
सडक किनारै पर्न गयो गाउँ
जहाँ बाटोभन्दा पहिला
पाइताला बनेका थिए नक्सा,
त्यही पाइताला
अहिलेसम्म सरकारको नजरमा छैन ।
हामी त हुर्कियौं
दल्छिन ढुंगासँग रगडिँदै,
चकचके घाममा खुट्टाले लेख्दै
आफ्नै सिस्नुपानीको संविधान ।
हाम्रा गोडाहरूले
कहिल्यै कटेज, होटल टेकेनन्,
तर तिनकै तस्बिर भरेर
नीति बने, बजेट बन्या
तर हामी झुलो बनिरह्यौं,
खुट्टा तन्काउन नसक्ने झुलो ।
सरकार
तिमीलाई थाहा छैन सायद
कसरी दौरा–सुरुवाल च्यातिन्छ
घर्षणले हैन
तिमीले टाँसेको विभेदले ।
हामी झुलो बन्छौं
फाटेका निधार र बिर्खे सपना बोकेर,
तर कहिल्यै बिर्सेका छैनौं
यो सडक हाम्रै पसिना हो
हाम्रो नुन चोखे इतिहास ।



