‘संसदीय समिति शक्तिशाली सरकारको लाचार छायाँ होइन’



काठमाडौं । प्रतिनिधिसभा सांसद सुदन किरातीले दुईतिहाइको शक्तिशाली सरकारको लाचार छायाँका रूपमा मात्रै संसदीय समितिले भूमिका निर्वाह गरेको आरोप लगाएका छन् ।

संसदीय समितिअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदनसम्बन्धी छलफल गर्न बसेको बैठकमा बौल्दै किरातीले यस्तो टिप्पणी गरेका हुन् । उनले भ्रष्टाचारलगायतका विभिन्न विषयमा समितिले दिएको निर्देशन सरकारले नटेरेको आरोप लगाएका छन् ।

‘हामीले वर्ष दिनमा ४१ पटक बैठक बस्यौं । बैठकले गरेका कतिपय निर्णय कार्यान्वयन भए । कतिपय निर्णय सरकारलाई गरिएका निर्देशन किन कार्यान्वयन हुन सकेन ? प्रश्न गम्भीर छन्,’ बैठकपछि तुवाचुङ डटकमसँग प्रतिक्रिया दिँदै किरातीले भने, ‘के संसदीय समिति शक्तिशाली दुईतिहाइ सरकारको लाचार छायाँ हो ? वाइडबडीलगायतका भ्रष्टाचार सन्दर्भमा गरिएका निर्णय किन कार्यान्वयन भएन ? आजको दिनमा भ्रष्टाचार राज्यको पद्धति भइसकेको छ । तर पनि, सरकार उदासिन छ । भ्रष्टाचार गर्ने व्यक्ति विष खाएजस्तो समाप्त भएर जानुपर्नेमा भ्रष्टाचार जीवनचक्रजस्तो बन्दै गएको छ । त्यतिमात्रै होइन, भ्रष्टाचार नियमन गर्न भनेर जुन संस्थालाई हामीले संवैधानिक जिम्मा दिएका छौं, त्यही संस्था नै भ्रष्टाचारी बनेको छ । आज महालेखा परीक्षणकै सन्दर्भमा प्रश्न उठाउनुपरेको छ ।’

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गरेको निर्देशनबमोजिम नेपालको नयाँ नक्सा जारी भयो । यो राम्रो कुरा हो । तर, यतिबेला नै सीमाको सुरक्षाका निम्ति कोभिड–१९ लाई अघि सारेर नेपाली सेनालाई त्यहाँ पुर्याउन सक्नुपर्छ । ‘हामीले नेपाली सेनालाई सदुपयोग गर्न सकिरहेका छैनौं । जनताले उठाएको करबाट नेपाली सेनालाई भरनपोषण गर्छौं,’ उनको भनाइ छ, ‘त्यही नेपाली सेना फेरि जग्गा प्लटिङ गर्छ । पेट्रोलपम्प खोल्छ । त्यतिमात्रै होइन, सपिङ मल पनि चलाउँछ । त्यहाँबाट आर्जित रकम नेपाली सेनाले के गरिरहेको छ ? प्रश्न गम्भीर छ । नेपाली सेनाको आफ्नै अदालत हुने, आफ्नै जेल बनाउन कानुन बनाउन लबिइङ थालेको छ । के यो समानान्तर सरकार हो ? नेपाली सेना राज्यको अंग होइन ? त्यसकारण नेपाली सेनालाई ढिला नगरी सीमा सुरक्षार्थ लैजानुपर्छ ।’ उनले एक–एक किलोमिटरको दूरीमा अस्थायी पोस्ट बनाएर राख्ने र भविष्यमा स्थायी रूपमा भौतिक संरचना बनाएर राखी सीमा सुरक्षा र नेपाली सेनाको औचित्यका लागि त्योभन्दा अरू उत्तम विकल्प नभएको जिकिर गरे ।

‘हामीले जहिल्यै वीर गोर्खालीको इतिहासमात्रै पढ्यौं । जितेकोबाहेक हारेको इतिहास हामीले पढेनौं । सुगौली सन्धिमा हामीले हारेरै टिष्टा र काँगडा गुमायौं,’ उनले सुझाए, ‘हार्नेहरू मिहिनेती भए । हामी जितेको इतिहास पढ्ने गर्व गरेर कहिल्यै थाकेनौं । मिहिनेत गर्न सिकेनौं । दोस्रो विश्वयुद्ध हारेको जापान कहाँ पुगिसक्यो । हामी भने गलत इतिहास र पाठ्यक्रमसँगै हामीभित्रको भ्रम सच्याउन जरुरी छ ।’

सरकारले कोरोना महामारी नियन्त्रणका लागि खास कामै गर्न नसकेको उनले आरोप लगाए । ‘भारतबाट दैनिकजसो हजारौं नेपाली स्वास्थ्य परीक्षण नगरी ल्याउने तर गाउँका ऊर्जाशील जनशक्तिलाई काठमाडौंमा थुनेर राख्ने ?’ उनले दुःखेसो पोखे, ‘यतिबेला कोरोना महामारी परास्त गर्दै विकास र समृद्धिको बाटोमा बढ्न सरकारलाई आफ्नो सिर्जनशीलता र कौशल सदुपयोग गर्ने ठूलो अवसर थियो । तर, सरकारले कोरोेना नियन्त्रणका लागि ठोस कदम चाल्न सकेन । यो विषम परिस्थितिमा संसदीय समितिले सरकारलाई दिएको सल्लाह, सुझाव र निर्देशन नमान्नु सरकारका लागि दुभाग्यपूर्ण छ ।’

सांसद किराती सरकारका राम्रो कामको दह्रो समर्थन र भ्रष्टाचार तथा एमसीसीविरुद्ध आफ्नै पार्टीका नेता र सरकारको चर्को आलोचना गर्ने नेकपाका युवा नेतामा दरिन्छन् ।

प्रतिक्रिया दिनुहोस्