‘पत्रकार कमजोर भए मुलुक असफल’


हलेसी (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले पत्रकार कमजोर भए मुलुक असफल बन्ने जिकिर गरेका छन् । तुवाचुङ साप्ताहिक दोस्रो वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख राईले यस्तो जिकिर गरेका हुन् ।

‘पूर्ववक्ताले पत्रकारलाई स्थायी प्रतिपक्षको संज्ञा दिनुभयो । हामीले स्वीकारेका छौं,’ उनले जोड दिए, ‘प्रतिपक्ष कमजोर भयो भने सत्ता पक्ष स्वेच्छाचारी हुन्छ । स्वेच्छाचारी बढ्दै गए सुशासनको सट्टा कुशासन मौलाउँछ । तसर्थ, प्रतिपक्षी सशक्त बन्नैपर्छ ।’

मुलुक बिग्रनु, द्वन्द्व निम्तिनु, भ्रष्टाचार बढ्नुमा सञ्चारकर्मीको समेत हात रहेको उनले आरोप लगाए । प्रतिपक्ष सशक्त नभएपछि सत्ता पक्षले होलोखुकुलो चाहनु अस्वाभाविक होइन । उनले अनुरोध गरे, ‘तसर्थ, प्रतिपक्ष सधैं सशक्त बन्नुपर्छ ।’

जनप्रतिनिधिको अभीष्ट समाज रूपान्तरण र सुशासन नै हो । बाटो फरक भए पनि पत्रकारको उद्देश्य पनि उही हो । समस्याबीच चुनौतीको पहाड हिँडेर आफ्नो भूमिका निर्वाह गर्दै आएको पत्रकारको उनले खुलेर प्रशंसा गरेका थिए ।

खोटाङका पत्रकार सिर्जनशील र रचनात्मक बन्नुपर्ने उनको सुझाव छ । ‘उठे बसेको, उद्घाटन र समापनका मात्रै समाचार लेखेर पुग्दैन । जिल्लाका श्रीवृद्धिका लागि जनप्रतिनिधि, राजनीतिक दलसम्बद्ध नेतालगायत समग्र खोटाङ बनाउन उठेका र जुटेकालाई साझा मञ्च तयार पार्न पत्रकारले भूमिका खेल्नैपर्छ,’ उनको भनाइ छ, ‘खोटाङ बनाउने दिगो अवधारणा चाहिएको छ । त्यो काममा पत्रकार अग्रसर बन्नैपर्छ ।’

जिल्लाका बेथिति कम गर्दै लैजान सबै लाग्नुपर्ने उनको ठम्याइ छ । ‘हामी सुशासन, भ्रष्टाचार र पारदर्शिताको कुरा गर्छौं,’ उनको बुझाइ छ, ‘तर, कहाँ नियन्त्रण गर्यौं भने हामीले खोजेको सभ्य समाज निर्माण हुन्छ भनेर पत्ता लगाउन जरुरी छ ।’ स्थानीय तह सरकारलाई सहयोग गर्ने पत्रकारको गुनगान गाउँदै उनले दुःखेसो पोखे, ‘हाम्रा पनि आफ्नै बाध्यता छन् । सीमारेखा छन् । स्रोत सीमित छन् । असीमित माग छन् । सीमित स्रोत–साधन र जनशक्ति परिचालन गरेर असीमित माग–मुद्दा सम्बोधन गर्नुपर्ने बाध्यता छन् ।’

आफूहरूले गरेको कमीकमजोरी सधैं औंल्याइदिन उनले आग्रह गरे । ‘हामीले बनाउने नीति, दृष्टिकोण, कार्यसम्पादनले जनताको भविष्य निर्धारण गर्छ,’ उनले थपे, ‘त्यसैले हामीले गरेका सकारात्मक र नकारात्मक कामको टिप्पणी गरिरहन अनुरोध गर्छु ।’

सञ्चारमाध्यम सूचनाका स्रोत हुन् । ‘प्रत्येक आर्थिक वर्ष सुरु हुनअघि प्रत्येक सञ्चारमाध्यमले विज्ञापन प्रकाशनका लागि सम्झौता गर्नुपर्छ । सम्झौता नगर्दा विज्ञापन छापेबापत नगरले भुक्तानी दिन नमिल्दोरहेछ,’ उनले व्यंग्य गरे, ‘सामान्य त्रुटि हुँदा गलत काम गर्नेको विपक्षमा समाचार लेख्ने सञ्चारमाध्यमले विज्ञापन सम्झौता नगरी भुक्तानी माग्नेको समाचार लेखिने त्यत्तिकै सम्भावना हुन्छ । विज्ञापन प्रकाशन गरेबापतको भुक्तानी लिन प्रक्रिया पुर्याउनुपर्छ । तपाईं हामीले प्रक्रिया पुर्याएनौ भने हाम्रो गरिमा अग्लिँदैन ।’

पत्रकारको समस्या जनप्रतिनिधिलाई थाहा भएको उनको स्वीकारोक्ति छ । ‘तर, तपाईंको समस्या संस्थालाई थाहा हुनुपर्छ,’ उनको जोड थियो, ‘तपाईंहरूको समस्या संस्थागत बनाउनुपर्छ । त्यसैले प्रक्रियामा बाँधिनुपर्दोरहेछ ।’

सञ्चारमाध्यमको संख्याभन्दा गुणस्तर बढाउनुपर्छ । ‘स्थानीय सञ्चारमाध्यम र सञ्चारकर्मीलाई सहयोग गर्नुपर्छ भन्ने हामीलाई थाहा छ,’ उनले मुख खोले, ‘ऊ हाम्रोसारथि हो । तर, सञ्चारमाध्यम स्थापना गर्नसाथ सबै किसिमको सहयोग गर्न सकिँदैन ।’

प्रतिक्रिया दिनुहोस्