काँग्रेसलाई ‘पाटी’ होइन, ‘पार्टी’जस्तो बनाउन सचिवमा उम्मेदवारी



गनिल्याउँदा विद्यार्थी राजनीति थालेको १५ वर्ष पुगेछ । २२ वर्ष पुग्दा–नपुग्दै कमल गिरी नेपाल विद्यार्थी संघ क्षेत्रीय सभापतिको भूमिकामा थिए । संवत् २०६३ मा नेविसंघ क्षेत्रीय सभापति गिरी त्यसअघि नेविसंघ महेन्द्रोदय माध्यमिक विद्यालय हलेसी अध्यक्ष थिए । ०६० मा विद्यालय अध्यक्ष रहेका उनी ०६५ नेविसंघ महाधिवेशन प्रतिनिधि भए ।

१५ वर्षदेखि निरन्तर राजनीतिमा लागेका उनले आसन्न नगर अधिवेशनका लागि सचिवको उम्मेदवारी दिएका छन् । पार्टीलाई पार्टीजस्तो बनाउने उद्घोष गरेका नगर सचिवका उम्मेदवार कमल गिरीसँग तुवाचुङ डटकमले गरेको संक्षिप्त कुराकानी :

नगर सचिवमै उम्मेदवारी दिनुभयो । सचिवमै उम्मेदवारी दिनुभयो किन ?

अग्रज नेताहरूले टिम बलियो बनाउनुपर्छ भन्नुभयो । टिम बलियो बनाउन उम्मेदवार पनि मिलाउनुपर्ने देखियो । त्यतिमात्रै होइन, भरपर्दो सचिवको माग गर्दै मलाई प्रस्ताव गरिएपछि मैले सहमति जनाएँ । टिम बलियो बनाउनुपर्ने भएपछि मैले नाइँ भन्ने कुरै भएन ।

जित्ने आधार के त ?

जानी–नजानी वडावासीको सेवामा समर्पित छु । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान वडाध्यक्षमा पराजित भए पनि वडावासीको सेवा गर्न जाँगर कहिल्यै मरेन । पार्टीको संगठन विस्तारमा सकेको योगदान पुर्याएकै छु । यससम्बन्धमा वडावासी र नगरका अग्रज नेताले मूल्यांकन गर्नुभएकै होला । सचिवमा जित्ने मेरो योग्यता यत्ति हो ।

सचिवमा विजय भएपछि गर्ने प्राथमिकताका काम के–के छन् ?

काँग्रेसलाई साँच्चिकै पार्टीजस्तो बनाउन दृढसंकल्पसहित योजनाबद्ध योजना बनाएको छु । पार्टीमा विविध विकृति र विसंगति मौलाउँदै गएको छ । त्यसको अन्त्य गर्नुपर्छ । पार्टी कसैको पैतृक सम्पत्तिजस्तो भएको छ । पार्टीलाई व्यक्तिगत सम्पत्तिजस्तो बनाइनुहुँदैन । त्यसको अन्त्यका लागि मेरो ‘लेभल’बाट भूमिका खेल्नेछु ।

भोट माग्न वडा–वडा पुग्दा मतदाताले के भने त ?

गुटगत राजनीति तल्लो तहमा देखिनुहुँदैनथ्यो भनेर गुनासो सुनियो । पार्टीका शुभचिन्तकले तल्लो तहमा गुटगत राजनीति हुनु भनेको दुर्भाग्य हो भनेर चिन्ता व्यक्त गरे । तल्लो तहको गुटगत राजनीति अन्त्यका लागि भूमिका खेल्ने प्रतिबद्धता जनाएँ । मतदानका लागि पनि आह्वान पनि गरें । तपाईंहरूजत्तिका सचिवको उम्मेदवारलाई मतदान गर्न समस्या छैन भनेर मतदाताले आश्वासन दिएका छन् ।

गुटगत राजनीतिको मलजल कसले गरेका हुन् ?

एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा गुटगत राजनीति देखिएको हो । नगर सचिवमा निर्वाचित भएपछि हाम्रो टिमले काँग्रेसलाई एकढिक्का बनाउन लागिपर्नेछौं । गुटगत राजनीति अन्त्य गर्नेछौं ।

प्रतिक्रिया दिनुहोस्