ । दक्षिणी भेग उस्तै लोभलाग्दो लाग्छ । तर, मलाई आफू जन्मेको बुइपा भने असाध्यै राम्रो लाग्छ ।
फुर्सद
व्यस्त रहन खोज्नु मानवीय स्वभाव हो । जनप्रतिनिधि भएपछि व्यस्त भइन्छ । मान्छे व्यस्तभन्दा अस्तव्यस्त बढी हुन्छन् । फुर्सद भइहाल्दा साथीभाइसँग बस्ने, गफ गर्ने गर्छु । समय–समयमा काठमाडौं जाँदा घुमिहालिन्छ । वर्षमा दुई/चारपटक घुम्नकै लागि परिवारसँग निस्कन्छौं ।
खेलकुद
म खेलकुदप्रेमी हुँ । मलाई फुटबल खेल्न असाध्यै मन पर्छ । पहिले पनि जानीनजानी फुटबल खेलेको थिएँ । दुई/चार वर्ष अघिसम्म फुटबल खेलेको थिएँ । मलाई ‘नेसनल टिम’ मन पर्छ ।
मोबाइल
मसँग दुई मोबाइल सेट छन् । ब्याट्री धेरै टिक्ने भएकाले तीन हजार ७ सयमा नोकिया सेट किनेको हुँ । अर्को सामसुङ हो । यसको २६ हजार रुपैयाँ परेको थियो । मोबाइलका एप्लिकेसनसम्बन्धी त्यति ज्ञान छैन । सामाजिक सञ्जाल फेसबुकमात्रै चलाउँछु भन्दा फरक पर्दैन ।
टेलिभिजन
टेलिभिजनमा समाचार हेर्छु । समय मिलाएर ‘मुभी’ हेर्छु । स्पोर्टस्मध्ये फुटबल ध्यानपूर्वक हेरेको हुन्छु । ‘मुभी’ हेरे पनि सुरुदेखि अन्तिमसम्म हेरेको ‘रेकर्ड’ छैन । हेरेकामध्ये दयाहाङ राईको कबड्डी–कबड्डी राम्रो लाग्यो ।
सुस्वास्थ्य
अहिलेसम्म स्वस्थ छु । आजसम्म सिकिस्त बिरामी भएर अस्पताल जानुपरेको छैन । आजसम्म ‘होलबडी चेकअप’ समेत गराएको छैन ।
भाषण
भन्न खोजेको विषय प्रस्ट राख्न सक्नु भाषण गर्नेको कला हो । भाषण गर्ने कला नभए पनि भन्न खोजेको विषय बुझाउने प्रयत्न गर्छु । कतिपयले माइकको अघि पर्नसाथ ठूलो आवाजमा चिच्याउँछन् । तर, मचाहिँ त्यस्तो गर्दिनँ । सामान्य बोलीचालीमा दोहोरो गफ गरेजस्तै भाषण गर्ने गर्छु । सबैले बुझ्नेखालको भाषण गर्नुपर्छ भन्ने मान्यता राख्छु । शुभचिन्तकले मलाई भाषण सुर्धानू भन्नुभएको छ ।
मापसे
आजसम्म मादक पदार्थको स्वाद थाहा छैन । राईकै छोरो भए पनि मादक पदार्थ पिउने लत लागेन । तर पनि खाने साथीहरूसँग बसेर रमाउन सक्छु ।
गीत–संगीत
गीत–संगीत मन नपराउने को होलान् र । म पनि गीत–संगीत छु । गीत–संगीतमा रमाउनुको आनन्द शब्दमा व्यक्त गर्न कठिन हुन्छ । सबै गायक–गायिकाप्रति उत्तिकै सम्मान गर्छु । कसैको स्वर राम्रो हुन्छ, कुनै गीत राम्रो हुन्छ भने कुनैको संगीत राम्रो लाग्छ । एउटा चर्चित गायक–गायिकाले जे गाए पनि राम्रो हुन्छ भन्ने लाग्दैन ।
भूल
म पनि भूलसहितको मानिस हुँ । भूल नगर्ने मानिस सायदै भेटिएलान् । मैले पनि जीवनमा सामान्य भूल गरेको छु । तर, पश्चाताप लाग्नेखालको भूल गरेजस्तो लाग्दैन । कहिलेकाहीं कसैले भनेको काम गर्न नसक्दा पश्चाताप लाग्छ ।
घर
हामी संयुक्त परिवारमै छौं ।
राशी
मेरो राशी मीन हो । ग्रहदशा हेराउने बानी छैन । घरमा मन्दिर बनाएकाले पूजापाठ गर्दै आएको छु ।
सौन्दर्य
आफ्नो वास्तविक सौन्दर्यमा गर्व लाग्छ । अनुहार केही लगाउँदिनँ । केशमा तेलसम्म हाल्छु । मलाई पफ्र्युमको एलर्जी छ । अरूले लगाएकोले पनि असर गर्छ ।
शुभविवाह
प्रेमलाई मागीबिहेमा रूपान्तरण गर्यौं । तीन÷चार वर्षसम्म हामी सामान्य कुराकानीमै सीमित रह्यौं । त्यसैले हाम्रो सम्बन्ध अनुशासित थियो ।