तोडियो हलेसी तुवाचुङ नगरपालिकाको ‘सिल’



हलेसी (खोटाङ) ।  हलेसीका २० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएपछि गत जेठ ६ गतेदेखि हलेसी तुवाचुङ नगरपालिकामा गरिएको ‘सिल’ शनिबारदेखि हटाइएको छ ।

हलेसी तुवाचुङ नगरपालिकामा शनिबार बसेको सर्वदलीय बैठकले बन्दाबन्दीलाई कडाइ गर्दै सिल हटाउने निर्णय गरेको नगर प्रमुख इवन राईले जानकारी गराए ।

‘खाद्यान्न, तरकारी तथा औषधि आयातमा सहज गर्ने निर्णय गरेका छौं,’ नगरप्रमुख राईले भने, ‘तर, न्यूनतम सर्त पालना गर्नुपर्नेछ । सुरक्षा सतर्कता अपनाउन नगरमा गुड्ने सवारीसाधन अनिवार्य सेनिटाइजर गरिनुपर्नेछ ।’

हलेसी तुवाचुङ नगरपालिका खोटाङ प्रवेश गर्ने मुख्य नाका हो । ‘त्यसो भएकाले मुलुकभरिका सवारीसाधन विनारोकतोक गुड्छन् । त्यसबाट पनि संक्रमण फैलने उच्च सम्भावना रहन्छ,’ उनको भनाइ छ, ‘बन्दाबन्दीमा पनि नगरपालिका भएर गुड्ने सवारीसाधनलाई जयराममा सेनिटाइजर गरिनुपर्छ । सम्बन्धित सवारीसाधन जुन पालिकासम्म जान लागेको भए पनि नगरभरि रोक्न नपाइने निर्णय गरी टाइमकार्ड व्यवस्था गरिनेछ ।’

नगर सिल गरिएपछि रोकिएका नगरभित्रका निर्माणकार्य पुनः सञ्चालन गर्ने सर्वदलीय निर्णय भएको छ । तर, सामाजिक सुरक्षा दूरी कायम गरी स्वास्थ्य सतर्कता अपनाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्