शिला चेपाङ सोध्छिन्– चेपाङ गाउँमा विकास किन आउँदैन ?



चितवनको इच्छाकामना गाउँपालिका–५ मरक्यानाकी शिला चेपाङ शिक्षित छैनन् । चेपाङलाई गाउँमा विकास भएको हेर्ने तीव्र इच्छा छ । सडक, बिजुली, नजिकै विद्यालय सञ्चालनमा ल्याएर गाउँका बालबालिका पढाउन पाए हुन्थ्यो भन्ने उनको उत्कट चाहना छ । विकास टाठाबाठाले प्राप्त गर्छन् भन्ने उनको बुझाइ छ । केही समयअघि गाउँपालिकामा आयोजित अन्तक्र्रियाममा उनले भनिन्, ‘चेपाङ गाउँमा मात्रै विकास किन आउँदैन ?’

‘स्थानीय सरकारले विनियोजन गर्ने योजना र बजेटबारे हामीलाई थाहा नै हुँदैन,’ उनले भनिन्, ‘हामी कम बोल्ने र कम जानेबुझेको भएर होला ?’ स्थानीयस्तरमा पनि समयमै सहज सूचना प्राप्त गर्न नसकेको उनले गुनासो पोखिन् । शिलाजस्तै अन्य चेपाङको गुनासो उस्तै छ । “हामीलाई सडक चाहियो, सडकको सुविधा भए तरकारी उत्पादन गर्छाैं र बेच्छौँ,’ रामजी चेपाङले भने । उनले विद्यालय टाढा हुँदा बालबालिका नियमित उपस्थित हुन समस्या भएको गुनासो पोखे । कक्षा ३ सम्मका लागि बालकक्षा व्यवस्था गाउँमै गर्न सकेमात्रै बालबालिका नियमित विद्यालय जाने उनेले बताए । चेपाङ बाहुल्य क्षेत्रका हरेक विद्यालयमा यस समुदायको शिक्षक राख्नुपर्ने उनले माग गरे । ‘पहिलाभन्दा अहिले हामी धेरै बुझ्ने भइसकेका छौं,’ उनी उत्साहित देखिन्थे, ‘अझै धेरै जान्न बाँकी छ ।’

इच्छाकामना गाउँपालिका–५ का वडासदस्य निर्मला श्रेष्ठले अधिकारका लागि चेपाङ समुदाय एकजुट हुनुपर्ने बताइन् । ‘आजसम्म एकजना चेपाङ योजना चाहियो भनेर वडामा आएका छैनन् । हामीले नै प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छौं,’ उनले भनिन्, ‘तपाईंहरू लाज नमान्नुहोस् । निर्धक्क भएर आफ्ना कुरा सम्बन्धित ठाउँमा राख्नुहोस् । तपाईंका माग सम्बोधन हुन्छन् ।

‘चेपाङ समुदायको मुख्य समस्या बालविवाह हो,’ वडासदस्य श्रेष्ठले भनिन्, ‘अझै पनि १५÷१६ वर्षमै बच्चा जन्माउने गरिएको छ । २० वर्ष कम उमेरको जन्म र विवाह दर्ता नै हुँदैन ।’ ती समुदायमा हुने बालविवाह जनप्रतिनिधिका लागि चुनौती बनेको श्रेष्ठको भनाइ छ । उनले कक्षा ५ सम्म अध्ययन गर्ने चेपाङ बालबालिकाका लागि सरकारले निःशुल्क खाजा व्यवस्था गरेको जानकारी गराइन् ।

‘अझै पनि चेपाङ नागरिकको अवस्था दर्दनाक छ,’ इच्छाकामना गाउँपालिका–५ का वडाध्यक्ष मोदराज सिलवालले भने, ‘सरकार र विभिन्न संघ संस्थाले सञ्चालन गरेको अभियान बालुवामा पानि खन्याएसरह भएको छ ।’ जनचेतना कमी र गरिबीका कारण उनीहरू उठ्न नसकेको सिलवालले थपे, ‘जीवनस्तर उकास्न सुरुवात आफैंबाट गर्नुपर्छ । सरकार र संघ संस्थाले त सहयोगमात्रै गर्ने हो ।’

वडाले सञ्चालन गरेको तालिममा चेपाङ समुदायको प्रतिनिधित्व नभएको उनले बताए । ‘यो समुदाय छरिएर होइन, एकीकृत भएर आउनुपर्छ । तपाईंहरू काम गर्छु भनेर आउनुहोस्,’ उनले भने, ‘हामी बजेट दिन्छौं ।’

प्रतिक्रिया दिनुहोस्