कमैया दुःखीरामलाई प्रश्न


रेडियोले कैयौं दिनसम्म
प्रसारण गरिरह्यो
प्रमुख समाचारमा
कमैया–मोचनको घोषणा ।

टीभीले कैयौं दिनसम्म
प्रदर्शन गरिरह्यो
भद्रकालीको धर्नास्थलबाट
खुसियालीमा निस्केको
कमैयाहरूको उत्साही जुलुस ।

त्यही जुलुससँगै
नांगो खुट्टा सडकमा हि“डिरहेका
दुःखीराम
तिमीसँग सोध्न मन लागिरहेछ एउटा प्रश्न
के अब तिम्रा दुःखका दुर्दिनहरू गए ?
बिहानीको सुन्दर प्रकाशसँगै
गहन रातको अन्धकार बितेजसरी
के तिम्रो कष्टमा डुबेका
भोकका कहालीलाग्दा दिनहरू बिते ?
के तिम्रा शोकसन्तप्त साँझहरू बिते ?
सुकेनासजस्तै
सधैं उत्पीडनको कालाज्वरले ग्रस्त
तिम्रो अस्वस्थ जीवनमा अब
अभाव र अकालका
अँध्यारा पहरहरू बिते ?
दुःखीराम
तिमीसँग सोध्न मन लागिरहेछ एउटा प्रश्न
यो तिम्रो मुक्ति हो
या अर्को नयाँ भ्रमको खेती ?

रत्नगर्भा फाँटहरू
के अब पसिना बगाउनेहरूका भए ?
अइज्जतजस्तै
जेलिएको शोषणको अवसान भएर
तिम्रो रगतमा
ब्रह्मलुट मच्चाउनेहरू
के अब रसातलमा गए ?
दुःखीराम
तिमीसँग सोध्न मन लागिरहेछ एउटा प्रश्न
के अब ‘खेत कसको–जोत्नेको’ भयो ?

रेडियोले कैयौं दिनसम्म
प्रसारण गरिरह्यो
प्रमुख समाचारमा
कमैया–मोचनको घोषणा ।

त्यस घोषणासँगै
उब्जिरहेछन् मेरो मनभित्र
कैयौं दिनदेखि
प्रश्नमाथि अनेकौं प्रश्न ।

तिमीजस्तै कमैया त होइनन्
तर पनि तिमीजस्तै
किन सुखी छैनन् सुखीरामहरू ?
तिमीजस्तै बँधुवा त होइनन्
तर पनि तिमीजस्तै
किन खुसी छैनन् खुसीरामहरू ?
किन बल्दैन अझै
तिनको चिसो चुल्होमा आगो ?
र, किन फेरिँदैन
तिनको आङको फाटेको लँगौटी ?

दुःखीराम
तिमीसँग सोध्न मन लागिरहेछ एउटा प्रश्न
शोषणविरुद्ध चेतनाको संघर्ष अन्त्य भयो
या बल्ल सुरु ?

 

प्रतिक्रिया दिनुहोस्