नेकपाको पहिलो पुस्ताका नेतालाई सल्लाहकारमा रहन पौडेलको आग्रह



हलेसी (खोटाङ) । राष्ट्रिय युवा संघ सहसंयोजक रमेश पौडेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पहिलो पुस्ताका नेताले दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने जिकिर गरेका छन् ।

राष्ट्रिय युवा संघ हलेसी तुवाचुङ नगर कमिटीले हलेसीमा गरेको अन्तक्र्रियालाई सम्बोधन गर्दै सहसंयोजक पौडेलले केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनालले पार्टीको नेतृत्व र प्रधानमन्त्रीको भूमिकासमेत निर्वाह गरिसकेकाले पार्टीबाट बिदा लिन सुझाएका हुन् ।

‘उहाँहरूलाई लखेट्न खोजेको होइन,’ उनको भनाइ थियो, ‘ओली, दाहाल, नेपाल, खनाललगायत पहिलो पुस्ताका नेताले सल्लाहकारको भूमिकामा रहेर पार्टीलाई सघाउनुपर्छ ।’ उनले नामै तोकेर उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र अर्थमन्त्री विष्णु पौडेलबाहेक पहिलो पुस्ताका नेतालाई पार्टी सल्लाहकारका भूमिकामा रहन आग्रह गरे ।

‘केन्द्रमात्रै नभएर प्रदेश, जिल्ला र स्थानीय तहमा समेत यस्तो प्रावधान कार्यान्वयन गर्नुपर्छ,’ उनले थपे, ‘अनि मात्रै राजनीतिमा युवा पुस्ताको अपग्रेड हुन्छ । योग्यता र क्षमताले अब्बल रहे पनि युवा पुस्ता राजनीतिमा अवसरका हिसाबले पछि परेका छन् ।’

राष्ट्रिय गणना २०६८ अनुसार नेपालमा ४०.३ प्रतिशत युवा छन् । तर, राजनीतिमा अवसरका हिसाबले युवा पछि परेका छन् । युवा पुस्ता निष्क्रिय भयो भने नेकपा बूढाखाडाका मात्रै पार्टी हुने उनको ठम्याइ छ ।

‘नेकपालाई हाम्रो पुस्ताको पार्टी बनाउनुपर्छ । तसर्थ, युवा पुस्ताले आफूलाई तयार पार्नुपर्यो,’ उनले जोड दिए, ‘हामीले विचार, दृष्टिकोण निर्माण गर्नुपर्यो । युवाले दृष्टिकोण सही निर्माण गर्नुपर्छ । हाम्रा पार्टीले उठाएका मान्यता सही छन् भन्ने विश्वास हुनुपर्छ । त्यो विश्वास र दृष्टिकोणको जगमा आफूलाई तयार पार्नुपर्छ । विचारलाई व्यवहारमा कार्यान्वयन गर्यौं भने सिद्धान्त बन्छ ।’

अन्तक्र्रियालाई सम्बोधन गर्नेक्रममा राष्ट्रिय राजनीति, युवा आन्दोलन र समसायिक राजनीतिक विषयमा बोलेका उनले नेपालको राष्ट्रिय राजनीति बुझ्नअघि नेपाली समाज बुझ्न आग्रह गरेका थिए । ‘दलाल पुँजीवादले नेपाली समाजलाई अँगालो हालेको छ । प्रत्येक चीजको सौन्दर्य र विशेषता हुन्छ । यसको विशेषता भनेको फाइदाका लागि गरिन्छ,’ उनले प्रस्ट्याए, ‘फाइदाका लागि मात्रै राजनीति गर्नेहरू राजनीतिबाट मैले कसरी फाइदा गर्न सक्छु भन्ने ध्याउन्नमा हुन्छन् । विचार, नीति, सिद्धान्त, कार्यक्रम, दृष्टिकोणलाई पृथक राखेर आफूलाई फाइदा कसरी हुन्छ भनेर उसले दलाली गर्छ ।’

उद्योगी तथा व्यवसायीले फाइदा गर्न लगानी गर्छ । लगानी गरेपछि उत्पादन हुन्छ । त्यसलाई बेचेर फाइदा कमाउँछ । त्यो स्वाभाविक प्रक्रिया हो । ‘तर, दलाल पुँजीवादले त्यसो गर्दैन । उसले दलाली गरेर पैसा कमाउँछ । पैसाले पैसामात्रै कमाउँछ । त्यसरी देश धनी हुँदैन । सुखी नेपाली, समृद्ध नेपाल पनि बन्दैन ।’

दलाल पुँजीवादले नेपाली समाजलाई मात्रै होइन, नेपाली राजनीतिमा समेत वास गरेको छ । त्यसमा नेकपा पनि अछुतो छैन । ‘हाम्रोतिर लगाइएको बूढो सुन्तलाका बोटमा ऐंजेरु पलायो भने फल्दैन । सुन्तलामा फल लगाउन ऐंजेरु फाल्नुपर्छ,’ पार्टीमा मौलाएको पुँजीवादलाई ऐंजेरुको उदाहरण दिँदै उनले घोषणा गरे, ‘त्यसरी नै दलाल पुँजीवादलाई तह लगाउनुपर्छ । त्यसो गर्न सकिएन भने क्रान्तिकारी पार्टीमा समस्या आइपर्छ । क्रान्तिकारी पार्टीलाई नै दलाल पुँजीपतिवादले समस्यामा पार्छ । पार्टीमा देखिएको समस्या पनि यही हो ।’

राष्ट्रिय युवा संघ सहसंयोजक रमेश पौडेलले कम्युनिस्ट पार्टी भएकैले हलेसी तुवाचुङ नगरपालिकामा नेकपासम्बद्ध साथीहरूले दुःख पाइरहेकोमा दुःख व्यक्त गरेका थिए । ‘स्थानीय सरकार नेकपाको छैन,’ उनले आरोप लगाए, ‘सरकार अर्को पार्टीको हुँदा हामीले जे भन्यौं, त्यसको उल्टो काम गर्छ । अधिकांश सहायक वडासचिवले घाम चिह्नमा मतदान गर्ने भएकाले जागिरबाट बर्खास्त गरियो । स्थानीय सरकारको काम गराइ हेर्दा काँग्रेस पार्टी आफैंमा व्यवस्था हो भन्ने प्रमाणित गर्न थालिएको छ । यो खेदजनक छ ।’

अन्तक्र्रियामा नकेपा जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य राजुविक्रम चाम्लिङ, नेकपा हलेसी तुवाचुङ नगर कमिटी अध्यक्ष सुरेन्द्रकुमार राई, तत्कालीन युवा संघ अञ्चल कमिटी सचिव सुवास राई र राष्ट्रिय युवा संघसम्बद्धको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्