पैयुँधाराको आँसु



मोहन ट्वाल्ल परेर हेरिरहको थियो । आमा, असारी हिजो तयार पारेको भारीमा लैजान छुटेको सामान लगाउँदै थिई । मोहनलाई अनुमान त थियो कि अब कतै जानुपर्छ भनेर । तर, उसलाई कहाँ जानुपर्ने, कता लाग्नुपर्ने थाहा थिएन । उज्यालो भइसकेको थिएन तर भालेले अघि नै उज्यालोको संकेत दिइसकेको थियो । ढाकर बोक्ने र हिँड्ने इसारा असारीले छोरो मोहनलाई दिई, ‘लो यो ढाकर बोकेर हिँड् त, यहीँ उज्यालो भइसक्यो । खत्रीहरू हिँडिसके होला ।’ मोहनले ढाकर बोक्यो र ‘ऊँम ऊँम… हुँ हुँ ..’ गर्दै पश्चिमतिर हिँड्यो । असारीले पछ्याउन थाली ।

आमा–छोरा डाँडाडाउँ या असारीको माइतीघर पुग्दा घामका किरण ट्याम्केपछाडि छरिँदै थिए । घामको प्रकाश माथि रूपाकोटतिर अलि–अलि लाग्दै थियो । ‘भौजू हामी त लागिङ है आबो,’ असारी सिकुवाको खाटमा झोला राख्छे, भित्र पस्छे । भाउजूलाई नमस्कार गर्छे । हु…हु…अँ गर्दै मोहन पनि नजिक आई माइजूलाई नमस्कार गर्छ ।

सानी, नन्द र भानिजको खुट्टामा हात राख्दै बोल्छे, ‘खोई, मैले त भुनेकै हुङ, दुःख, सुख यै गाङमा बिताङ भनेर । खुस्या नै मान्दैनौ त ।’
‘आ, भौजू काँइलीले पनि आउआउ भुन्छ । दाजै खसेपछि त मन पुनि रुन्छ । छोरा पुनि लाटा । कुरा पुनि नमिल्ने । आमा–छोरी यसो दुःख सुखको कुरा गरेर भए पनि दिन बिताङनुपर्यो भुनेर सोच्या मैले त,’ असारी भावुक हुँदै बोली । उनका आँखा रसाउने तर्खरमा थिए । मेरो त कर्मै खोटी भौजू, मोहनेम्पा पुनि छिटै गयो, दाजै पुनि ….। आँसु झर्दै थिए, अलि–अलि हिक्का बढ्दै थियो ।

‘आ.. खुस्या, अब रुएर पनि उनरू आउँदैनन् । म त रुन पुनि छोडिसकेँ,’ एकपटक आफ्नो स्थितिलाई सम्हाल्दै सानी बोल्दै गई, ‘हो नि त, भान्जीहरू पनि कता–कता लागिसके । दुईजना मात्तै भयौ । लाटो भानिजसुँग कुरा पनि नमिल्ने ।’

‘भौजू, जे गर्छ यै लाटाले गर्छ । छोरी त पाहुना मात्रै हो नि । तर, बोल्ने साथी नभएरमात्र,’ मनलाई बाँध्दै, आँसु पुछ्दै असारी बोली ।

अघिदेखि मोहन आमा र दिदीलाई ट्वाँ.. परेर हरिरहेको थियो । आमाले हिँड्ने संकेत गरेपछि गुन्गुनी थाल्यो, ‘हुँ…हुँ…अबबा हिँ…हिँ ।’ उसको बोली र हातको इसारा हुन सक्थ्यो, आमालाई किन रोइरहनुपरेको । दुःख गर्ने म छुँदै छु नि ।

सानीले सगुन भनेर गाईको दूध दिई आमा–छोरालाई । दूध पिएर बाटो लागे आमा–छोरा ।

उनीहरू दिक्तेल रत्नपार्क पुग्दा घाम ट्याम्केको शिरैमा चढिसकेको थियो । बजारको पल्लोछेउ शनिवारे हटिया लाग्ने डाँडा, हाटडाँडा पुगेर बिसाए । फुच्चा धामी, सुरेन्द्र खत्री, इन्दिराको बाहरू पुगेर बिसाइरहेका थिए । फुच्चाले भन्यो, ‘आज ढिलो भयो, रेग्मी पुग्न पनि हम्मे हुने भयो ।’

जीवनको अधिकांश शनिवार त्यै हाटबजार आएर बितेको थियो असारीको । आज त्यो हाटमात्र होइन, बिहान–बेलुका पँधेरा जाने त्यो पैयुँधारा, दाउराघाँस गर्ने रूपाकोट, रानीवन, लङ्खुरी; गाईभैँसी चराउने सोतीचौर, तालखर्क, सिद्धे ओढार, राँकेचौर, हरेलोडाँडा र खेतीपाती अर्मपर्म गर्ने होराखा, होस्माटोल, ब्याँसीटोल, खत्रीगाउँ, डाँडागाउँ सबै सबैलाई छोडेर जाँदै छे असारी । दुःख, सुखका सबै सबै अतीतलाई भुल्दै लाग्दै छे, छोरी बसेको ठाउँ चक्रघट्टी । यसरी आफू बसे–खेलेको गाउँलाई हठात छोड्नुपर्ला भनेर कहिल्यै सोचेकी पनि थिइनँ । उसले मनमनै बोली, ‘आफूले सोचेकोजस्तो कहाँ हुँदोर’छ र ।’ मुटु चसक्क चस्कियो, छाती चरक्क चर्कियो । त्यो दुखाइ, त्यो पीडा चरक्क भएर आँखाबाट झर्यो, तपतप । आँसु पुछ्दै उठी । ‘लो, जाङ त । दिन ढल्की सक्यो ।’ सबै बाटो लागे ।

मेघेम्पा चौतारा, मझुवा ओह्रालो गर्दै दिखुवा खोला पुगे । गाउँतिर फर्केर सबैले पानी अँच्याए । पहिला बाइस जंघार तर्नुपर्ने साप्सुखोला त्यो बेला तुर्नु पर्दैनथ्यो । मेघेम्पाले घर्तीपहराजस्तो अक्करे भीरपहरा फोरेर सजिलो बाटो बनाइदिएको थियो । उसैले रेग्मीटारमा झोलुंगेपुल पनि बनाइदिएको थियो । आमा–छोरा सजिलैसँग चक्कलघट्टी पुगे ।

उनीहरूलाई छोरी काहिँली र ज्वाईं चनेन्द्रले स्वागत गरे । उनीहरूको खुसीको सीमा रहेन । केही दिन एकै ठाउँ बसे । आमा–छोरीले दुःख सुखको कुरो गर्दै समय बिताए । केही समयपछि मोहनले काम गर्न थाल्यो । अलि–अलि गर्दै सबैले मोहनलाई चिन्दै गए । केही समयपछि त खेती गर्न पर्यो, लाटो मोहन, घर बनाउन पर्यो, लाटो मोहन । डोको, नाम्लो, दाम्लो जे चाहियो लाटो मोहन । मोहनको मुखमात्र नआउने । तर उनीभित्रको सीप, जाँगर, परिश्रम मुख आउनेकोभन्दा फरक थिएन । शब्दमा व्यक्त गर्न नसक्नु उसको दुर्भाग्य त छँदै थियो तर उसको जीवनमा दुःखले कहिल्यै नछाड्नु पनि एउटा नियति थियो । दिक्तेल हुँदा पनि लाटा मोहनेले धेरैको घर बनाएको छ । धेरैको कामले मन जितेको छ । उसको कामको प्रशंसा नगर्ने कमै होला । आफ्नो परिवारको जीवन गुजार्न ऊ भुटान, भारतसम्म काम गर्न गएको छ । महेन्द्रनगर र प्रकाशपुर गाविसमा पनि ऊ राम्रैसँगै चिनियो । त्यहाँ मात्र होइन कहिलेकाहीँ धरान, इटहरी, विराटनगरसम्म काम गर्न पुग्थ्यो मोहन । मोहन मान्छेले चिनिएन, ऊ कामले चिनियो । कामको विम्बले चिनियो मोहन ।

एक दिन जन्तरीले लोग्नेलाई भनी, ‘अम्री र मोहनको बिहे गराइदिँदा कोस्तो हुन्छ हाउ हो बूढा ?’

जन्तरेले पनि भन्यो, ‘अम्रीले मानी भने एकदुम राम्रो हुन्छ । लाटो भएर के गर्नु, बाठोको भन्दा बढी बुद्धि छैन । काम पनि धेरै जानेको छ । अम्रीलाई त सुखले पाल्छ ।’

अम्रीको आफन्त भन्ने कोही थिएन । बाबु ऊ १२ वर्षकी हुँदा खसेको । आमा पहिल्यै मरेको । भन्ने गर्छन् मानिस, धनकुटे रोडमा कुल्ली काम गर्न बाजे सोलुदेखि आ’को । त्यो काम सकिएपछि धरान पसेको । जंगलबाट दाउरा ल्यायो, बजारमा बेच्यो, गर्दागर्दै बूढोको देहान्त भ’को । अम्रीको बाबुले पनि त्यै पेसा अपनायो ।

आमा, बाबु र स्वास्नीकोे देहान्तपछि अम्री लिएर चक्रघट्टी पस्यो अम्रीको बाबु । यताउता बनिबुतो गर्दै छोरी र उसको ज्यान पाल्यो । अल्पायुमै उसको पनि देहान्त भयो । अम्री टुहुरी भई । कहिले धनहर्केकोमा गोठाल्नी भई, कहिले भोजे तामाङकोमा नानी हेर्ने भई । हिजोआज अम्री जन्तरेका नानी हेरिदिन्छे । अम्रीको अर्को नाम अल्छे र सुताही पनि थियो । काम गर्न जाँगर नदेखाउने । यस्तीलाई को केटा माग्न आउने । त्यै भएर गाउँले लाटो मोहनसँग बिहे गरिदिए । मोहन पनि खुसी नै भयो । उसलाई त घर हेरिदिने र सुत्ने साथी चाहिएको थियो । अरू सबै उसले गर्न सक्थ्यो । बिहेपछि उसले सबैलाई भन्ने गथ्र्यो, ‘ऊ आ… इ ई.. हुँ हुँ हाँ ।’ हातको इसाराले काखमा बच्चा राखेर हल्लाउँथ्यो । काँधमा राखेको अभिनय गथ्र्यो अनि बच्चालाई फुलाउँदै, हल्लाउँदैको इशारा गथ्र्यो ।

कसैले भनिदिन्थ्यो, ‘ल…ल अम्रीले नि… त्यत्रो ठूलो बच्चा जन्माउँछे । अनि तिमी काँधमा राखेर यसरी खेलाऊ ।’ बोल्दै बच्चालाई काखमा लिएको, अँगालोमा लपेटेको इसारामा अभिनय गरेर देखाउँथ्यो ।

‘हिँ…हिँ…हिँ…’ गर्दै खिस्स हाँसिदिन्थ्यो र एकपटक थुक निल्थ्यो मोहन ।

नभन्दै अम्रीले छोरी जन्माई । दुई वर्षै नपुगी अर्की जन्माई ।

‘हा हा हा नानी सुट् है । टेरो बाबा आउँठ चिचि ल्याउँठ । अनि कुटुकुटु खानुपर्ठ । हो, हो, नानी हा, हा’ गर्दै बच्चा खेलाउँथी अम्री । मुख त्यति तड्कालो लाग्दैनथ्यो । झन्डै लठेप्रीजस्तै थिई अम्री ।

मोहनको आमाको रोग बढ्दै गयो । भनौँ स्तनवरिपरिका गाँठाहरू असहज तरिकाले बढ्दै गयो । हुन त इटहरी, विराटनगरका डाक्टरलाई त देखाएकै हो । नदुखेको र अप्ठ्यारो नभएकाले नआत्तिनु भन्ने सुझाव दिएका थिए, डाक्टरहरूले । मनको डरले सबैलाई खाइरहेको थियो ।
एक दिन असारीले छोरीलाई भनी, ‘काइँली, म एकपटक काठमान्डू जानुपर्ला । तेरो बहिनीहरू पुनि भेट्छु । तेरो दिदी पनि उतै गा’को र’छ । भयो भने डाक्टर हेराउनुपर्ला ।’

‘त्यो गार्मेन्टमा काम गर्नेहरूको कति पैसा होला र, तिम्रो उपचार गरिदेला ? ठूलो कान्छी बच्चा हेर्दै ठीक हुन्छ होला । सानो कान्छी त कहिल्यै काम नगरेको, दिदी भेनाको खाँदै बस्दै होला । त्यो एउटा ज्वाईंले कमाकोले दुःखले जिउ पाल्दो हो ।’ काहिँलीले बहिनीहरूको विवशता बताई । ‘तै जाउ न त । दिदीलाई देखाउ यो गिर्खा । के भुन्छन् तै गर्नु ।’

असारीका दुई छोरी काठमाडौंमा बस्थे । गार्मेन्टमा काम गर्थे । भाउजू, भदैनीहरू पनि उही बस्थे । भदै हङकङ बस्थ्यो । यी सबैको सहारा पाउने आशाले असारी काठमाडौं गई । कहिले छोरीसँग कहिले भाउजूसँग बसी । डाक्टरलाई हेर्न लगाए । शल्यक्रिया गर्नुपर्ने भयो । हङकङबाट भदैले खर्च पठाइदियो । शल्यक्रिया सफल भयो । तर, पूर्ण रूपमा गाँठाहरू फाल्न मिलेन । यद्यपि डाक्टरले केही रोकथाम भएको कुरो बताए । क्यान्सर नभइहालेकोले त्यति खतरनाक नभएको र चिन्ता नगर्न भनी डाक्टरले आश्वासन दिए ।

भाउजू, भदै–भदैनी, छोरी–ज्वाईं र आफन्तले काठमाडौंतिरै बस्ने सल्लाह दिँदादिँदै पनि छोरो र नातिनातिनीहरूको मायाले असारी महेन्द्रनगरतिरै लाग्छे । उनी मृत्यलाई चुनौती दिन चाहन्छिन् । उनलाई जीवनको भन्दा बढी माया लाटो छोरोको छ, छोरोका छोराछोरीमा छ । उसले जीवनसँग उसका छोरो र नातिनातिनीहरूको माया साट्न चाहन्छे । हुन पनि हो धेरै आमा आफ्नो छोरा–छोरीलाई सबथोक मान्छन् । त्यसैले त धेरैले आमालाई पूजा गर्छन्, देवी मान्छन् ।

केही महिनाको शून्यतापछि मोहनमा पनि एउटा ऊर्जा मिल्छ आमाको आगमनले । उसलाई आमा कता गएकी हुन् थाहा थिएन तर उसलाई उनी उपचारमा गएकी भन्नेमा निश्चिन्त थियो । तर, ऊ आमाविनाको शून्यता आफ्नो विवशतामा खोज्छ । कहाँ गएकी, कहिले आउँछे, उसलाई दर्शाउन कसैले सक्दैन र पनि ऊ घटनालाई पर्खिबस्छ । प्रत्यक्ष या मूर्त घटनाले मात्र उसले सबै थाहा पाउँछ । लाटो र बाठोको अन्तर पनि यसैमा होला ।

जस्ताको तस्तै भएर असारीले छोरोलाई काममा सघाई । दुई/दुई वर्षको अन्तरको तीन नातिनी र एक नातिकी धनी असारी छोरोलाई हरदम सहारा दिइरही । बुहारी त बच्चा पाउने यन्त्रमात्रै थिई, आइमाईको स्वरूपमा एउटा जीवित मूर्ति मात्र थिई । कमाएर ल्याएको र पकाएर दिएको खानभन्दा अरू केही गर्दिनथी अम्री । गर्नै खोज्दैनथी ।

जसरी पनि मानिस मृत्युको फन्दामा परिहाल्छ, चाहे उसले डाक्टर, झाँक्री नै लगाओस् या अहिलेको विशेष प्रविधि नै प्रयोग गरोस् । घटना, दुर्घटना, बिमार त एउटा कारणमात्रै हो । मृत्यु त मर्नैपर्छ हामीले । असारी छोरो, नातिनी र नातिको औधी माया गर्दागर्दै यो लोक छोडेर गई । सबैलाई शून्य पारेर गई ।

मोहन करिब–करिब बेसहाराजस्तो भयो, असारीको मृत्युपश्चात् । काहिँली बहिनीले धेरै सहयोग गरी । आमाको सत्गद गर्ने काममा त दुु्वैलाई बराबर भाग पर्यो । अन्य प्रकारको दाजुको सहयोगमा पनि काहिँलीले भरमग्दुर प्रयास गरी । अब मोहनलाई पुनः गाउँ फर्काउन बाध्यता भयो । आमाबाबुको एउटै छोरो भएकाले उसले पुर्खाको विरासत थाम्नुपथ्र्यो । त्यसैले आफन्तको सल्लाहअनुसार काहिँलीले मोहनलाई गाउँ पठाई ।

मोहनकी माइजू, सानी काठामाडौंबाट गाउँ आई । गाउँले सबैलाई भेला गरिन् । गाउँ समाजसामु सानीले मोहन र असारीको दुःख, पीडा, समस्या र भोगाइको कथा सुनाई । भनी, ‘गाउँले दाजुभाइ, दिदीबहिनी, बाउमाइतीहरू हो, मेरी नुन्द र भानिज केही समय गाउँ छोडेर बाहिर गए । उनीहरूले त्यसरी गाउँ छोडेर जानु हुन्थेन । गए, दुःख पाए । नुन्दले फर्केर आउन सकेन । उसको लेखान्तै त्यति होला । तर भानिज, छोराछोरी लिएर आएको छ । सबैले माया गरिदिनुपरो । दाजुभाइ भनेको दुःख पर्दा त हो । उनीहरूले आफ्नो शरीरबाहेक केही ल्याएका छैनन् । माया मात्र होइन सघाइदिनुपरो । मैले पनि मेरो भानिजलाई सग्दो सघाङ्छु । अनि रमेश नातिले पहिला कति थैली दिएको हो त्यो लिएर जग्गा फिर्ता गरिदिनुपरो । त्यो जग्गामा मैले एउटा कटेरा बनाइदिने विचार गरेको छु ।’
सबैले एकै साथमा बोले, ‘राम्रो कुरो हो । हामी सघाउँछुङ ।’

रमेश बोल्यो, ‘म धेरै खुसी छु । मैले दिएको त बाह्र हजारमात्र हो । त्यो त केही होइन । तर, मोहन हाम्रो गाउँले हो । ऊ यहीँ बस्नुपर्छ । मोहनका लागि हामी सबैले सकेको सघाउँछुङ । कि कसो हो दाजुभाइ हो ?’

सबैल भने, ‘हो ….. त्यो कुरो ठीक हो … । हामीसँग सबथोक त छैन तर भएको दिन्छुङ ।’

रमेशले बाह्र हजार लियो । भोलिपल्टदेखि सबैले मोहनका लागि कटेरा बनाउन थाले । सानीले आवश्यक सामान किन्ने पैसा दिइन् । पैसा लिएर कोही सामान किन्न दिक्तेलतिर, कोही चित्रा ल्याउन ब्याँसीटोलतिर लागे । कोही बाँस, खुकुरी, कुटो, कोदालो खोज्न गाउँतिर लागे । कोही घडेरी खन्न लागे । केही दिनमै त्यो गैह्राघरमा एउटा कटेरा बन्यो । मोहनको परिवार बस्न थाल्यो त्यो कटेरामा ।

सानीले वर्षभरि खर्च गर्न भनेर २० हजार रुपैयाँ दिई । गाउँले कसैले दुई पाथी कोदो, कसैले एक पाथी मकै, कसैले चार माना चामल सहयोग गरे । एक/दुईजनाले त पैसा पनि दिए । त्यो टोल, डाँडाटोल गरिब छ । धनका गरिब ती गाउँले मनका धनी छन् । उनीहरूको मन पैयुँधाराजस्तै स्वच्छ, निर्मल, कञ्चन र सफा छ । निस्वार्थ भाव छ, कति पनि लोभ र क्रोध छैन । उनीहरू आफैँलाई खान पुग्दैन तर उनीहरूसँग भएको अरूलाई दिन्छन् । यसैमा उनीहरूको मानवता झल्किन्छ । सबैको सहयोगले एउटा घरमा हुने सबै वस्तु व्यवस्था भयो । मोहनको घर–व्यवहार राम्रैसँग चल्न थाल्यो ।

मोहनले काम नपाउने त कुरै भएन । कसैले घर बनाउन, कसैले मतान बनाउन, कसैले गोठ बनाउन बोलाउन थाले । ऊ एउटा व्यक्तिले एउटा कामबाहेक अरू गर्नै सक्दैनथ्यो । सकिन्जेल गर्न थाल्यो । मोहनको जीवन राम्रैसँग चल्दै गयो । उसको सन्तान पनि वृद्धि हुँदै गयो । तीनबाट चार, चारबाट पाँच भयो । ज्ञान र शिक्षा कमीले सन्तान वृद्धिले एउटा समस्या थपिँदै गएको थियो ।

मोहनकी स्वास्नी घरमा काम त गर्दिनथी । मदसेवन गर्दै समय बिताउँथी । उत्तिकै अनैतिक व्यवहारतिर पनि लाग्न थाली । घर धेरै नबस्ने । बाहिरतिर बढी बस्ने । धेरैजसो जाँड–रक्सी खाएर दिन बिताउने गर्थी । घरको उसलाई वास्तै हुन छाड्यो ।

ऊ केटाहरूलाई सिधै भन्थी, ‘तिम्लो डाजु अब त बूढो भो, सक्डैन । तिम्रो आँट छ भने मलाई लैजाऊ ।’
धेरैले सम्झाउँदा, बुझाउँदा पनि ऊ मान्न छाडिसकेकी थिई ।

त्यो देखेर होला एक दिन मोहनले पनि भन्यो, ‘इँ…इँ, हुँ … अबब हिं हिं । हुँ हुँ अबब ।’ हातको संकेतमा हातको औँलाले लिंग बनाएर यौनभोग गरेको देखायो । बच्चाको उचाइ देखाउँदै थुक्यो एकपटक । उसको भनाइ थियो, ‘यत्रायत्रा बच्चा छन् तँ भने केटाहरूसँग लाग्छ्स् , थुइक्क ।’

एक दिन मोहनकी स्वास्नी, पाँच छोराछोरी छाडेर त्यहीँ माथिको गंगेसँग पोइला गई । मोहन कामबाट आउँदा छोराछोरी हिकहिक गर्दै थिए । उनीहरू रोएर थामिँदै थिए । बाबु आ’को देखेर उनीहरूको रोकिँदै गएको रुवाइ अलि–अलि बढ्दै गयो । एकछिनदेखि उनीहरू कोकोहोलो मच्याएर रुन थाले । घरै, टोलै, गाउँ नै थर्काउँदै रोए । मोहनले सबैलाई हेरिरह्यो । छोरो रुँदै मोहनछेउ आयो । एकछिनपछि छोरीहरू पनि एक–एक गर्दै आए । उभिरहेको बाबुलाई हातमा तान्दै रोए । मोहन अझ हेरिरह्यो मानौँ केटाकेटीहरू उसको वरिपरि खेलिरहेका छन् । एकछिनपछि मोहन पिँढीमा थचक्क बस्यो र आँखाबाट आँसु बरर झाडौं । अलि–अलि गर्दै ऊ पनि रुन थाल्यो । सानो बच्चाको स्वरमा एउटा ठूलो घोर्ले स्वर पनि थपियो । रुवाइको आयातन बढेर माथि–माथि, पर–परसम्म पुग्यो । उनीहरूको रुवाइ वल्लोगाउँ, पल्लोगाउँसम्म पुग्यो । सबैले सुने । उनीहरूको रुवाइ रूपाकोटले सुन्यो, ट्याम्के, स्याल्मे देवीथानले सुन्यो । सोल्मा, दिक्तेल, नेर्पा, दोर्पा, मझुवाका आफन्तले सुने । उनीहरूको रुवाइ धरान, काठमाडौं, भारत, हङकङ, बेलायतका आफन्तले सुने । अरूहरूले आफन्तबाट सुने । नसुनेकाले यो कथाबाट सुने । तर, त्यही माथिल्लो घरका गंगे र अम्रीले सुनेनन् । उनीहरूले सुनेर पनि सुनेनन् । त्यो गैह्राघरबाट बगेको आँसु पैँयुधारा हुँदै बग्यो । त्यो छेपाखोला, मेवाखोला हुँदै साप्सुखोलामा बग्यो । त्यो साप्सुखोलामा धेरै–धेरै वेदना र पीडाको आँसु यसरी नै सधैं बगिरहन्छ, बगिरहन्छ, अविरल बगिरहन्छ ।

दिक्तेल–५ डाँडागाउँ
५ फेब्रुअरी २०१३

प्रतिक्रिया दिनुहोस्