संस्कृति बचाउन रोल्पामा मगर संग्रहालय


रोल्पा । मगर संस्कृति लोप हुन लागेको भन्दै संरक्षणका लागि रोल्पामा मगर संग्रहालय स्थापना गरिएको छ । मौलिक कला संस्कृति लोप हुनेगरी देखिएको आधुनिकताले मगर पहिचान गुम्न थालेको भन्दै मगर अगुवाले संग्रहालय स्थापना गरेका हुन् ।

मगरको घना बस्ती रहेको रोल्पामा कला, संस्कृति, रहन–सहन र भेषभूषा संरक्षण गर्दै पुस्ता हस्तान्तरणका लागिसमेत संग्रहालय स्थापना गरिएको मगर संग्रहालय अध्यक्ष भीमबहादुर बुढाले बताए ।

संग्रहालयमा मगरले प्रयोग गर्ने भाँडावर्तन, लत्ताकपडा, बाजागाजा र जीविकासँग सम्बन्धित सामग्री राखिएका छन् । मगर समुदायले उत्पादन गरेका सामान खरिद तथा बिक्रीको सेवासमेत दिँदै आएको संग्रहालयले आगामी दिनमा सेवा अझै व्यवस्थित बनाउने योजना बनाएको अध्यक्ष बुढामगरले जानकारी दिए ।

पर्यटन प्रवद्र्धनका लागि यस्ता संग्रहालय सहयोगी हुने भएकाले यसको थप विकास र प्रवद्र्धनमा राज्यले लगानी गर्नुपर्ने मगर अगुवाले बताएका छन् । पछिल्लो जनगणनाअनुसार रोल्पामा ४४ प्रतिशत मगरको जनसंख्या छ । आफ्नै भाषा, संस्कृति, भेषभूषा र संस्कार संस्कृति भएका मगरको मौलिकता जोगाइराखे जिल्लाको पर्यटन विकासमा समेत टेवा पुग्ने पर्यटनका जानकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्