लक्ष्मनियाँ ! तिम्रो लोटा खै ?



लक्ष्मनियाँ !
तिमी लक्ष्मी हौ घरकी
तिमी इज्जत हौ कुलकी
तिम्रो बाबुको, तिम्रा दाजुभाइको
सिंगै खानदानको नाक उनीहरूको अनुहारमा होइन
तिम्रै आचरणमाथि अडेको छ !
साँच्चै बुझ तिमी इज्जत हौ कुलकी
त्यसैले हरसमय जन्मदेखि मृत्युसम्म
कुलका दर्जनौं भालाहरू तिम्रा पहरा दिन्छन्
तिम्रानिम्ति फर्साको धार हो बैंश
बैंशमा टेक्नेबित्तिकै तिमीले हुनुपर्छ घाइते !

कति मज्जाले माड्छन् हत्केलामा सुर्ती
तिम्रो बाबु र बाबुकै उमेरका बुज्रुकहरू
उनीहरू हत्केलामा निर्दयतापूर्वक सुर्ती माडिरहन्छन्
तिमी लहरीको झाङ पन्छाएर उनीहरूलाई हेरिरहन्छ्यौ
सुर्तीको धूलो फाल्न जब
प्याट्प्याट् बज्छ बुजु्रकको हत्केला
अलिकति धूलो गिर्छ भुइँमा, उड्छ हावामा
सुर्तीको धूलोसँगै गिर्छ तिम्रो आधा अस्तित्व
र बिलाउँछ मधेसको तातो हावामा
तिम्रो बाबु हत्केला अघि सार्छन्
बुज्रुकहरू हत्केलाबाट सुर्ती टिप्छन्
तिम्रो जिन्दगीको फैसला सकिन्छ
सुर्ती माडेर फाँको मार्दा
तिलक र दाइजोमा तिम्रो मोलतोल पनि सकिन्छ

लक्ष्मनियाँ !
तिमी इज्जत हौ कुलकी
इज्जत कतै खेर नजाओस्
त्यसैले सुर्तीझैं तिमीलाई हत्केलामा निर्दयतापूर्वक माडिन्छ
र दा“तको चेपमा च्यापिन्छ !

लक्ष्मनियाँ !
तिम्रो लोग्नेको तिम्रो ससुराको
ससुराको सिंगै खानदानको नाम उनीहरूको अनुहारमा होइन
तिम्रै आचरणमाथि अडेको छ
तिमी इज्जत हौ कुलकी
कसैको आँखा नलागोस् इज्जतमा
तिमीले ढाक्नुपर्छ पर्दाले अनुहार
पर्दाभित्रै सुकाउनुपर्छ हिक्काको वाफले आँसुको सागर
जानुहुन्न कतै भोजभतेरमा
बोलीसँगै भाग्न सक्छ कुलको इज्जत
बोल्नुहुन्न बुज्रुकहरूको सामुन्ने पञ्चायतीमा
छातीभित्रै रेटिदिनुपर्छ मौनताको तरबारले बोलीको गला
बचाएर राख्नुपर्छ कुलको इज्जत
निस्कनुहुन्न घरको चार दिवारी काटेर
इज्जतलाई पवित्र राख्न घुमिरहनुपर्छ तुलसीको मठ लगातार !
तिमी इज्जत हौ कुलकी
तिमी इज्जतकी आमा हौ कुलकी
कुलको इज्जत राख्न पाइरहनुपर्छ बच्चाहरू
चाखोनिधो हुनुपर्छ/सफासुग्घर रहनुपर्छ
घर लिप्नुपर्छ/आँगन बढार्नुपर्छ
कुलको आयु बढाउन बस्नुपर्छ छैठमा व्रत !
तर लक्ष्मनियाँ, ए मधेसकी इज्जत !
तिम्रो लोटा खै ?
जब तिमी झिसमिसेमै टाढाफाँटको एकान्तमा
पाइखाना गएर फर्किन्छ्यौ
तिम्रो हातमा लोटा देखिन्न
दायाँ हातमा बिँडी, बायाँमा लोटा बोकेर
पाइखाना गइरहेका पुरुषहरूलाई तिमी बाटोमै भेट्छ्यौ
तिमी त इज्जत हौ कुलकी
पर्दाभित्र आफैंलाई लुकाएर
लोटा बोकेर पाइखाना जानेलाई तिमी बाटो छोडिदिन्छ्यौ
तर तिम्रो हातमा लोटा देखिन्न
लक्ष्मनियाँ !
तिम्रो पाइखाना जाने लोटा खै ?
तिमी इज्जत हौ कुलकी
तिम्रो कुलको इज्जतको पाइखाना जाने लोटा खै ?

(मधेसी महिलालाई पाइखाना जाँदा लोटा लिएर जाने अधिकार छैन । उनीहरू पाइखाना गरेर त्यत्तिकै घर आउँछन् र घरको पछाडिपट्टि फोहोर पखाल्छन् ।)

प्रतिक्रिया दिनुहोस्