मुग्लिन (चितवन) । जिल्लाको इच्छाकामना गाउँपालिकास्थित विद्यालयका विद्यार्थी नियमित विद्यालय जाँदैन । चेपाङ समुदायको बाहुल्य रहेका बस्तीका विद्यालयमा अध्ययनरत विद्यार्थी नियमित विद्यालय जाँदैनन् ।
कक्षा ३ सम्म पठनपाठन सूर्यज्योति राष्ट्रिय आधारभूत विद्यालयमा ३५ विद्यार्थी भर्ना भएका छन् । तर, २० जनाको हाराहारीमा विद्यालय जान्छन् । अधिकांश चेपाङ बालबालिका अध्ययनरत यस विद्यालयका विद्यार्थीले कापी, कलम नलैजाँदा पठनपाठनमा समस्या हुने विद्यालयकी प्रधानाध्यापक सकिला जोशीले बताइन् ।
‘चेपाङ बालबालिका नियमित विद्यालय आउँदैनन्,’ प्रधानाध्यापक जोशीले थपिन्, ‘आएकाले पनि कापी, कलम ल्याउँदैनन् । त्यसैले पठनपाठनमा समस्या छ ।’ विद्यालय खाजा कार्यक्रम हटेपछि चेपाङ बालबालिका नियमित विद्यालय आउन छाडेको उनले सुनाइन् ।
प्रधानाध्यापक जोशीका अनुसार भौगोलिक विकटताले यस विद्यालयमा सहयोगी संस्था पुग्न सकेका छैनन् । विद्यालयले पनि विद्यार्थीलाई कापी, कलम दिन सकिने अवस्था छैन । इच्छाकामना गाउँपालिका–२ कै आधारभूत राष्ट्रिय विद्यालय मायाटारमा समेत चेपाङ विद्यार्थी कापी, कलमविना विद्यालय जाने गरेको प्रधानाध्यापक पदमबहादुर चेपाङले बताए । एक सय ७३ विद्यार्थी रहेको यस विद्यालयमा ७५ प्रतिशत चेपाङ सुमदायका बालबालिका अध्ययनरत छन् ।
कक्षा एकदेखि आठसम्म पढाइ हुने यस विद्यालयमा ८०/८५ विद्यार्थीमात्र नियमित जाने गर्छन् । वडा नम्बर ६ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय चनौटेको समस्या पनि उस्तै छ । कक्षा एकदेखि आठसम्म पढाइ हुने सो विद्यालयमा पनि १२५ विद्यार्थी भर्ना भएका छन् ।
विद्यालयको नियमित हाजिरीमा भने ७०.७५ जनाको हाराहारीमा मात्र देखिन्छ । विद्यालयमा आउँदा अधिकांश विद्यार्थीले कापी, कलम ल्याउँदैनन् । यहाँ भने घर्ती समुदायका बालबालिका अध्ययनरत छन् । घर्ती समुदायको पनि आर्थिक अवस्था र चेतना स्तर चेपाङ समुदायको जस्तै रहेको विद्यालयका सहयोगी कर्मचारी कृष्णबहादुर घर्ती बताउँछन् ।
आर्थिक अभावका कारण विद्यार्थी नियमित विद्यालय नआउने राष्ट्रिय आधारभूत विद्यालयकी प्रधानाध्यापक भावना खनियाँ बताउँछन् । विद्यार्थी विद्यालय आउँदा कापी, कलमसमेत नलिईकन आउने उनले बताइन् । विशेषगरी जाडोमा न्यानो कपडा नहुनु र विद्यालय खाजा कार्यक्रम व्यवस्था नहँुदा बालबालिका नियमित आउन नसकेको प्रधानाध्यापक खनियाँको भनाइ छ ।
गाउँपालिकाका शिक्षा अधिकृत दीपक सिग्देलले विशेषगरी चेपाङ बालबालिकालाई नियमित विद्यालयसम्म ल्याउन कठिनाइ भएको स्वीकार गर्नुहुन्छ । सिग्देलका अनुसार आर्थिक अभावका कारण नै चेपाङ बालबालिका नियमित विद्यालय आउँदैनन् ।
रोकिएको खाजा कार्यक्रम निरन्तरता दिनुपर्ने सिग्देलको भनाइ छ । विपन्नता र गरिबीका कारण विशेषगरी चेपाङ समुदायका बालबालिकालाई नियमित विद्यालय ल्याउन कठिनाइ भइरहेको छ । उनीहरूको बसोवास रहेका यस गाउँपालिकाका विद्यालयमा खाजा कार्यक्रम अझै पनि आवश्यक रहेको सिग्देलको भनाइ छ ।