
गणतन्त्र स्थापनापछि राजनीतिकर्मीमा पारदर्शिता कत्तिको देख्नुहुन्छ ?
प्रजातन्त्र पुनःस्थापना होस् कि गणतन्त्र स्थापनापछि हाम्रा नेतृत्व र कार्यकर्ता आर्थिक विसंगतिमा चुकेकै छन् । लोभलाग्दो जीवनशैली आत्मसात् गर्नेक्रममा अपवादबाहेका सबै राजनीतिक नेता गलत ढंगबाट अर्थोपार्जनमा लागेकै हुन् । संवत् २०४६/४७ पछि मसँगै राजनीति थाल्ने कतिपय साथी वैकल्पिक व्यवसायै नगरी सहरमा भव्य महलका मालिक, चिल्ला गाडीधनी भएका छन् । शीर्ष नेतृत्वले लगातार सत्तासँग साइनो गाँसिरहे । उनीहरूकै सम्पत्ति र वैभवको चर्चा गरिसाध्य छैन । सम्पत्ति पनि कति चाहिएको हो ? सुशासनको भाषण गर्न जति सजिलो छ, कार्यान्वयन त्यति सजिलो छैन ।
उत्पादनसँग बिचौलियाको भूमिका लुट हो कि समाधान ? कि नीतिमै दोष देख्नुहुन्छ ?
उत्पादन र सेवासँग बिचौलियाको सन्दर्भ जोडिन्छ । बिचौलियालाई नियमन र अनुगमनमा समेटेर सेवा सहजकर्ताका रूपमा बदल्न सके उसको पनि जीवन निर्वाहको बाटो बन्ने हो । तर, उत्पादन गर्ने व्यक्ति वा संस्थालाई ठगेर नाफा खानेगरी तेस्रो पक्ष हाबी भयो भने विसंगति मानिन्छ । यसर्थ, यस्ता विषयमा राज्यले निगरानी, नियमन र अनुगमन गरेर कसैलाई अन्याय नहुने गरी नीति र थितिमा बाँध्नुपर्छ ।
पहिचानको आन्दोलनलाई कसरी लिनुभएको छ ?
पहिचान भनेको अथाह विषय हो, जसलाई राज्य वा जिम्मेवार जनप्रतिनिधि, तीनै तहका सरकारले आत्मबोध गर्न सकिरहेका छैनन् । आन्दोलनका अभियन्तै प्रस्ट छैनन् । कहिले मान्छे मर्ने, मार्ने ढंगबाट आन्दोलन चर्काउने अनि नामोनिशानै हराउने गरी मौन बस्नाले पहिचानको मुद्दाले मूर्तता पाउन नसकेकै हो ।
तपाईं राजनीति र साहित्यमा सक्रिय हुनुहुन्छ । समय कसरी मिलाउनुहुन्छ ?
सामान्य नागरिकका रूपमा जीवनचर्या बिताउँछु । आर्थिक व्यवस्थापनलाई निम्नमध्यम वर्गको हैसियतमा राजनीति र साहित्यलाई अगाडि बढाउँदै छु । आत्मनिर्भर र आत्मस्वाभिमानसाथ राजनीतिमा निरन्तर लाग्न परिवारको योगदान र भूमिकाले सहयोग पुर्याएको छ ।
पठन संस्कृति कमजोर बन्दै गएको अवस्थामा लेख्न र पढ्न जाँगर चलाउन तीन/तीन उपाय के–के हुन सक्लान् ?
–सर्जक जहिल्यै नयाँ–नयाँ संसार खोजीमा हुन्छन् । आमनागरिकभन्दा उनीहरूको स्वभाव केही बेग्लै हुन्छ । त्यो स्वभाव कहिल्यै मर्न दिनुहुँदैन ।
–सर्जक नवीन प्रविधिसँग जिज्ञासु रहिरहनुपर्छ ।
–कुनै विषय वा सन्दर्भले छोयो भने तत्काल पाठकबीच पस्किहाल्नुपर्छ । पाठक सर्जकको दिग्दर्शक हुन् । स्वस्थ र सिर्जनात्मक सुझाव, सल्लाह दिएर घच्घच्याइरहनुपर्छ । आफूले पनि सिर्जनामा हात हाल्न अप्ठ्यारो वा संकोच मान्नुहुँदैन । सबै सर्जक पहिले पाठकै हुन् ।
तपाईंले समाजका लागि गरिसकेको काम र गर्न बाँकी काम के छ ?
समाज र समुदायका लागि जे–जे गरियो छर्लंगै छ । म ०४७ देखि खोटाङे आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीसँग हातेमालो गरेरै हिँडिरहेको छु । खोटाङे जनतासँग हातमा हात साथमा साथ मिलाएर सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता एकाकार बन्दै भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षालगायतका आमनागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा निरन्तर दत्तचित्तसाथ लागिपरें । ती सबै काममा अन्य राजनीतिककर्मीसाथ मेरो पनि सानो/ठुलो भूमिका रहेको भन्ठान्छु ।
धेरै काम गर्नै बाँकी छन् । गुणस्तरीय भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन र व्यक्ति–व्यक्तिको आर्थिक अवस्था सुदृढीकरणका लागि काम गर्नै बाँकी छन् । उल्लिखित काम गर्न सबै राजनीतिक दल र खोटाङे मिल्नुको विकल्प छैन । एकतै बल हो भन्ने कसैले बिर्सनुहुँदैन । राजनीतिक विचार र संगठनले खोटाङेलाई विभाजित होइन, जोड्ने काम गर्नुपर्छ । त्यस्तो पुण्य काममा लाग्न ढिला गर्न हुँदैन ।
प्रस्तुति : सोनाम सज्जन किराती



