हलेसी तुवाचुङ नगरपालिकाका ४३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ



हलेसी (खोटाङ)  । काठमाडौंबाट घर (हलेसी) फर्केका २० वर्षीया युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनका परिवार, घर फर्कंदा उनीसँगै यात्रा गर्ने व्यक्ति, उनको सम्पर्कमा रहेका छिमेकी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायत ४३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थाननिवासी युवकमा कोरोना संक्रमण पुष्टि भएपछि गत मंगलबार ४३ जनाको स्वाब संकलन गरी कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर मोरङ पठाइएको थियो ।

कोरोना संक्रमित युवकको मोरङको विराटनगरमा रहेको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा स्वास्थोपचार भइरहे पनि उनको प्रत्यक्ष तथा अप्रत्यक्ष सम्पर्कमा रहेका र अन्यको पीसीआर रिपोर्ट शुक्रबार राति नेगेटिभ आएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेश श्रेष्ठले जानकारी गराए ।

प्रमुख जिल्ला अधिकारी शालिकराम पौडेल शर्माले संक्रमितको सम्पर्कमा रहेकाको पहिचान गरेर स्वास्थ्य परीक्षण गर्न कन्ट्याक्ट ट्रेसिङ भइरहेको बताए ।

यसअघि, कोरोना संक्रमण परीक्षणका लागि हलेसी तुवाचुङ नगरपालिकाबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरी पठाइएका ३३ जनाको स्वाबमध्ये एक युवकको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्