शंकराचार्यले जलाएको म बौद्धग्रन्थ हुँ


म इतिहासको नदी भएको छु
म धर्मचक्र, युद्धले गाडिएको छु
हो, यो कुरा अतीतको
अजातशत्रु र विम्बसारको
युद्धको कथा
शंकराचार्यले जलाएको बौद्धग्रन्थको कथा
म पाण्डुलिपि
मानिसहरूको रगतैरगतले बिटुलिएको
त्यो खड्ग र तरबारले काटिएको
ती बालक, वृ र युवकयुवतीहरू म नै हुँ
त्यो गंगाको चित्कार
र मानिसहरूको क्रन्दन म नै हुँ ।

मस्तिष्कविनाको म घाँटी
कुनै शिलापत्रमा उल्लिखित नभएको
म हुँ नीलो रगतको कथा
आफ्नै रगतले चोपेर यो पञ्जाले
यो निरक्षर च्यामेका छाप्राहरूमा
आरक्षण नपाएका घरहरूमा
म गोधूलि भएर
म आफू काटिएको कथा लेख्नेछु
शीर्षकविना
… … … म चेतना
… … … म प्रकाश ।

 

यी शताब्दी पुराना हत्याका कुराहरू
यी गिद्ध र चिलहरूले ठुँगेका कुराहरू
म भन्छु मेरा साथी ∕ यी रगतका पानाहरूमा
म मरेका कथाहरू
यी व्युँझाउन नसकेका बिहानहरूमा
यी पुरातत्व र म्युजियमहरूका भित्ताहरूमा
म खण्डित भएर पनि ‘इतिहासमा’ जीवितै छु
यी मन्दिर र देवहरूका मूल्यमाथि लावारिस छु
म बौद्धग्रन्थ
मुर्तिपूजा र स्तुतिले ग्रस्त छु
म आदिबुद्ध
काटिएका छन् मेरा पखेटाहरू
हत्या गरिदिएका छन् मेरा आत्माहरू
खण्डित गरिदिएका छन् मेरा चेतना र अहम्हरू
म कुँजो भएको छु
म सामन्ती–संस्कारले ग्रस्त छु ।

म बौद्धधर्म र दर्शन
बोधिवृक्षबाट म अपहरण भइसकेको छु
कैयन् शासकहरूको खड्ग र तरबारले काटिएर पनि
म घाइते भएर पनि बाँचेको छु
‘सङ्घम् शरणम् गच्छामि’
‘बुद्धम् शरणम् गच्छामि’
शङ्कराचार्यको लासले थिचेको बौद्धग्रन्थ म नै हुँ
कैयन् हिंसा र युद्धको आगोमा म डढेको आत्मा हुँ
शून्यदर्शन
मध्यैशिया खोतनलिपिको तालपत्रमा खिइएर पनि म बाँचेकै छु
त्यो शिवालयहरूले थिचेको चारढुंगे म नै हुँ
मैले पोल्ने आगोको तातो राप सहेको छु
तर, म शिवको चिहानैचिहानहरूको समाधिमा बोधिवृक्ष
भएर अमूर्त छु ।

म अवलोकितेश्वरको आत्मव्यथा
आगोको राख
म दसभूमिश्वरको पीडा र यातनाको हस्ताक्षर
यो चैत्य विहारमा
यो भित्तिचित्र र मूर्तिहरूमा
अहिले पनि पसिनाको सीपमा म मूर्त छु ।
यो हिंसा, हत्या र क्रान्तिमा मरेर पनि म मानस भएको छु
वा धार्मिक सम्प्रदायको दंगामा पिसिएर पनि हिमाल भएको छु
म खण्डित चेतना र प्रकाश
म पहाड, नदीको धार भएको छु
म वैशाली गणतन्त्र
विम्बसार र अंगुलीमाला
मभित्र रक्तरञ्जित सूर्य उदाएको छ
मभित्र रक्तरञ्जित सूर्य अस्ताएको छ ।
म यौनकुण्ठित ‘आम्रपाली’
म जीर्ण शरीर, अकाल, अभाव र यौनपीडा लिएर
म ‘नगरवधु’
मभित्रको मेरो भत्काइमा कैयन् अजातशत्रुको भत्काइएको इतिहास छ
मभित्रको पीडाले
मभित्रको व्यथाले
मैले अचानोजस्तै खुकुरीको प्रत्येक चोट सहेको छु
कैयन् साम्राज्यको उत्थान र पतनको सूर्य देखेको छु ।

म दर्शन ।
म वज्रघरको शिलापत्र
म खण्डित ताम्रपत्र
नामहीन
संज्ञाहीन
शंकराचार्यले जलाएको म बौद्धग्रन्थ हुँ ।

प्रतिक्रिया दिनुहोस्