पाठकपत्र : ‘विरोधी भाषा भनेर नबुझ्न अनुरोध छ’


तुवाचुङ साप्ताहिक सम्पादकज्यू
नमस्कार ।

देशको चौथो अंग भनेर चिनिने पत्रकारिता पेसालाई नेपाली शब्दकोशको सबैभन्दा सम्मानित भाषामा नमन गर्दछु । हजुरले यस पेसाप्रति अनुभवी, सकारात्मक, न्यायिक निष्पक्ष तथा राष्ट्रिय पत्रकारितामा समेत अब्बल रही समग्र राष्ट्रिय पत्रकारितनमा समेत योगदान पुर्याउनुभएको छ ।

तुवाचुङ साप्ताहिकले विश्वास गरी भूमिका दिइएको व्यक्तिचाहिँ अपवादमा गलत साबित भए । उसले यस पवित्र, निष्पक्ष क्षेत्रलाई धमिल्याउने असफल प्रयास गरिरहेका छन् । किनकि पारिवारिक तथा व्यक्तिगत रिसइबीलाई पत्रकारिताको माध्यमबाट मानहानि तथा कुटिल प्रहार गर्ने अस्त्रका रूपमा दुरुपयोग गरिँदै छ ।

सम्पादक महोदय,

मजस्तो सामान्य व्यक्तिलाई अतिरञ्जित तरिकाले पत्रकारिताको माध्यमबाट सुनियोजित आक्रमण गरिएको छ । हलेसी–रेग्मीटार ग्रामीण सडकसँग जोडेर मलाई कामै नगरी हाजिरा माग्यो भनी आरोप लगाइएको छ । हलेसी–रेग्मीटार ग्रामीण सडक निर्माण उपभोक्ता समिति सचिव दीपेन्द्र बस्नेतले भन्यो भनेर समाचारमार्फत आरोप लगाइएको छ । बिचरा बस्नेतलाई यस कथाको कथन नै थाहा छैन । समाचार तयार पार्दा संवाददाताले आवश्यक प्रमाण त जुटाउनुपर्ला नि ? रिस उठ्यो भन्दैमा जे पनि लेख्न पाइन्छ ?

अर्को प्रसंगमा, भूपसेर राईको जग्गा १० लाख रुपैयाँमा डोमा शेर्पालाई बेचे पनि जग्गाधनीलाई तीन लाख दिएर सात लाख एगिन्द्र राईले लिएको भनिएको छ । यस विषयमा भूपसेर राई र डोमा शेर्पालाई पनि सोध्नुपर्ला नि ? कि जति मन लाग्यो त्यति लेख्न पाइन्छ ? म सहभागी भएर त्यस्तो आपराधिक काम गरेको भए प्रमाण पेस गर्नुपर्यो । कपोलकल्पित समाचारदाताको भूमिका निर्वाह गर्नेले द्वन्द्व निम्त्याउनेबाहेक कोही कसैलाई हित गर्दैन ।

यो संवाददाताले लाटो गाउँको गधा तन्नेरी बनेर दुनियाँलाई पेलेर तेल निकालेको ज्वलन्त उदाहरण यहाँ उल्लेख गरेको छु ।

(१) चोमोलुङ्मा सेवा समाजको खुलेको १५,०००/– र खुल्न बाँकी रकमसमेत हिनामिना गरेको ।

(२) कुम्भराज राईको महँगो घडी पचाइएको ।

(३) हलेसी क्षेत्रको वित्तीय क्षेत्रलाई उकास्न सुरुवात गरिएको जनहित सहकारी संस्थाको एक लाख रुपैयाँ पाँच वर्षअघि चलाए पनि फिर्ता गर्न बेवास्ता गरिएको छ । यस्ता विषय लेख्दै जाने हो भने कति छन् कति । त्यस्ता गलत कामको समाचार म कहाँ दिऊँ ? प्रमाणसहित पेस गर्न लगाउनुहुन्छ भने म जुटाउँछु । नत्र संवाददाताको दादागिरी कहिलेसम्म सहने ? त्यसैले गुनासा पोख्न बाध्य भएँ ।

तपाईंलाई पत्र लेख्दा शब्द–शैली मिलाउन सकिनँ होला । हजुरजस्तो प्रतिष्ठित पत्रकारमाथि अनावश्यक ठेस पुर्याएमा माफी माग्छु । विरोधी भाषा भनेर नबुझ्न अनुरोध छ ।

संवाददातापीडित

एगिन्द्र राई

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान ऐंसेलुखर्क, खोटाङ ।

प्रतिक्रिया दिनुहोस्