बाको राजनीति



आमा चुपचाप
दाजु र दिदीहरू चुपचाप
अनि म पनि मौन
यस्तै चुपचाप र मौनताको परिधिभित्र
चलिरहन्छ बाको राजनीति ।

आमा भात तरकारी पकाउँछिन्
तर किन बाले नै तरकारी बाँड्नुपर्ने
दाजु दाउरा चिर्छन्
तर किन बाले नै अगेनामा ठोस्नुपर्ने
दिदीहरू घाँस काट्छ्न, पानी ल्याउँछन्
तर किन बाले नै बस्तुलाई खुसी बनाउनुपर्ने
किन बाले नै प्यास मेटाइदिनुपर्ने
सम्बन्धको काँटामा जोखेर
किन सधैं तल पार्नुहुन्छ बा हामीलाई
उमेरको जन्जिरले बाँधेर
सधैं किन चुपचाप सहनुपर्ने हामीले
विवशताले जकडिएर किन मौन बस्नुपर्ने हामीले
थाहा छैन किन गर्नुहुन्छ बा यस्तो राजनीति ?
जहाँ, हाम्रो राष्ट्र हुँदैन
समृद्धिको चिन्ता हुँदैन ।

आफ्नै गाउँमा कसैलाई अन्याय पर्दा
आफ्नै बाटो काटेर चोरले दाउ मार्दा
कसैलाई पेटका लागि भरैको चिन्ता हुँदा
कोही नारायणहिटी, कोही बालुवाटार, फेरि पेरिसडाँडा
यसरी घरिको घरी बसाइँ सार्दा
रंगेहात भ्रष्टाचारी समाएको समाचार सुन्दा पनि
कान तात्दैन बाको

बरु व्यर्थैमा बा हाम्रो मुख थुनिदिनुहुन्छ
र भन्नुहुन्छ– यो मेरो राजनीति हो
यहाँ, हुन्छ त केवल पारिवारिक अनुशासन
जहाँ, गैरकानुनी बोलीभन्दा
इन्साफको मौनता नै विजयी हुन्छ ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम साल्तेम्मा
साझा बस्ती, खोटाङ ।

प्रतिक्रिया दिनुहोस्