मंगलटारका समाजसेवी राईद्वारा छोराको सम्झनामा ३० हजार सहयोग


मंगलटार (खोटाङ) । विश्वव्यापी कोरोना महामारी दृष्टिगत गर्दै समाजसेवी पदम राईले स्व. सिजन राईको सम्झनामा हलेसी तुवाचुङ नगरपालिकाको नगरस्तरीय विपत् व्यवस्थापन कोषका लागि ३० हजार रुपैयाँ सहयोग गरेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारनिवासी समाजसेवी राईले हलेसी तुवाचुङ नगरपालिकाको माछापुच्छ्रे बैंक लिमिटेड, हलेसी शाखामा रहेको नगरस्तरीय विपत् व्यवस्थापन कोषको खाता नम्बर ७७०१५२४६५०९१७१७९ मा ३० हजार रुपैयाँ संकलन गरेका हुन् ।

‘स्व. सिजन राई स्मृति प्रतिष्ठानले सालिन्दा जेठ १६, १७ र १८ गते भलिबल प्रतियोगिता र मंगलटारका सबै विद्यालयका विपन्न तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको थियो,’ समाजसेवी राईले भने, ‘यस वर्ष कार्यक्रम गरी प्रतियोगिता गर्न र छात्रवृत्ति वितरण गर्न नसकिएकाले छोराको सम्झनामा नगरस्तरीय विपत् व्यवस्थापन कोषका लागि ३० हजार रुपैयाँ सहयोग गरेको हुँ ।’

दुर्छिम–मंगलटार–घोपाटार सडक निर्माणार्थ संवत् २०६८ सालमा सोलखुम्बुबाट स्काभेटर ल्याउनेक्रममा सिजन राईको रँभुवामा ज्यान गएको थियो ।

हलेसी तुवाचुङ नगरपालिका नगर प्रमुख तथा नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समिति संयोजकसमेत रहेका इवन राईले गत चैत २२ गते बसेको बैठकलाई सम्बोधन गर्दै सहयोग गर्ने इच्छुकलाई खाता नम्बर ७७०१५२४६५०९१७१७९ मा नगद संकलन गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्