गोदावरी (ललितपुर) । गोदावरी नगरपालिका–४ बडिखेल ललितपुरका पहरी समुदायको पहिचान बेतबाँससँग गाँसिएको छ । उनीहरूले बेतबाँसबाट हस्तकलाका विभिन्न सामग्री निर्माण गर्छन् । उनीहरूको सदीयौंदेखिको पुख्र्यौली पेसा बेतबाँससँग जोडिएको छ । उनीहरूले बेतबाँसबाट हस्तकलाका विभिन्न सामग्री निर्माण गरी बिक्री गर्दै जीविकोपार्जन गर्दै आएका छन् ।
दशकपहिले बडिखेलका ९५ प्रतिशत पहरीले बेतबाँसको काम गरी जीवन निर्वाह गर्थे । हिजोआज ६० प्रतिशतले मात्र यो काम गर्ने गोदावरी नगरपालिका–४ का वडाध्यक्ष मुकुन्दबहादुर पहरीले जानकारी दिए ।
‘यो हाम्रो सदीयौंदेखिकोे पुख्र्यौली पेसा हो,’ वडाध्यक्ष पहरीले चिन्ता गरे, ‘हिजोआज हाम्रो समुदायका ४० प्रतिशत मानिस अध्ययन गर्ने, विदेश जाने र भिन्नभिन्न पेसामा आकर्षित हुँदा हस्तकला व्यवसाय विगतको तुलनामा पछि पर्दै गएको हो ।’
पहरीले बेतबाँसबाट नाङ्ला, डाला, र्याक, डस्टबिन, टोपी, गमला, भित्तेघडी बनाउने गर्छन् । अन्य स्थानका पहरीको तुलनामा विशेषतः बडिखेलका पहरीको पहिचान बेतबाँसबाट हस्तकलाको सामग्री निर्माणमा अब्बल मानिन्छन् । त्यसैले बडिखेलमा हस्तकला कसरी निर्माण हुन्छ भन्ने अध्ययन, दृश्यावलोकन गर्न शोधपत्रका विद्यार्थी, विभिन्न संघ–संस्थामा आबद्ध र बाह्य पर्यटक पुग्ने गर्छन् ।
स्थानीय शिवराम पहरीले बडिखेलमा पर्याप्तमात्रामा बेतबाँस नपाइने हँुदा ललितपुरको सिस्नेरी, लुभु, लामाटार र लेले जानुपर्ने बाध्यता रहेको सुनाए । ‘गर्मीमा बाँसको पालुवा पलाउँछ, त्यसैले मंसिर, पुस र माघभरि वर्ष दिनलाई पुग्ने बेतबाँस जोहो गर्छौं,’ शिवरामको भनाइ छ, ‘एउटा बेतबाँसको मूल्य २५० देखि ३०० रुपैयाँ पर्छ । त्यसैले बाँस खोज्न र ल्याउन निकै परिश्रम गर्नुपर्ने भएकाले चार–पाँचजनाले सहकार्य गर्नुपर्छ ।’
पहरीले पहिलो चरणमा बाँस खोज्न जाने, काट्ने, बोकेर थुपार्ने, गाडीमा हाल्ने, घर ल्याउने, खसाल्ने, चिर्ने, टुक्र्याउने, सुकाउने र भण्डारण गर्ने गर्छन् । दोस्रो चरणमा घर बसी एकले बाँस खुर्किने, चिर्ने, चोया बनाउने र अन्यले बुन्ने गर्दा जति बुन्यो त्यति धेरै सामग्री उत्पादन हुने उनीहरूको स्वीकारोक्ति छ ।
‘दिनमा जतिवटा नाङ्ला, डाला, र्याक, डस्टबिन, टोपी, गमला, भित्तेघडी बुनिन्छ, बुनेकामध्येबाट आधा नाफा हुन्छ,’ बडिखेलकी अम्बिका पहरीले भनिन्, ‘एउटा नाङ्लाको मूल्य २०० देखि २५०, डालाको २५० देखि ३००, र्याक र डस्टबिनको ३०० देखि ३५०, गमलाको ४० देखि ६०, टोपी र भित्तेघडीको ३०० देखि ४०० रुपैयाँ लिन्छौं ।’
पहरीले बुनेका हस्तकलाको सामग्रीको बजार व्यवस्थापन अभावका कारण बिचौलियाले बजारमा मनलाग्दो दरमा उनीहरूसँग सामग्री खरिद गरी बिक्री गर्ने गर्छन् । वडाले ती सामग्रीको बजार व्यवस्थापन गर्न छिट्टै पहल गर्ने जानकारी दियो ।
बाँसको हस्तकला निर्माणमा पहरी समुदाय त केवल साधनका रूपमा प्रयोग भएका छन् । यो समुदायमा महिनैपिच्छे एउटा चाड पर्छ । घर व्यवहार धान्न, रीतिरिवाज, परम्परा, संस्कृति, चाडबाड मनाउन उनीहरूले दैनिक हस्तकला निर्माण गर्छन् । उनीहरू हरेकका नाममा व्यक्तिगत जग्गा त छ तर वर्ष दिन खान पुग्ने छैन । आफूले कुन किसिमको हस्तकला सामग्री बुन्न जानेको छ, त्यो बुन्छन् ।
नेपालमा रहेका ५८ जनजातिमध्ये २८औं स्थानमा पहरी पर्छन् । पहरी समुदाय सीमान्तकृत वर्गभित्र पर्छन् । ललितपुरको साबिक गोटिखेल, छम्पी, लेले, बडिखेल, झरुवारासी, चापागाउँ, गोदावरी गाविसमा १८ हजार पहरीको जनसंख्या छ । त्यसमा ६ हजार बडिखेलमा रहेको पहरी विकास संघको तथ्यांकमा उल्लेख छ ।
विशेषगरी प्रदेश ३ को काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, मकवानपुरमा पहरीको बाहुल्य छ । अन्य जिल्लाको तुलनामा ललितपुरका पहरीले बढीमात्रामा बेतबाँसबाट नाङ्ला, डाला, र्याक, डस्टबिन, टोपी, गमला, भित्तेघडी बुन्दै जीवन निर्वाह गर्छन् ।
आधुनिक किसिमको विद्युतीय बाँस काट्ने प्रविधि बडिखेलमा भित्रिएको छ । बडिखेलवासीले आफ्नो सामग्री प्रचार–प्रसार गरी बिक्री गर्न ललितपुरको टौखेल, कुपन्डोललगायत काठमाडौँको लाजिम्पाट र पानीपोखरीमा पसल खोली आफ्नो सीपमा थप टेवा पुर्याएका बताइन्छ ।