‘कृषिलाई गर्विलो पेसा बनाउन सकिएन’


‘कृषिमा लाग्नेले धैर्य गर्न सक्नुपर्छ,’ तरकारी किसानका रूपमा लोभलाग्दो परिचय बनाएका हलेसी तुवाचुङ नगरपालिका–७ ऐंसेलुखर्क, खोटाङनिवासी दुर्गा राई भन्छन्, ‘कृषिबाट आम्दानी लिन समय लाग्छ ।’ कृषिलाई गर्विलो पेसा बनाउन नसकिएको तरकारी किसान राईको भनाइ छ । कृषिको महत्व बुझाउन नसक्दा कृषिलाई गर्विलो पेसा बनाउन सकिएन भन्ने दुर्गा राईसँग तुवाचुङ डटकमका लागि एनसी राईले गरेको कुराकानीको सम्पादित अंश :

प्राकृतिक प्रकोपबाट सालिन्दा किसान पीडित छन् । यसबाट जोगिन किसानले के–के गर्नुपर्छ ?

प्राकृतिक प्रकोपबाट जोगिन प्रत्येक किसानले कृषि बीमा अनिवार्य गर्नुपर्छ । कृषि बीमा स्थानीय तहबाटै सुरु गरिएको छ । प्राकृतिक प्रकोपबाट नदीकिनार र खोलाकिनारमा खेतिपाती गर्न धेरै पीडित छन् । त्यस्ता ठाउँका खेतियोग्य जमिन बगरमा परिणत भएका छन् । कृषि बीमा गर्नेले राहत अनुभूति गर्न सक्लान् । नगर्नेले पुर्पुरोमा हात राखेर चिन्तन गर्नुको विकल्प छैन ।

तपाईं कृषिमा रमाइरहनुभएको छ । तर, युवा पुस्ताले कृषिमा भविष्य देख्दैनन् किन ?

कृषिमा लाग्नेले धैर्य गर्न सक्नुपर्छ । कृषिबाट आम्दानी लिन समय लाग्छ । उत्पादनलाई नगदमा परिणत गर्न सकिरहेका छैनौं । उद्यममै भविष्य देख्ने तथा खोज्ने युवा कमै छन् । किसानलाई सकारात्मक रूपमा हेर्ने कमै हुन्छन् । कृषिलाई गर्विलो पेसा बनाउन सकिएन । यसैबाट पनि मुलुकको अर्थतन्त्र बलियो बनाउन सकिन्छ भन्ने बुझाउन र पढाउन सकिएको छैन । कृषिको महत्व बुझाउन सक्दै सकिएन । त्यतिमात्रै होइन, किसानको आर्थिक सुरक्षा र सम्भावना नदेख्दा युवा पुस्ताले कृषिमा भविष्य देख्नै सकेनन् ।

कृषिलाई उद्योगका रूपमा स्थापित गर्न नसक्नुका कारण ?

कृषि, पर्यटन, उद्योगले धेरैभन्दा धेरै श्रमबजार निर्माण गर्ने हो । त्यसबाट उत्पादित उत्पादनले अर्थतन्त्र बलियो बनाउँछ । विकास निर्माण, स्वास्थ्य, जलविद्युत्, मनोरञ्जनलगायत मानवीय जीवनको आवश्यक पूर्वाधारमा निजी कम्पनीको लगानी धेरै देखिन्छ । तर, कृषिमा लगानी नगन्य छ । जोसँग पुँजी छ, ऊसँग सोच छैन । जोसँग सोच छ, ऊसँग पुँजी छैन । जोसँग पुँजी र सोच दुवै छ, ऊसँग लगानी गर्ने हिम्मत छैन । त्यसैले कृषि उद्योगका रूपमा स्थापित हुनै सकेन ।

हुनेखाने लगानीकर्ताले सुपर मार्केट, हाउजिङ कम्पनी खोलेका छन् । स्टक मार्केटमा रमाएको देखिन्छ । तर, कृषिमा लगानी गरेको कमै होलान् । नेपालबाहेक धेरै देशमा कृषिलाई उद्योगका रूपमा स्थापित गरिएको पाइन्छ । नेपालमा भने साना तथा मझौला किसानले कृषिलाई धानिरहेका छन् । लगानीकर्ताले लगानी गर्नका लागि कृषिलाई सुरक्षित हिसाबले लिन सकिरहेका छैनन् भने सरकारले गरिरहेको प्रयत्न पर्याप्त छैन । त्यसैले पनि कृषि उद्योगका रूपमा स्थापित हुनै सकेन ।

सरकारले किसानलाई कृषि अनुदान पनि दिँदै आएको छ नि होइन ?

सरकारले कृषि प्रणालीलाई दिगो रूपमा अगाडि बढाउन कार्यविधि नबनाएको होइन । उसले किसानको व्यावसायिक सुरक्षाका लागि विभिन्न अनुदान (कृषि सामग्री तथा नगद) दिँदै आएको छ । त्यो पनि स्वयम्सेवक किसानले मात्र पाएका छन् । ऊ कृषिमा प्रतिबद्धसाथ अघि बढेको देखिँदैन । अनुदानलाई विधिका रूपमा मात्रै लिइएको छ । भनाइको तात्पर्य समुचित प्रयोग भएन भन्ने हो । परिणाम पनि त्यस्तै देखिन्छ । लगानी हेर्दा ठूलो देखिन्छ । तर, उत्पादन र बजारमा नतिजा राम्रो नआएकाले अनुदानको सदुपयोग राम्रो देखिएन । मैलेचाहिँ कृषि अनुदान लिएको छैन । आफ्नै बलबुतामा सिक्ने र सिकाउने गर्दै आएको छु । सामान्यतः स्थानीय बजार ‘कभर’ हुने गरी काम गर्दै आएको छु ।

तपाईंको तरकारी खेतीमा के–के उत्पादन हुन्छन् ?

मैले सात हजार किलो बन्दा उत्पादन गर्छु । समूहमा पनि आठ हजार किलो उत्पादन हुन्छ । रायो साग, गाँजर, मुला र बेमौसमी प्याज पनि छन् ।

कृषिमै भविष्य छ भनेर कसरी विश्वस्त हुनुभयो ?

कृषि आफैंमा दिगो व्यवसाय हो । उत्पादन वृद्धि गर्ने र वृहत्तर बजार व्यवस्थापनमा लाग्न सके कृषिमा सुनौलो भविष्य छ । तर, हामीसँग उत्पादन पकेटमा हुनुपर्यो । उत्पादित उत्पादनलाई सही समयमा बेच्न सक्नुपर्यो । नेपालमा यस्ता पनि किसान छन्, जसले निजी व्यवसाय गरेर आर्थिक उन्नति गरेर समाजमा लोभलाग्दो जीवन निर्वाह गरिरहेका छन् । फेरि पनि भन्छु– कृषिमा भविष्य सुनिश्चित छ ।

उत्पादित उत्पादनले बजारमात्रै होइन, उचित मूल्य नपाउँदा बाटोमा फालेर किसानले भद्र आन्दोलन गरेको पनि देखिएकै हो । यस्तो अवस्था आउनुका कारण के हो ?

उत्पादित उत्पादन हामीसँग कति छ ? र, बजारको माग कति हो ? भन्ने आधिकारिक तथ्यांक हामीसँग छैन । उत्पादित उत्पादन तरकारी, फलफूलदेखि मासुसम्मको तथ्यांक कृषि विभागसँग छैन । एक ठाउँको उत्पादन अर्को ठाउँको मागसँग जोड्ने माग र आपूर्तिको डिजिटल प्रणाली छैन । त्यसो हुँदा कसैको उत्पादन खेर गइरहेको छ भने कतिपय उपभोक्ताले त्यही उत्पादनलाई समयमा पाइरहेका छैनन् । समस्या नै यही हो ।

अर्को कुरा हामीसँग कम उत्पादन भएर पनि हो । कम उत्पादन भएपछि ढुवानी पनि खर्चिलो हुन्छ । उत्पादन लागत महँगो हुन्छ । किसानले पकेटमा उत्पादन नगर्दा यस्तो समस्या भइरहेको छ । यसको जिम्मेवार किसान स्वयम् पनि हुन् । आफूले उत्पादन गरेको ग्रेडिङदेखि बजार कसरी खोज्ने ? बजारसम्म जान सक्ने आधार के–के छन् ? गुदी कुरा नबुझी उत्पादनमा जोड दिनाले पनि यो अवस्था आएको हो । कहिलेकाहीं किसानले उत्पादित उत्पादन सडकमा फाले भन्ने सुनिन्छ । तर, त्यही सामग्री बाहिरबाट ल्याएर बेचिरहेका छन् । किसान आफू सचेत नभएर पनि यस्तो भइरहेजस्तो लाग्छ । किसानबीचमा व्यावसायिक एकता हुन नसक्नु पनि यसको मुख्य कारण हो ।

देशबाहिरबाट आएको तरकारीको क्वारेन्टाइन छैन । विदेशबाट सिधै ल्याएर बिक्री गर्न रोकतोक छैन । त्यसो भएपछि स्वदेशी उत्पादन र स्तरीयकरणमा हामीले प्रतिस्पर्धा गर्न सक्दैनौं । यसप्रति कृषि मन्त्रालयको ध्यान गएको छैन ।

कृषिमै भविष्य खोजिरहनुभएको छ । आगामी योजना के छन् ?

उत्पादनमै जोड दिने योजनाबद्ध योजना छ । उत्पादन लागत घटाउन यान्त्रीकरयणमा जाने र उत्पादनमा लागत मूल्य घटाएर नाफा बढाउने नीति अख्तियार गरेको छु । जग्गा भाडामै लिएर भए पनि उत्पादन बढाउनु छ । दैनिकजसो भान्छामा अति आवश्यकीय तरकारी उत्पादनमा जोड दिँदै फलफूल खेतीमा समेत जाँगर चलाउँदै अघि बढेको छु । त्यसका लागि विभिन्न कम्पनी, संघ संस्थासँग सम्झौता गरेर संस्थागत व्यवसायमा लाग्ने योजना छ ।

आफूले उत्पादन गरेको तरकारीको मूल्यमा सन्तुष्ट हुनुहुन्छ ?

यसपटक असोजमा समेत अविरल वर्षा हुँदा बेमौसमी तरकारी खेती गर्ने मारमा परेका छौं । पानी धेरै परेपछि गोलभेंडा खेती डुबानमा परेको छ । हिजोआज गोलभेंडा बजारमा पुर्याउने हो भने मूल्य राम्रो आउँथ्यो । यसको मतलब मूल्यमा सन्तुष्टभन्दा पनि उत्पादित उत्पादन धेरै हुनुपर्यो । ‘मास प्रोडक्सन’ भइसकेपछि थोरै मार्जिनमा पनि धेरै पैसा कमाउन सकिन्छ । थोरै उत्पादनमा धेरै मूल्य खोज्दा किसान निराश छन् । त्यसैले उत्पादनमा जोड दिऔं । तत्काल बिक्री गर्न नसके पनि त्यसको ‘भ्यालु चेन्ज’ गर्न सकिन्छ । जस्तै : धेरै मात्रामा काउली, बन्दा उत्पादन भएमा बिक्री नहुँदा अचार बनाउन सकिन्छ । गोलभेंडाको सस बनाउन सकिन्छ । अत्यधिक मात्रामा उत्पादन गर्ने उद्देश्य भएको हुँदा न्यूनतम हिसाबमा मलाई मूल्यमा ठिकै लाग्छ ।

हलेसीको हकमा बजारीकरणको अवस्था कस्तो छ ?

हलेसीमा बजार व्यवस्थापन सहजै छ । हलेसी तुवाचुङ नगरपालिका र विभिन्न संघ संस्थासँग समन्वय गरेर हलेसी कृषि मार्ट सञ्चालनमा आएको छ । स्थानीय बजार पनि छ । तर बाहिरबाट आउने तरकारीको मूल्यले अप्ठयारो बनाइरहेको छ । उनीहरूको लागतै कम हुन्छ । हाम्रो लागत धेरै । हामीले बीउमा समेत आत्मनिर्भर छैनौं । विदेशबाटै किनेर ल्याउनुपर्छ । बीउ, मलदेखि सबै–सबै किनेर ल्याएपछि हाम्रो उत्पादन महँगो पर्ने नै भयो । नाफा राखेर बिक्री गर्दा बाहिरको वस्तुसँग हामीले मूल्यमा प्रतिस्पर्धा गर्न सक्दैनौं । हलेसीको बजार सामान्यतः ठिकै छ । उत्पादनमा जोड दिँदै जाने हो भने बजार विकल्पका लागि अन्य उपाय पनि निकाल्नैपर्ने देखिन्छ ।

तरकारी बजारका आधार ?

स्थानीय तह सरकारले गरेको पहलसँग समन्वय गर्दै व्यक्तिगत बजारको क्षेत्रफल बढाउने मामलामा लागिपरेको छु । हलेसीदेखि दिक्तेलसम्मको स्टलमा पनि तरकारी उपलब्ध गराउँदै आएको छु । यसलाई विस्तार गर्दै उदयपुरको गाईघाटसम्म पुर्याउन बजार व्यवस्थापक संघ संस्थासँग समन्वय गरेर विकल्प खोजिएको छ । बजार चुनौतीपूर्ण छ । उत्पादित उत्पादनको स्तरीकरण मूल्य निर्धारणका कुरा हुन्छ । त्यसलाई दृष्टिगत गर्दै आयातीत तरकारी रोक्दै स्थानीय उत्पादनको निर्यात बढाउने योजना छँदै छ ।

किसानको हितका लागि स्थानीय सरकारले गर्नैपर्ने काम के–के होलान् ?

वास्तविक किसानको संख्या धेरै कम छ । गाउँघरमा बस्दा कृषिसम्बन्धी आएका सुविधा पाए लिऊँ, केही समयका लागि ‘ट्रायल’ गरौं भन्नेको बाहुल्य छ । तर, दिगो रूपमा कृषिलाई मूल पेसा बनाउने नगन्य छन् । त्यसले निराश बनाउने नै भयो । यस्तो हुँदा काम गर्ने किसानलाई गाह्रै छ । स्थानीय सरकारलाई पनि सजिलो छैन । कृषिमा अवसर आउँदा धेरैले आवेदन दिन्छन् । तर, साँच्चै कृषिमा लाग्ने कमै हुन्छन् । स्थानीय सरकारले सकेसम्म धेरैलाई समेट्नुपर्ने बाध्यता छ ।

अनुदान घटाउने, उत्पादन बढाउनलाई प्रोत्साहन गर्न स्थानीय सरकारको तर्फबाट नगरप्रमुख बिमला राईले विशेष प्राथमिकता दिनुभएको छ । यसले किसानको जीवनमा ठूलो महत्व राख्छ । नगरप्रमुखले कृषिमा दिनुभएको प्राथमिकताले हामी निराश हुनु पर्दैन कि ? अनुदान लिने किसानमा पनि व्यावसायिक इमानदारी आवश्यकता छ । तपाईंले लिएको अनुदानले तपाईंको मात्रै सरोकार राख्दैन्, सम्पूर्ण कृषि व्यवसायमै असर गर्छ भन्ने बुझिदिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्