९० प्रतिशत सल्लेनी वनले हलेसी तुवाचुङ नगरपालिका सुख्खा क्षेत्र



वन वातावरणले स्थानविशेषलाई हरियाली बनाउन सघाउँछ । हलेसी तुवाचुङ नगरपालिकाका ९० प्रतिशत वन सल्लाले ढाकेको छ । बाँकी १० प्रतिशत चौडापाते रूखबिरुवा छन् । सखुवा, चिलाउने, चिउरी, चाँपलगायत रूख चौडापातेअन्तर्गत पर्छन् ।

९० प्रतिशत वन सल्लेनी भएकाले हलेसी तुवाचुङ नगरपालिका सुख्खाग्रस्त भएको हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले तुवाचुङ डटकमलाई बताए । ‘नगरका अधिकांश जंगल सल्लेनी छन् । सल्लाको जरा टाढा–टाढासम्म फैलँदैन । आफूलाई चाहिने पानी सल्लाले जोहो गरे पनि सञ्चित गर्दैन,’ नगरप्रमुख राईको भनाइ छ, ‘सल्लाको जराले जमिन समातेर पनि राख्दैन । उसलाई थोरै पानी भए पुग्छ । सल्लालाई हामी कुकाठ भन्छौं । यसलाई झ्याल–ढोकाबाहेक अन्य काठका रूपमा प्रयोग गर्न सकिँदैन । घाँस, स्याउला र मलका रूपमा पनि प्रयोगमा आउँदैन ।’

‘चौडापाते रूखबिरुवा भएका वन हरियाली देखिन्छन् । उसले आफूलाई चाहिनेबाहेक पानी सञ्चित गरेको हुन्छ । चौडापाते रूखको फेदमा अन्य बिरुवा उम्रेका हुन्छन्,’ उनले थपे, ‘तर सल्लेनी वनमा चैत, वैशाखतिर दुई फिट उचाइबराबरको सल्लाका पात झरेर भुइँ ढाकेको हुन्छ । सल्लाका पात झरेका ठाउँमा अन्य बिरुवा उम्रन सक्दैनन् । एक झरो पानी पर्दासमेत पानी जमिनसम्म पुग्दैन ।’

ताराखसे

चौडापाते रूखलाई घाँस, दाउरा, काठ र स्याउलाका रूपमा प्रयोग गर्न सकिन्छ । त्यसले दिगो आम्दानी दिन सक्छ । ‘तराई–मधेसका सामुदायिक वनबाट सालिन्दा करोडौंको आम्दानी हुन्छ,’ उनले दुःखेसो पोखे, ‘तर, हाम्रा सामुदायिक वनमा बाख्रा चराउनसमेत मुस्किल छ ।’

नगर क्षेत्रका सल्लेनी वनलाई नमुना बनाउने सपना विपनामा परिणत गर्न नगरप्रमुख इवन राईले प्रयास थालिसकेका छन् । वैज्ञानिक वन व्यवस्थापन विधिमार्फत थालिएको प्रयास ताराखसेबाट थालिने भएको हो । ताराखसेमा ताराखसे–नक्कले आहाल–धारापानी–कोटगैरा सामुदायिक वन दुर्छिम र भोक्टेनी सामुदायिक वन मंगलटार पर्छन् ।

के हो वैज्ञानिक वन व्यवस्थापन विधि ?

वैज्ञानिक वन व्यवस्थापन विधि भनेको सम्बन्धित वनको क्षेत्रफल र त्यहाँका बोटबिरुवाको लगत संकलन गर्नु हो । लगत संकलनपछि कार्ययोजना बनाइन्छ । त्यसपछि सम्बन्धित वनमा रहेको बोटबिरुवा विस्थापित गरेर लगाउन चाहेको नयाँ बोटबिरुवा रोप्नु हो । यस कामका लागि क्याबिनेटबाट स्वीकृति लिनुपर्छ । वैज्ञानिक वन व्यवस्थापन विधि माध्यममार्फत ताराखसेबाट काम थाल्ने प्रयास सुरु भइसकेको हो ।

प्रतिक्रिया दिनुहोस्